'अब, त अति भो! रातभर मोबाइलमा च्याटिङ। खालि फेसबुक, मेसेन्जर!' आमा बुबा पनि आजित हुनुहुन्थ्यो।
तर म भन्थेँ- अनलाइनबाट पैसा कमाउँदै छु।
म न कहिल्यै घरमा दुई चार हजार ल्याएर दिन्थेँ न बुबाआमाले भनेको काम नै सघाउँथेँ। म त अपरिपक्व प्रेम पो थिएँ।
एकदिन मेरो फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो। मैले तीन चार महिनासम्म एसेप्ट गरिनँ रिक्वेस्ट क्यान्सिल होला कि भनेर तर त्यस्तो भएन। एकदिन एसेप्ट गरेँ र हाई भनी पठाएँ। उताबाट पनि राम्रो नै जवाफ पाएँ। बिस्तारै दैनिक जस्तो राति कुराकानी हुन थाल्यो। उनी हेर्दा ठिकै देखिन्थिन्। तर पनि अलिअलि ठट्यौली पारामा कुरा गर्थेँ म। पट्याउने सोचमा डुबेको हुन्थेँ। यसरी नै करिब तीन चार महिना बित्यो। न मैले भेट्न भनेँ न कुनै गिफ्ट नै दिन सकेँ। तर दिऊँ पनि म कसरी, मसँग न पैसा थियो न म रोजगार थिएँ।
तीन महिनासम्म सम्बन्ध राम्रो नै चल्यो। त्यसपछि खटपट सुरु भयो। उनी सानो सानो कुरामा रिसाउँथिन्। म जहिल्यै सरी भन्थेँ। रातदिन उनको तस्बिर हेर्थेँ। यो माया होइन आकर्षण हो भन्थिन् उनी। उनको बोलीमा छुट्टै मिठास थियो, लाग्थ्यो कि स्वर्गमा छु म। तर एक दिन ऐना भुइँमा झरेझैँ चकनाचुर भयो ती सपनाहरू। उनको मनमा म बस्न चाहन्थेँ, बसे जस्तो पनि लाग्थ्यो तर यो मेरो कल्पना साबित भयो। त्यो भ्रम साबित भयो। उनको चाहना सायद अर्कै केही थियो होला। सायद उनी अर्कै केटा चाहन्थिन् वा अरू केही। उनलाई यो प्रश्न गर्ने हिम्मत मैले राखिनँ किनकि मलाई त सम्बन्ध बचाउनु थियो। मैले जिन्दगी भरको विषयमा सोचेको थिएँ, समय बिताउने होइन।
यत्तिकैमा 'एउटा कम्पनी छ मैले काम गर्ने, काम गर्छौ तिमी?' भनेर उनले भनिन्। मैले पनि हुन्छ भनिहालेँ, नकार्न सकिनँ। काठमाडौँ पसेँ। यसरी नै सँगै काम गरेको दुई तीन महिना हुन लाग्यो, खासै कुरा भएन।
सुरुसुरुमा प्राय: मलाई दिनहरू हुस्सु लागेको, अँध्यारो र नरमाइलो लाग्थ्यो। हरेक दिन त्यही अल्छीलाग्दो काम, त्यही समाज, त्यही छिमेकी, त्यही साथीभाइ। म त सबको कुरा सुन्दा सुन्दा आजित भइसकेको थिएँ। खै किन किन, मलाई सानामा विद्यालय पढ्दा नि चैन थिएन। शिक्षकको जहिलेकै कुटाइले लाग्थ्यो कि विद्यालय नजान पाए पनि हुन्थ्यो। तर अहिले अफिस जान र काम गर्न साह्रै जाँगर लाग्छ किनकि त्यहाँ मेरी उनी छिन्।
फेसबुकमा विगतमा जेजस्तो भए पनि उनी मलाई सुरुदेखि नै जहिले अफिस पुग्दा गूड मर्निङ भन्थिन्। मैले सुरुमा कहिले भन्नु पर्दैन थियो। मेरो मनमा अनेक कुरा खेल्थे। साँच्चिकै आहा! आवाज पनि कस्तो मिठो! कति राम्री! अझ त्यो हरहर बास्ना आउने पर्फ्यूम मेरो मनलाई त के दिल दिमाग सबलाई जित्थ्यो।
