हिउँदको शीतलहर
रुझेका खरको छानो
च्याँच्याँ गर्दै कराएको मेरो रोदन
अनि
चिसो हावा बोकी आएको
पश्चिमी बतास
त्यो बिहान यति नै थियो
चिसा ती बतास
बाँसका टाटीबाट मलाई गिज्याउँदै थिए
सुकेका ओठ, भिजेका आँखा, रोदनले थकित ज्यान
अनि भोको पेटले नि मलाई जिस्काउँदै थिए
ठन्डीमा काँपिरहेको मेरा शरीर
तिम्रो छातीको न्यानोपनमा हराउन चाहन्थ्यो
बोली अझै फुट्न बाँकी नै थ्यो
तरै पनि आमा... आमा भनी तिम्रै नाम लरबराउँदै थ्यो
तर तिमी त आमाहरूमा एक अपवाद रहिछौ
तिम्रै शरीरको एक टुक्रो थिएँ
फेरि भएँ हेलाको पात्र कसरी
सन्तान त मुटुका टुक्रा हुन्छन् भनेको सुनेको थिएँ
अनि आफ्नै मुटु चुँडाल्यौ पो कसरी
साँच्चै तिमी अपवाद नै रहिछौ
देख्छु मुटुबिना पनि
बाँच्न सक्दिरहिछौ
साँच्चै तिमी अपवाद नै रहिछौ
सुनेको थिएँ
प्रसव वेदनाको आँसु
नानीको रोदनले पुछ्छिन् रे आमा
केही नबोली नि सबकुछ बुझ्छिन् रे आमा
फेरि मेरा निम्ति तिमी ढुङ्गा भयौ कसरी
जन्म त मलाई तिमीले नै दिएकी हौ
फेरि मासुको मूर्ति भयौ कसरी
जसलाई मेरो रोदनले कुनै अर्थ राखेन
या फिर
जसलाई मेरो रोदन सुन्नु नै थिएन
म त मासुको ज्युँदो डल्लो मात्र थिएँ तिम्रो निम्ति
जसको अनुहार बिहानीमा तिमीलाई हेर्नु नै थिएन
यसैले त गयौ तिमी रातको अँधेरीमा मेरा निम्ति बिस्मात छरेर
छैटीको रात टुहुरो लेखिदिएर
सायद त्यो रात
खरको छानो मेरो दुर्दशामा रोएको आकाशको आँसुले भिजेका थिए
अनि पश्चिमी बतास त्यो आँसु पुछ्न हतारिँदै
तिमीलाई के मन पर्छ?
अहँ, सोध्ने कोही थिएन
तिमीलाई के मन पर्दैन?
अहँ, कसैले सोधेन
सायद कसैले सोधेको भए
म भनिदिन्थेँ
मलाई आमा मन पर्दैन
मन नपर्नुका कारणहरूमा खण्डकाव्य पनि लेखिदिन्थेँ
अनि अन्तिम पन्नामा तिम्रो नाम कुँदिदिन्थेँ
सन्तान जन्माइदिँदैमा नारी आमा हुन्छिन् कि
मातृत्वले भरिएर
ममतामा भरिपूर्ण स्तनपान गराई हुर्काएमा
अहँ, थाहा छैन
धूर्तै पशुले पनि आफ्नो सन्तानको निम्ति लड्छिन्
आफू मरेरै भए नि आफ्नालाई बचाउँछिन्
तर तिमी साँच्चै अपवाद नै रहिछौ
अत्तरले ढाकेको तिम्रो शरीरको गन्धभन्दा
पसिनाले निथ्रुक्क बाकै गन्ध मन पर्छ मलाई
गोठमा बाँधिएकी कैली गाईको दूध खाई हुर्केको हुँ म
भनिदेऊ अब, तिमी मेरी आमा हौ कसरी?
भनिदेऊ अब, तिमीलाई आमा भनूँ म कसरी?