छिप्पिन आटेको साँझमा आमा आउँछिन्
मेलापात र पँधेरोबाट
बस्छिन् चुल्होमा
ममताको सुकुल फैलाएर!
एकतमासको आवाजमा झ्याउँकिरी
कराउँदै थिए
भित्र ममताको पकवान पाक्दै छ
पेटको भोकले आमाको थकित शरीर
देखेता पनि जूनभन्दा स्वच्छ मुस्कानले
हारिदिन्छन् थकाइका रापहरू!
कालो रातलाई एकछिन भए पनि
पन्छाउन खोज्दैछन्
आँगनीको छेउमा एक लहर जुनकिरीहरू
माथि जुनेली किरण तल जुनकिरीको
चमकले निराश लाग्दो झ्याउँकिरीको
आवाजलाई परास्त पार्दैछन्।
कठिन जीवन यात्रा
संघर्षपूर्ण बाल्यकाल पनि
कति सजिलै पार लगाउन तयार छन्
हजुरआमाका लय र आमाको
ममताका भावहरू उर्लिएर।
पहाडको त्यो शिखर माथि उदाउने तरखर गर्दैछ
जून
हाम्रो अँधेरो पिँढीलाई टुकी जत्तिकै सहारा दिँदैछन्
जुनकिरी, कति निर्मल अनि निस्वार्थ!
भित्र दाउरा र टुकीको सहाराले
चलमल गर्दैछिन् आमा त
बाहिर मिठो लय भर्दै जून र जुनकिरीको
हितैषी बन्दै हुनहुन्छ प्रिय हजुरआमा।
सायद संघर्षका पहाडहरूलाई पार लगाउन
यसै गरी आउनेछन् सुखका छायाहरू
बेलाबखत जुनकिरीझैं सानो तर ऊर्जावान्
किरण बनेर
कालो दुःखद् अनि दुःखका अग्लो शिखरलाई
पार लगाउन त्यो भविष्य प्रद शिक्षा पो थियो कि।