पेप्सिकोला मनोहरा पुल नजिकै उत्तर जाने गल्लीको पहिलो पूर्व जाने मोड पसेपछिका दायाँपट्टि केही गगनचुम्बी झुपडीहरू छन्। त्यहीँ मनोहरा किनारमा रामबहादुर दाइको टिनको पर्खाल अनि टिनकै छानो भएको शानदार महल छ। सुन्दा हल्का अजीव लाग्छ, गगनचुम्बी झुपडी अनि टिनको महल!
सारा जगबाट सपनाको सहर उपनाम पाएको काठमाडौँलाई 'बिराना मानिस अनि किराना पसलको सहर' भनी मनमनै मैले न्वारन गरिदिएँ। गल्ली-गल्लीमा बिराना मानिस अनि मोड मोडमा किराना पसल कति आए कति गए गनी अनि भनी साध्य छैन।
म गएको केही दिन मात्र भएको थियो। पहिलो पटकको काठमाडौँ बसाइँ, औँलाले गन्न सक्ने २/४ आफन्तबाहेक संसारै बिरानो। शान्त अनि स्थिर गाउँबाट ह्वातै कोलाहल अनि चलायमान सहरमा पसेको अनुभूति हुँदै थियो। पलपलमा मलाई मेरो घर, परिवार अनि गाउँको यादले निराश बनाउँदै थियो।
यस्तो लाग्दथ्यो सारा खरायाहरूको दौडबीच म एउटा कछुवा अलमलिएको छु। काठमाडौँको चलायमान प्रवृत्ति मेरा लागि 'आकाशको फल आँखा तरी मर' झैँ साबित भयो।
म नुन र खुन दुवैबाट पूर्वी मन्छे। हतार गर्ने सायद मेरो हावापानीमै रहेनछ। आफ्नो स्वार्थमा मात्र दौडन सायद मेरो परिवारले सिकाएन छ। आफ्नो मात्र खुसी खोज्न सायद मेरो गाउँले सिकाएन छ।
मन बेचैन थियो। म स्थिर भए पनि मन चलायमान थियो। पटक पटक मेरो अनुमतिबिनै मेरै गाउँ अनि गल्लीमा मेरै आफ्ना मानिससँग भलाकुसारी गर्न पुगिहाल्थ्यो। मेरो शरीरलाई काठमाडौँकै मेरो कोठामा स्थिर राखी मलाई पटक पटक गाउँ लगी गिज्याइरहन्थ्यो। मान्छे बन्न सुरिएर काठमाडौँ पसेको मलाई दिनदिनै चिडियाखानाको पशु साबित गर्दै थियो। कहिले यो सारा छोडी शब्दबाट मात्र होइन व्यवहारले पनि आफ्नो गाउँ पुगूँ भन्ने भाव जगाइरहन्थ्यो। यी सारा खरायाहरूबीच तँ कछुवा भनी गिज्याइरहन्थ्यो। मन बेचैन बनाउँथ्यो।
म बस्ने कोठाको पूर्वपट्टिको झ्याल खोली घाम ताप्दा आँखामा आउने पहिलो दृश्य रामबहादुर दाइको महल, उहाँकी श्रीमती, छोरो अनि उहाँको महल सजाउने एउटा फोहोर बोक्ने ठेला। सुरुका १/२ दिन केबल हेर्दै र छोड्दै बित्यो। तर जति जति म काठमाडौँमा अमिल्दो रूपमा घुलिँदै गएँ त्यति त्यति रामबहादुर दाइको परिवारसँग मिल्दै गएँ। कहिले बिहान त कहिले दिउँसो क्लास सकेर आएपछि मेरै झ्यालबाट राम बहादुर दाइको दैनिकी नियाल्न भ्याउँथेँ म।
देख्नमा टिनले बारेको झुपडीमा महल बन्ने भौतिक कुरा केही थिएन। तर भौतिक पूर्वाधारले सुसम्पन्न महलभन्दा धेरै उज्यालो लाग्दथ्यो रामबहादुर दाइको त्यो झुपडी। अनावश्यक सहरी चहलपहल अनि कोलाहलबाट पिरोलिएको मलाई मन सँगसँगै खुसी अनि जीवन बुझाउने र चिनाउने गुरु बन्दै गयो उहाँको महल। हजारौँ पैसा बोकी लाखौँको ज्ञान किन्न काठमाडौँ पसेको म बिना कुनै रकम खर्चेर करोडौँको ज्ञान आर्जन गर्न थालेँ, रामबहादुर दाइको महलबाट।
