'साउजी ऊ त्यो आकाशे रंगको माला देखाउनुस् त।'
'यो?'
'होइन के, त्यो त निलो नै भयो नि आकाशे रंग के, गुलाबी रंगको मालाको छेवैमा'
'ए... यो लिनुस्'
योभन्दा त गुलाबी नै ठीक हो कि!' स्कुल पढ्दा लुगादेखि जुत्तासम्म सरलालाई गुलाबी नै मन पर्थ्यो।
'साउजी त्यो गुलाबी नै ठीक हो जस्तो लाग्यो। त्यही नै प्याक गरिदिनुहोस्।'
आज दिनभर किनमेलमा व्यस्त भइयो। उफ्! अरूको लागि सपिङ गरिदिने काम साह्रै गाह्रो एक जोर कुर्ता सुरूवाल र एउटा मालाको किन्न दिनभरनै व्यस्त।'
'भोलि सासू अमेरिका आउन लाग्नु भाछ एक जोर कुर्ता र माला पठाइदिनु है तिमीले जति मेरो च्वाइस् अरूले बुझ्दैननन् त्यसैले तिमीलाई नै अनुरोध गरेँ' आज एकाबिहानै सरलाले पठाएको म्यासेज हेरेपछि म किनमेलमा दौडिएँ। अफिस नै बिदा लिएर।
असन, इन्द्रचोक, न्युरोड कुनै गल्ली बाँकी रहेन होला। साँझको पाँच बजिसक्दा बल्ल सपिङ सकियो। साँझ नपर्दै घर पुग्नु थियो बानेश्वर। त्योभन्दा अगाडि पुग्नु थियो बालकोट सरलाको घर। सरलाको सामान ह्यान्ड ओभर गर्न उनकी सासूलाई।
आरएनसी अगाडि पार्क गरिराखेको स्कुटर सोझाएँ बालकोटतर्फ। 'सामान राम्रो मान्छिन् होला कि नाइँ सरलाले' यस्तै सोच्दै कतिबेला सरलाको घर पुगेर ढोकाको बेल थिचेछु। उनकी सासूले ढोका खोलेपछि बल्ल थाहा पाएँ। ए म त बालकोट आइपुगेछु।
'ओहो! आमा सुटकेश त प्याक भैसकेछ त मैले सरलालाई पठाएको गिफ्ट त जान्छ नि!'
'अ नानी भोलि बिहानै चार बजेको फ्लाइट छ। त्यसैले राति नै जानुपर्छ। पिर नगर्नुस् तपाईंले पठाएको गिफ्ट म आफैंले लगाएर भए पनि लगिदिन्छु। छुटाउदिनँ ढुक्क हुनुस्।' आमाले मुस्कुराउँदै भन्नुभयो।
कोठाभरि हाँसो गुन्जियो।
'के गर्नु नानी सुत्केरी हुन लागेकी बुहारी। म विदेश आउँदिनँ भन्न नमिल्ने। पाँच वर्षअगाडि पनि नातिनीको पालामा पनि छ महिना बसेर सुत्केरीको स्याहार गरेँ। चार पटक पकाउ। खानदेउ। सरसफाइ गर। बुहारी र नातिनीलाई तेल घस। बाबै साह्रै गाह्रो।
दिनदिनै जस्तो कुराकानी हुन्छ त्यसैले खासै नियास्रो लागेको पनि छैन। फेरि यही आउने दसैंमा सपरिवार नेपाल आउनै भनेकै छन् के गर्नु यस्तो बेलामा म विदेश जान्नँ भन्न नमिल्ने। पाँच वर्ष अगाडि नातिनीको पालामा म स्वस्थ थिएँ त्यही पनि कहिले नेपाल फर्कनु भाको थियो नातिनीको पास्नी सकेर बुहारीलाई बलियो पारेर बल्ल म नेपाल आएँ।
यसपालि त उमेर पनि साठी नाघ्यो। सुगर, प्रेसर, थाइराइड दश थरीका रोग। अझ पोहोर साल पाठेघर फालेको मेरो आधा छ ज्यान त्यै पनि जानै पर्यो। औषधिका भरमा जति सक्छु त्यति गर्नु पर्ला के गर्नु!'
