भदौ महिना थियो। म कार्यक्रमको क्रममा पोखरा थिएँ। त्यस कार्यक्रममा सबै जना प्राज्ञिक वर्गहरू मात्र थिए। सबै जना विभिन्न कलेज र विद्यालयमा अध्ययन अध्यापन गराउने थिए। त्यो भिड सबैका लागि नौलो थियो। कसैको कसैसँग परिचय थिएन। हामी विस्तारै परिचित हुँदै थियौ।
कार्यक्रम जम्मा तीन दिनको थियो। त्यो बाक्लो भिडमा मेरो कसैप्रति नजर गएको थिएन तर कार्यक्रमको पहिलो दिनमा नै मेरा नयनहरू एकजना मिससँग ठोकिन पुगेका थिए।
म चाहन्थेँ ती मिसले मलाई केही सोधुन् वा सहयोग मागुन् र म उहाँको परिचय माग्न सकूँ, उहाँका बारेमा जान्न सकूँ। नभन्दै उनी मेरो नजिकै आइन् र भनिन्- 'एक्सक्युज मि सर, सुन्नु न यहाँको क्यान्टिन कता छ होला? के तपाईंलाई थाहा छ?'
जे म चाहन्थेँ त्यही भयो। मैले हतार-हतार भनेँ, 'ए यतै माथि छ नि। हिँड्नु न म माथिसम्म छोडिदिन्छु।'
हामी दुवैजना क्यान्टिन तिर लाग्यौँ। मैले सोधेँ, 'मिस हजुरको परिचय पाउँ न।'
उहाँले मन्द मुस्कानका साथ भन्नुभयो, 'मेरो नाम संस्कृति पोखरेल, घर तनहुँ, बायोलोजीमा एमएससी गर्दै छु। सँगसँगै एउटा सरकारी स्कुलको राहत कोटामा अध्यापन गराउँदै छु।'
मैले थप सोधेँ, 'किन बायोलोजी अध्ययन गर्नु भएको? यसको नेपालमा खासै स्कोप छैन भनिन्छ।'
उनले मुसुक्क हाँस्दै भनिन्, 'हरेक थोकको आफ्नो क्षेत्रमा समान महत्त्व हुने गर्छ सर, हामीले कुन नजरले हेर्छौँ भन्ने कुरा मात्र हो। हरेक कुराको स्कोप व्यक्ति स्वयमले सिर्जना गर्ने हो। अर्को कुरा भनेको मेरो सानै उमेरदेखि जीवविज्ञानमा अरू विषयभन्दा बढी रुचि थियो। त्यसैले बायोलोजीमा एमएससी गर्दै छु।'
उहाँको जवाफ सुनेपछि म सोचमग्न भएँ। उहाँको जवाफले मेरो मुटुमा नै तीर घोप्यो। मेरो सोच नै परिवर्तन भयो।
उनले थप भनिन्, 'अनि सरको परिचय पाउँ न। कि सरले परिचय दिनु हुन्न?'
मैले हत्तपत्त भनेँ, 'मेरो नाम रूपेश श्रेष्ठ, घर नेपालगन्ज, अंग्रेजीमैमा स्नातकोत्तर गर्दै छु। म पनि पेसाले शिक्षक नै हो मिस।'
हामीले यति कुरा गरिसकेपछि चिया मगाएर खायौँ। चियाको चुस्कीसँगै संस्कृति मिस मेरो मनमा डुब्दै थिइन्।
कार्यक्रमको अन्तिम दिन थियो। सबै जना हतार हतारमा थिए। आयोजक कमिटी अतिथिको बिदाइ गर्न र खादा माला तथा प्रमाणपत्र मिलाउनमा व्यस्त थियो। मेरो मनको कुनामा डर जमेको थियो। अब संस्कृति मिससँग छुटिने बेला आएछ, यो अनौठो आवाज जोर-जोरले भन्किँदै थियो। त्यो अन्तिम दिन मेरो मनमा पीडाहरू मात्र थिए। म मेरो मनलाई सम्हाल्ने कोसिस गर्दै थिएँ तर के गर्नु मन त हो, जे नगर भन्छ त्यही गरिदिन्छ। मानिसले आफ्नै मनलाई नियन्त्रणमा राख्न सक्दैन। यो मानव जातिको सबैभन्दा ठूलो कमजोरी हो। घरबाट आउँदा यो मन खाली खाली थियो।
घर फर्कँदा मनभरि संस्कृति मिसका यादका भारी बोकेर जाँदै थिएँ। सोचमग्न थिएँ, अब मेरो भेट उहाँसँग होला कि नहोला! यदि भइहालेछ भने कहिले होला? यत्तिकैमा संस्कृति मिस मेरो नजिकै आएर भनिन्, 'सर, हजुरको क्यामेरामा मेरा तस्बिरहरू सुरक्षित छन् नि है?'
