खाडीमा सुकेका खबुज खाएर
मनमनै तिता यथार्थ अमिलो बनाएर
कहिले लेबर कोर्ट त
कहिले हाइ कोर्ट धाएर
क्याम्पबाट लेबर एट्याचीको
पत्र बोकी व्यतीत जीवन
वास्तवमा विवश छन्
मजरामा मेहनत गर्नेहरू
गात्र ओढी भेडा र ऊँट चराउनेहरू
मुदारको रिसाएको मुहार
कपिलले गर्ने अन्यायपूर्ण व्यवहार
यसैमा जोडिएका छन्
श्रमिकका वेदनाका चित्कार
गुहार! गुहार!! गुहार!!!
शासक विप्रेषणमा विकास देख्छ
जनशक्तिलाई सस्तोमा खाडीमा बेच्छ
अनि गर्छ सुनौलो घोषणा
संविधानमा रोजगारीको ग्यारेन्टी अनि
समाजवाद उन्मुख सुखी र समृद्ध नेपाल
उता रेमिटेन्सको चक्करमा
घाममा रन्किरहेछन् देशका मेरुदण्ड
काममा लम्किरहेछन् ताबुक बोकी कहरमा
जसले मरुभूमिमा हरिया जङ्गल बनाए
बालुवामा गगनचुम्बी महल ठड्याए
उसलाई आज न भोक न प्यास
न शोक न सुर्ताको प्रवाह छ
छन् आशामा खुसी हुने
हो उद्देश्य बनाउने खुसी परिवार
गुहार! गुहार!! गुहार!!!
जसले घर बिर्से, सहर बिर्से, रहर बिर्से
सिर्फ एउटा परिवार र देशका लागि
तर देशले उसैलाई चटक्कै बिर्सियो
र शासकले लगाइदियो विप्रेषणको भारी
झुन्ड्याइदियो अदक्षको ट्याग
अझै ऊ मरुभूमिमा गधा जोतिरहेछ
मुदारलाई सलाम ठोकिरहेछ
पगरीमा ऋण बोकिरहेछ
मनमनै आफैँसँग झोक्किइरहेछ
हे शासक...
अब त बुझिदेऊ न श्रमिकको मर्म
गरिदेऊ न थोरै न्याय अनि धर्म
अब... हुने हार दैव नटार
गुहार! गुहार!! गुहार!!!