उनले हरेक दिन 'खाना खानुभयो? कस्तो छ तपाईंलाई? सञ्चै हुनुहुन्छ? यु मेक माई डे। आजको दिन कस्तो रहला है?' जस्ता भन्थिन्। फेसबुकमा भन्दा धेरै राम्री। म भने 'अँ ठिक छ नि, तपाईंको के छ? दिन राम्रो नै होला नि' भन्थेँ र आफ्नो काम गर्थेँ। तर अझ उनीलाई धेरै कुरा गर्न, मलाई जान्न मन थियो होला तर म मेरो पारिवारिक समस्यामा अल्झिएको थिएँ। डर लाग्थ्यो गरिब मान्छे म कसरी कुरा गर्नु धेरै।
कामका अलावा म बिहान बेलुका पठाओ गर्थेँ। घरको आर्थिक अवस्था कमजोर अनि जागिरे अनुभव पनि खासै नबटुलेको। यस्तै यस्तै गुण त मसँग थियो। उनी भने साँच्चै देवी जस्ती थिइन्। उनको घर काठमाडौँमा थियो। प्रायः खाजा उनी घरबाट ल्याउँथिन्। खाजा खाने बेला सबलाई बाँडेर खाऊँ न है भन्थिन्। मलाई भने विशेष रूपले भने जस्तो लाग्थ्यो। मैले खाजा नखाए पनि खाइसकेँ भन्थेँ तर मेरो स्वर, स्वभावले उनलाई थाहा हुन्थ्यो कि म भोको छु।
उनी बस् चुप बस्थिन् र मलाई खाजा बढी हुन्छ तपाईं खानुस् भन्थिन्। मलाई हेपेको जस्तो लाग्थ्यो। अफिसमा त्यतिका स्टाफ हुँदाहुँदै मलाई मात्र किन! उनको अर्को तर्क सुन्थेँ र बाँकी खाजा खाइदिन्थेँ। उनी भन्थिन् कि 'यो लक्की ड्र हो, जसले मेरो खाजा धेरै खान्छ एक महिनासम्म उसलाई म नयाँ आइफोन गिफ्ट दिन्छु। मैले हतार हतार खाजा खान जान्थेँ, सबै उनको नजिक झुम्मिन्थेँ। म भने अलि टाढा नै बस्थेँ किनकि हाम्रो बारे सब स्टाफलाई थाहा नहोस् भनेर। उनको खाजा भने मैले पनि अलिअलि बुत्याउँथेँ।
एक दुई दिन गर्दै दिनहरू बित्दै थियो। अब आइफोन सप्राइज कसले पाउला त भन्नेमा होडबाजी थियो। मलाई पनि पूर्ण विश्वास थियो कि यो गिफ्ट मेरा लागि नै हो। यसरी नै महिना बित्यो, कम्पनीका सम्पूर्ण कर्मचारी राखी बोर्ड मिटिङ बस्ने भयो। आज कम्पनीमा नयाँ कर्मचारी आउने लक्षण देखिएको थियो। उद्घोषकले कार्यक्रम सञ्चालन गर्यो। एक घण्टापछि कम्पनीको नयाँ कार्यकारी प्रमुख तोकिने वाला थियो। को हुन त नयाँ सिइओ? हामी सब जना जान्न उत्सुक थियौँ किनकि करिब तीन सय मिलियन डलर बराबरको कम्पनी जो चलाउने वाला थियो।
यसैबीच एक आवाज आयो। 'वेलकम टु आवर ओनर' भन्दै बोसलाई बोलाएर उद्घोषकले बिदा लियो। बोसले करिब दुई मिनेट बोल्नुभयो तर ती कुराहरू सबै कर्मचारीको लागि साधारण थिएनन्। किनकि त्यहाँ एक व्यक्ति हाम्रो सामुन्ने भएको, सँगै काम गरेको साथी, तर आज कम्पनीको मालिक बन्दै थिइन्। हो, उनी मेरी प्रेयसी नै थिइन्। सारा नाम थियो उनको। जब बोसले उनको नाम लिए म अक्क न बक्क भएँ। यति धनी केटी कसरी यस्तो साधारण जीवन यापन गर्न सक्छिन्? कसरी यति साधारण काम गर्न सक्छिन्? म चकित परेँ।
उनको आँखामा भने छुट्टै चमक थियो। सबैले उनलाई बधाई दिए। मैले पनि बधाई छ मिस भनेँ। धन्यवाद भन्दै उनी स्टेज तिर लागिन्। मेरा सपना, कल्पना जे भन्नु सब टुट्दै थिए। मलाई के भन्ने के गर्ने भयो। अलिअलि लाज भए जस्तो, अलि अलि हीनताबोध भएजस्तो खसखस खसखस भई नै रह्यो। साँच्चै जीवनमा यस्तो कसरी हुनसक्छ?