मलाई भन्न मन त 'मिस हजुरका तस्बिरहरू मेरो क्यामेरामा मात्र हैनन् मेरो मनमा नै छ जो कहिले डिलिट हुँदैन' थियो तर अपसोच यस्तो भन्न सकिनँ। भनेँ, 'मिस किन नहुनु। म हजुरलाई घर पुग्नासाथ पठाइदिउँला।'
'ए हो कसरी पाउन सकिएला सर? त्यसो भए हजुरको भाइबर नम्बर दिनू न सर। म हजुरलाई म्यासेज गरौँला।'
मैले आफ्नो भाइबर नम्बर दिएँ। घर पुगेपछि कार्यक्रमभन्दा पनि बढी संस्कृति मिसका बारेमा सोच्दै थिएँ। कार्यक्रम सकिएको दुई दिन बितिसक्दा पनि संस्कृति मिसको म्यासेज आएन। मनमा डरको आधी आउँदै थियो।
तेस्रो दिन संस्कृति मिसको म्यासेज आएको थियो। म्यासेजमा लेखिएको थियो- 'गूड मर्निङ रूपेश सर, हजुरप्रति निकै आभारी छु। सर हजुरले कार्यक्रम अवधिभर दिनु भएको साथ र सहयोगको खुलेर प्रशंसा गर्दछु। हजुरको त्यो सहयोग कहिले बिर्सिने छैन। ती पलहरू सधैँ जीवन्त हुनेछ। मेरा विशेष अतीतहरू बनेका छन् हजुरसँगका ती दिनहरू। तपाईं जस्ता युवा यो देश र समाजलाई चाहिएको छ सर। यो नेपाली माटोको माया गर्नूहोला। विदेश जाने सोच नबनाउनू होला।'
अन्तिममा लेखिएको थियो- 'अनि सर त्यो सबै फोटोहरू सेन्ड गरिदिनू होला।'
यति पढिसकेपछि मेरो मनमा संस्कृति मिसप्रति झन् प्रेम पलायो।
मैले पनि लेखेँ- 'यी हजुरका शब्दप्रति उच्च सम्मान छ। यी शब्दहरू मेरा लागि निकै भारी छन्, प्रेरणाका स्रोत बनेका छन्। साँच्चै भनौँ भने नयाँ जोश र ऊर्जाका साथ सतमार्गमा हिँड्ने मार्गदर्शन बनेका छन्। यस कार्यक्रमले जीवनको कोर्समाथि नयाँ दृष्टि दिएको छ। हजुरसँगको भेट मेरा लागि पनि विशेष नै छन्। तपाईंका विचार र सिद्धान्तले मेरो मन छोएको छ। तपाईंलाई एउटा असल विश्लेषक र वक्ताको रूपमा लिएको छु। तपाईंका विचार र सिद्धान्तमा शतप्रतिशत सहमत छु। सानै उमेरमा ठूलो सफलता भेटाउनु भएको छ। भविष्यमा यसरी नै सफलता कमाउँदै जानू होला। जीवन लामो छ, यसबाट कहिले पनि विचलित नहुनू होला। जीवन संघर्षमय छ भन्दैमा नआत्तिनू होला। काँडै काँडा बीच फुल्ने गुलाब जस्तो जीवन सुन्दर पनि त छ। जिन्दगीको कुनै मोडमा कहीं कतै मेरो जरुरत परे अवश्य सम्झिनू होला। मेरो सक्दो साथ र समर्थन रहनेछ।'
यसरी नै दैनिक रूपमा कुरा हुँदै जान थाल्यो। हरेक दिनका क्रियाकलाप एकअर्कालाई सुनाउँथ्यौँ। संस्कृति मिससँग कुरा गर्दै जाँदा सबै कुरा उहाँसँग मिल्न थाले।
प्रेम बलियो बनाउन दुवै जनाको भावना बलियो हुनुपर्छ। उहाँको र मेरो पूरै विचार मिल्थ्यो। उहाँको पनि मेरोजस्तै सोच थियो। जसरी चुरोट खाने मान्छेलाई चुरोटको लत हुन्छ त्यसरी नै मलाई संस्कृति मिसको लत लागेको थियो। जसरी चुरोट आगोको सानो झिल्कोबाट सल्किन्छ, त्यसरी नै मेरा मनमा भएका भावनाका खिल्लीहरू संस्कृति मिससँगको दिन प्रतिदिनको सम्वादलदे सल्काइरहेको थियो। लाग्थ्यो प्रेम फैलिँदै छ धुवाँ जसरी तर कुरा के थियो भने त्यो चुरोटको धुवाँ अलि माथि गएर विलीन भएजस्तै कतै मेरो संस्कृति मिसप्रति फैलिएको प्रेम पनि विलीन त हुने हैन!