अघिसम्म उज्यालो उहाँको अनुहार एकाएक अँध्यारो भो। मानौं उहाँ छोरा बुहारीकहाँ विदेश होइन यातना गृहमा जाँदै हुनुहुन्छ र उहाँलाई जबरजस्ती लतारिँदै छ।
उहाँको कुरा सकिँदासम्म मेरो अगाडि चियामा पनि तर लागिसकेको थियो एक कप चिया एक सिपमै सिनित्त पारेर उहाँसँग छुट्टिएँ।
घर आइपुग्दा झमक्क साँझ पर्यो। आफ्नो नियमित कामधन्धा सकेर यसो सुस्ताएको मात्र थिएँ। म्यासेन्जरमा म्यासेज आएको घन्टी बज्यो हतार हतार हेरेँ।
'मैले सोचेकोभन्दा पनि राम्रो किनिछिस् यार। फुर्सद छ कि नाइँ बोल्न मिल्छ?'
पसलेले सामान प्याक गर्नुभन्दा अगाडि मैले नै सामानको फोटो खिचेर उसलाई पठाएको कुरा बिर्सेको रैछु।
मैले नै। कल गरेँ।
'उपहार राम्रो मानेकोमा धन्यवाद।' सरलाले फोन उठाउन नपाउँदै उसलाई धन्यवाद दिएँ।
'उता जा धन्यवाद त मैले पो भन्नु पर्ने हो यति राम्रो सामानको लागि'
'म टाढै छु के नेपालमा तैंले उता जा भन्नै पर्दैन।'
'तेरो हँसाउने बानी अझै गाको छैन।' सरलाले हाँस्दै भनी।
'एनि वे सरला के छ तेरो हालखबर?'
'के हुनि नि विजोग छ यार। यस्तो बेलामा सासूलाई नआउनुस् भन्न नमिल्ने। आखिर आठ महिनापछि दसैंमा हामी नेपाल आउँदै छौं। किन विदेश आउनु परेको होला। दिनदिनै फोन गररे कहिले हो डेलिभरी डेट भनेर सोधेको सोधै होसै नभाकी जस्ती बुढी! परार नानीको पाला पनि कम्ती तनाव देको हो, बाफ रे! जबरजस्ती चारपटक चिल्लो भात कर गरेर खान पठाको छ।दिनमा दुईपटक आमा र बच्चालाई तेलमा चोपेको छ। छ महिनासम्म राम्रोसँग सुत्केरीले आराम गर्नुपर्छ भनेर कहीँ बाहिर निस्कन दिएको पनि हैन। सुत्केरीले यो खान हुन्छ। त्यो खान हुन्न। यो गर्न हुन्छ। त्यो गर्न हुन्न। कति नै डाक्टर पढेँ जस्तो, स्कुलै नगाएकी बुढीले। कहिले नेपाल फर्केलिन् जस्तो हुनि। हाम्रो बच्चा जसरी हुर्काउँछौं, हुर्काउँछौं। अति के। कसम मलाई त डेलिभरी हुने डेटले भन्दा पनि सासू आउने डेटले तनाव देको छ।'
मैले सरलाको कुरा एकोहोरो सुनिरहेँ। उसका कुराले म स्तब्ध भएँ।
सोचेँ एक हप्ता अगाडि मात्र सरलाको सासू र सरलासँग मेरो कुरा भएको भए उनीहरू दुवै सासू बुहारीबीच भएको कम्युनिकेसन ग्याप मैले मेटिदिने थिएँ र तनाव हट्ने थियो तर अब धेरै ढिलो भैसकेको थियो।
मैले यतिमात्र भने ‘सरला! रात धेरै छिप्पिसक्यो फोन राखौं है।'