यत्तिकैमा उनी स्टेज चढिन् र आफ्ना अभिव्यक्ति प्रकट गरिन्। सर्वप्रथम धन्यवादसहित सबेलाई अभिवादन गरिन्। मसिनो स्वरमा आफू सानो पोस्टमा काम गर्दा मज्जा आएको र स्टाफहरू इमानदार, मेहनती र मिलनसार भएको कुरा गरिन्। उनले आफ्नो बाचा पनि पूरा गर्ने निर्णय सुनाइन्। मलाई कता-कता छुट्टै अनुभूति हुन थाल्यो, उनीप्रति अझ माया बढ्दै थियो।
यसै बीच एउटा आवाज सुनेँ- 'द लक्की विनर ईज मिस्टर रोमन।'
मेरो मुटुको हावा फुस्कियो। मसँगै काम गर्ने साथी आज आइफोनको भागिदार भयो। त्यो पनि मेरो प्रिय मान्छेसँग म निराश हुँदै कोठा फर्किएँ। मलाई खासै कसैले ध्यान दिएनन्। रुम नजिक पार्कमा आई धेरै बेर रोएँ। पछि आफ्नो त औकात नै छैन भनी चित्त बुझाएँ। यसरी भोलिपल्ट अफिस दुखी हुँदै जाँदै गर्दा एउटा खबर सुनेँ कि कम्पनीका १०० कामदारलाई प्रमोसन गरियो। म पनि खुसी हुँदै गएँ। कम्पनीको सबै जनाको बढुवा भएको थियो तर मेरो नाम लिस्टमा नै थिएन।
म अफिस जाँदा सबैले मलाई हेरेर हाँसे, गिज्याए, मजाक उडाए। कस्तो अभागी मान्छे यो भनेर गिराए। सबले मेरो पार्टी यति गते, तिम्रो कहिले सोध्दै थिए। एकाएक सिइओ मेरो अगाडि आइन् र भनिन्- 'तिमी मसँग मेरो क्याबिनमा आऊ।'
मलाई निकाल्न लागेको अथवा के गल्ती गरेछु कि मेरो प्रमोसन पनि भएन भन्ने लाग्यो। म निन्याउरो मुख लगाउँदै क्याबिनभित्र पसेँ। उनले 'दिपक के छ भनिन्?' मैले ठिक छु भनेर सटिक उत्तर दिएँ। उनले एउटा खाममा चिठी राख्दै भनिन्- 'गेट आउट फ्रम हेयर, यु आर फायर।'
म यो शब्द सुन्ने बित्तिकै खाम हातमा लिई रुमतिर लागेँ। जागिर खोज्न लागेको दुःख, जागिरमा टिक्न गरेको दुःख सम्झिएँ। परिवारको हालत सम्झिएँ। रात पूरा रोएर बित्यो। बिहान उठेँ, नयाँ काम खोज्न जानुपर्यो भनेर रुम बाहिर निस्किएँ। यसो सोचेँ, उनको सिग्नेचर चाहिँ कस्तो होला? फेरि भित्र पसेँ। खाम मैले डस्टबिनभित्र फालिसकेको थिएँ। त्यसमाथि पानी र फोहोर पनि थियो। तर उनको सिग्नेचर कस्तो होला भन्ने कौतूहलताले मलाई आजित बनायो।
यसो खाम खोलेर हेरेको त 'द बेस्ट इम्प्लोइ अफ द मन्थ' अवार्ड मलाई दिइएको रहेछ। साथमा बाह्र लाखको चेक पनि रहेछ। म खुसीले गद्गद् हुँदै अफिस लागेँ। अफिसमा सबै फूल र माला लिएर मेरो पर्खाइमा रहेछन्। सब जना बधाई सर भन्दै मसँग हात मिलाउन थाले।
यसैबीच गार्डले आएर मलाई सलाम ठोक्दै जय नेपाल साप भन्यो। यो त सिनियर मेनेजिङ डाइरेक्टरलाई भनिने वाक्य थियो जुन आज मलाई भनिएको थियो। म हर्षित भएँ कि कम्पनीको सम्पूर्ण गतिविधि मैले हेर्ने भएँ। उनले पनि मलाई बधाई दिइन् र भनिन्- 'बधाई छ टिम मेट। यु मेक माई डे।'