म संस्कृति मिसबिना छटपटिन्थेँ। दिनमा एक चोटि भए नि उहाँ चाहिन्थ्यो। उहाँसँग बोल्न नपाए पनि सुत्ने बेला उहाँको फोटो हेर्ने बानी बसिसकेको थियो। सबै कुरा मिल्दै जाँदा प्रेम प्रस्ताव राखन भनेर मनमा हतारोको हुरी चल्न थाल्यो।
एकदिन थियो, करिब ८ बजे म खाटमा पल्टिएर उहाँसँग कुरा गर्दै थिएँ। मैले भनेँ, 'आज म एउटा कुरा भन्छु रिसाउनु त हुन्न?'
उनले प्रतिक्रियामा 'भन्नु न कस्तो कुरा हो?' भनिन्।
मैले सिधै फिल्मी शैलीमा भनेँ, 'म तपाईंलाई मन पराउँछु। हजुरलाई म प्रेम गर्छु।'
मिसले वाउ इमोजीको तस्बिर पठाए पनि शब्दमा कुनै प्रतिक्रिया आएन। मनमा डरको तुवाँलो चल्न थाल्यो। सोच्न थालेँ, उहाँले के सोच्नु भएको होला? मनमा अनेक प्रश्न दौडिन थाले, के मैले जस्तै संस्कृति मिसले नि माया गर्नुहुन्छ होला त? म उहाँको प्रेमी बन्न योग्य छु कि छैन? उहाँले मलाई कुन नजरले हेर्नु भएको होला?
दुई दिन बितिसक्दा पनि कुनै प्रतिक्रिया आएन। मेरो मनमा खिन्नता छाउन थाल्यो। मनमा हर्ष र उल्लास भन्ने चिज थिएन। मलाई यस्तो लाग्न थाल्यो कि म त उहाँको को नै हुँ र? जाबो एउटा कार्यक्रममा भेटिएको मान्छे न हुँ, मजस्ता मान्छे त उहाँको जिन्दगीको बाटोमा कति भेटिन्छन् कति। मनमा नमिठा हावाका झोक्काहरू चल्न थाल्यो। मनले मानेन ठूलो हिम्मत जुटाएर आफैले फेरि म्यासेज गरेँ- 'प्रिय संस्कृति मिस, म हजुरको प्रतिक्रियाको पर्खाइमा छु।'
एकदिन मध्यरातमा संस्कृति मिसको फोन आयो, 'हेलो सर, हजुरले गरेको म्यासेजको रिप्लाई समयमा नै दिन पाइनँ। त्यसका लागि माफी चाहन्छु। अनि हजुरले सोधेका प्रश्न सामान्य छन् तर उत्तर दिन जटिल छ।'
मैले सबै कुरा बिर्सिएको जसरी भनेँ, 'कुन प्रश्नको कुन उत्तर दिन जटिल छ मिस?'