गगनचुम्बी महलहरूले अटाउन नसकेको सुन्दरता रामबहादुर दाइको महलमा भरपुर पाइन्थ्यो। ती ठूला घरका मानिसले नपाएको आराम उहाँको परिवारले प्रचुरतामा पाइरहन्थ्यो।
घर भएर पनि घर हुन नसकेका महलहरूलाई झुपडी भए पनि घर बनेर रामबहादुर दाइको महलले गिज्याइरहन्थ्यो। न त हतार थियो न त बिलासी दौड। शान्त, सुन्दर अनि स्थिर सहरबीचमा मेरै गाउँ भएजस्तै आफ्नो लाग्थ्यो रामबहादुर दाइको त्यो महल।
बिहान खाना खाई ठेला लिई निस्क्यो। सहरका घरघरका फोहोर बोकी हिँडेर त्यसलाई डम्पिङसम्म लगी आफ्नो रोजी थापी घर फर्कियो। पाकेको सामल खाई घुप्लुक्क सुत्यो। भोलि अनि फेरि भोलि यही दैनिकी दोहोरायो।
सामान्य थियो जीवन चक्र त, असामान्य थियो जीवन भोगाइ। अवहेलित देखिन्थ्यो जीवन तर अति सम्माननीय थियो जीवन जिउने शैली। चार पाङ्ग्रे र दुई पाङ्ग्रे साधनका बीचमा छुट्टै दौड भर्दथ्यो रामबहादुर दाइको तीन पाङ्ग्रे ठेला। एसीमा बसेर पेट फुलाउनेले किन्न नसकेको खुसी घाममा दौडी परिवारको पेट भर्दै किन्दै थियो त्यो तीन पाङ्ग्रे ठेलाले। एकाबिहानै पेट फाल्न कुद्नेहरूभन्दा पेट पाल्न कुद्ने रामबहादुर दाइ बढी स्वस्थ देखिन्थे। राति आठ बजे अफिस सकी शानदार कारमा घर आउने करोडपतिभन्दा ६ नबज्दै ठेला थन्क्याएर श्रीमतीसँग भान्सामा जुट्ने रोडपति रामबहादुर दाइ बढी खुसी देखिन्थे। ११/१२ बजेसम्म बत्ती ननिभ्ने सहरमा ९ नबज्दै मिठो निद्रा लिन्थे रामबहादुर दाइ अनि परिवार। कति खुसी अनि माया देखिन्थ्यो। कति मिठास अनि सुगन्ध झल्किन्थ्यो।
जीवन केबल खुसी त रहेछ। ४ तल्लाको छायामा ४ टिनले बेरिएरै आनन्दले बित्ने रहेछ। जे छ त्यसमै रमाउन सके झुपडीमै महल अटाउने रहेछ। जे छ त्यसमै दौडिन सके सबै थोक किन्न सकिने रहेछ। हतार हतारका बीचमा पनि स्थिर भएरै जीवन चल्ने रहेछ। विलासिताभन्दा आवश्यकता धेरै महत्त्वपूर्ण रहेछ। आफूसँग जे जति छ त्यसमै आफ्नासँग रमाउँदा झुपडी पनि घर बन्ने रहेछ। छोराछोरीलाई बिलासी सुविधाभन्दा असल संस्कृति सुम्पिनु महत्त्वपूर्ण रहेछ। सबै अनजान भए पनि आफू र आफ्नोपनलाई आत्मसात् गर्नु आवश्यक रहेछ। अरूको डाहा र ईर्ष्या नगरी आफ्नो कर्म गरे फल अवश्य पाइने रहेछ। मनमा जति नै पीडा भए पनि सुखका गीत गाइने रहेछ। गगनचुम्बी झुपडीबीच टिनकै सही, शानदार महल बन्ने रहेछ। हतारमा घमन्ड गर्ने खरायाका बिच स्थिर कछुवा बनी दौड जित्न सकिने रहेछ।
दुई वर्ष बितिसकेछ रामबहादुर दाइको त्यो दैनिकी छोडी गाउँ आएको। जे जति देखेँ अनि सिकेँ, त्यो ज्ञान अमूल्य छ। जसरी काठमाडौँ हुँदा गाउँले पलपल झकझकाउँथ्यो अचेल त्यसरी नै रामबहादुर दाइको यादले झकझकाउँछ। उहाँको दैनिकीले बोलाउँछ। आहा! हजारौँको झिलिमिलीले सजिएका झुपडीका बिच आज केबल ५ वटा मैनबत्तीले कति सुन्दर बनाएको होला रामबहादुर दाइको महल।
छिट्टै जानु फेरि रामबहादुर दाइको दैनिकी नियाल्न, फेरि जीवनलाई बुझी जीवन बोध गर्न।