जाँदाखेरि
पिएले नमस्कार गर्यो
‘दर्शन गर्न आएँ’ भन्ने
कुरुवाहरू जुरुक्क उठे
सबैले नमस्कार गरे
हात जोड्दै
नजिक नजिक निहुरिँदै
‘हजुर हजुर’ भन्दै
नमस्कार गरे
ड्राइभरले नमस्कार गरेर
ढोका खोल्यो
गेट खोलेर ठाडो भई
पालेले नमस्कार गर्यो
मन्त्रालयमा
गेटमै पस्ने बेलामा
सिपाहीले नमस्कार गर्यो
खरदार सुब्बादेखि लिएर
सचिव राज्यमन्त्रीसम्मले
मेरो बखान गर्दै
चाप्लुसी घस्दै
नमस्कार गरे
धेरैबेरदेखि कुरिरहेका
ठेकेदारहरूले नमस्कार गरे
ब्रिफकेश बोकेर आएका
व्यापारीहरूले नमस्कार गरे
जागिर खोज्न आउनेले
सरकारी सिटमा पढ्न
विदेश जान खोज्नेले
पुलिसमा भर्नेले
आर्मीमा भर्नेले
सरूवा बढुवा खोज्नेले
सबैले सबैले नमस्कार गरे
म प्रफुल्ल भएँ
हातै नजोडी
मुन्टो तल माथि गर्दै
नमस्कार फर्काउँदै गएँ
जब फर्किन थालेँ
नमस्कार गर्नेहरू
एक एक गर्दै
हराउँदै गए
आँखाबाटै ओझेल हुँदै गए
हरेक मुन्टो बटारेर
मदेखि पर पर हुनथाले
त्यति नै खेर
म झल्याँस्स बिउँझिएँ
रेडियोले खबर भन्दै थियो
‘आजैको मितिदेखि मन्त्री विकासको
मन्त्री पद चट’
'हजुर चिया' कान्छो थियो
आज त उसले पनि गरेन
नमस्कार!