उनले लामो सास तान्दै भनिन्, 'सर हजुरलाई थाहा नै छ होला। जिन्दगीमा देखेका सबै आफ्ना हुँदन, सबै पराई पनि हुँदैनन्। जीवनमा खोजेका र रोजेका सबै थोक पाइँदैन र पाउनु नै पर्छ भन्ने पनि छैन। सुख होस् वा दुःख, हाम्रो स्वभाव सामान्य हुनुपर्छ। सुख छ भन्दैमा मात्तिनु हुँदैन र दुःख हुँदैमा आत्तिनु हुँदैन। राति भएपछि मात्र हो दिन हुने, आजको भुइँको धुलोले नै हो भोलि आकाश छुने र बत्तीको उज्यालोमा नै डढेर मर्छन् पुतलीहरू। भाग्यमा छ भन्दैमा डोकोमा दूध रहँदैन। यो संसारमा आफूले चाहेको सबै थोक पाउने भइदिएको भए यो जगत् नै कति सुन्दर हुन्थ्यो होला।'
यी सबै कुरा सुन्दै जाँदा म युद्ध भूमिमा युद्ध हारेको सिपाही जस्तो भैसकेको थिएँ।
संस्कृति मिसले थप्दै गइन्, 'सक्नुहुन्छ भने मलाई बिर्सिदिनुस् सर। तपाईंले मलाई बिर्सिनु बाहेक केही विकल्प छैन। सायद हजुरलाई थाहा छैन होला मेरो सिउँदोमा अरू कसैको सिन्दुर परेको छ। गलामा अरू कसैको पोते परेको छ। म विवाहित हुँ सर। सक्नु हुन्छ भने मलाई माफ गरिदिनु होला, यी सबै कुरा पहिला नै भन्नु पर्ने थियो। तर मलाई आँट नै आएन सर।'
मेरा सपना पतिङ्गर थिए, उनी बतास बनेर आइन्। मेरा सपना मबाट चुँडाएर लग्यो बतासले, कहिले नफर्किने गरी। म अर्धचेतन अवस्थामा थिएँ। जसरी नदीमा रहेको ढुङ्गालाई नदीले नै बगाएर लग्छ त्यसरी नै हृदयको गहिराइबाट विश्वास गरेको मान्छेले मलाई टुक्रा टुक्रा गरेर बालुवा नै हुने गरी बगाएर लाग्यो। अब रहेन आशा, रहेन भरोसा, रहेन विश्वास, रहेन सपना, रहेन आफ्नै अस्तित्व। म पराजय भएँ खेल मैदानमा नै नगई कन।
'भन्न नसकेर मात्र हो, प्रेम त मलाई पनि हजुरसँगै पहिलो भेटमै भएको थियो सर। हजुरको त्यो न्यानो आतिथ्य, सुमधुर बोली, गहनशील विचार, नम्र व्यवहार र भद्र भलाद्मी व्यक्तित्वले हरेकलाई आकर्षित गर्छ। सायद त्यही भएर होला म पनि हजुरसित प्रेम गर्न पुगेँ। फोटोसँग हजुरको मन पनि माग्ने विचार थियो तर भित्तामा झुन्डिएको मेरो विवाहको तस्बिरले त्यसो गर्न दिएन। त्यसै भित्ताको अर्को कुनामा राधा कृष्णको तस्बिर पनि राखिएको थियो। त्यो तस्बिरलाई नियाल्दै गर्दा त्यस तस्बिरमा भएको कृष्णको पात्रमा हजुरलाई र राधाको पात्रमा आफूलाई भेटेँ। अनि फेरि चित्त बुझाएँ कि जब भगवानहरूबीच त अथाह प्रेम हुँदाहुँदै छुट्टिनु पर्यो भने हामी त सामान्य मान्छे। एक हातले पूरै गोवर्धन पहाड उठाउन सक्ने भगवान् कृष्णले जस्तै म पनि आफ्नो सम्पूर्ण तन मन धन दिएर हाम्रो सम्बन्ध उठाउन चाहन्थेँ तर समाजमा भएका रीति रिवाज, परम्परा र परिवारले मप्रति गरेको विश्वासले गर्दा यसो गर्न सकिनँ।
यदि हरेक प्रेम विवाहमा परिणत हुने भए, प्रेमको परिभाषा नै विवाह शब्दमा सीमित हुने थियो होला। तर हजुरसँगको भेट सामीप्यले मेरा लागि प्रेमको परिभाषा नै परिवर्तन गरिदिएको छ। प्रेमलाई एउटा फराकिलो तरिकाले हेर्ने दृष्टिकोण पैदा गरिदिएको छ। हजुरलाई आफ्नो बनाउन नसकेकोमा एक प्रकारको अपसोच त छ। तर अब मैले प्रेम भनेको विवाह मात्रै नबुझेर एक अर्काप्रति गरिने आत्मसम्मान, दुई आत्मा बीचको मिलन बुझेकी छु। यसै अर्थमा म बाँचुन्जेल हरेक पल, हरेक क्षण हजुरलाई सम्झिरहने छु।'
'मैले त आफ्नो मन यसरी बुझाएँ, अब हजुरले पनि यसै गरी आफ्नो मन बुझाउनु होला' भन्दै एउटा वियोगको दर्दनाक पीडामा मिसिएको आवाजसँगै उताबाट फोन काटियो। यसरी फोन काटिएसँगै हामी बीचका सम्बन्धको धागो पनि काटियो।