धान बारीमा मुसाहरू देखिए
आश्चर्य लागेन
भित्राउन तयार पारिएका
केही अन्नहरू खाए
सोचेँ, मुसा न हो कति नै खाला र?
अर्को साल फेरि
मुसाका लस्करहरू देखिए
यो पटक धानसँगै
केही गहुँका बोट नै काटिदिए
फेरि पनि लाग्यो
मुसाहरू भोकाएका छन्।
बिस्तारै बिस्तारै बढ्दै गएका
ती मुसाका फौजहरूले
हेर्दा हेर्दै कुटु-कुटु गर्दै
देशको ढुकुटी नै खान थाले।
अन्न खादै झुपडीका नाना काटेर
सर्वहारा वर्गलाई दुःख दिने मुसाहरू
देशको अर्थतन्त्र पनि खाँदा रहेछन्।
मुसाहरूको समूह छ
समूहभित्र पनि उप समूह छ र
खेतको गरोबाट खन्दै खन्दै
महलसम्म दुलो खनिरहेका
ती मुसाका फौजहरू
एक अर्काका चाकडीमै लिप्त छन्।
यी मुसाहरू बेलाबेलामा
आफ्ना सन्तानहरूलाई विदेश निर्यात गर्छन्
र ङिच्च ङिच्च दाँत देखाउँदै लेखिरहन्छन्
शुभयात्रा मेरा सन्तानहरू
र रातका रक्सीका गन्ध नछुट्दै
यी नै भनिरहन्छन् बिहानीमा
यो देश पक्कै बन्नेछ।
एसियाको सबैभन्दा गरिब देशको
ढुकुटीलाई चपाएर ढाडिएका
यी नै मुसाहरू भनिरहन्छन्
हामी नै हौँ सर्वहारा वर्गका मुक्तिदाता।
दुर्भाग्य यो छ कि
किसानले आफ्ना हड्डी घोटेर
मुसा मार्न पालिएका
ती बिरालोहरू पनि
देशको ढुकुटी रित्ताउने
मुसालाई मार्दैन र
बर मुसासँगै मिलेर खेलिरहन्छ
चि मुसी चि।