खरबारीको घाँस सकिएपछि
बाजोका स्याउला लिन
चिफ्लेटीभिर जाँदा
चोइटिएको हो बा'को दायाँ चप्पल
तरकारीको भारी बोकेर
गलकोट बजार जाँदा
करलेको ओरालोमा लर्किएर
खुट्टो फर्किएपछि
चुँडिएको हो 'बा' को बायाँ चप्पल।
चुँडिएको चप्पलकै भरमा
बा'लाई चुम्नु छ
पहाडका चुचुराहरू
तर्नु छ जिन्दगीको उत्तरवाहिनी
तार्नु छ वैतरणी नदीबाट पितृहरूलाई
पर गराउनु छ असीपत्र वन
देखाउनु छ सन्तानलाई सङ्घर्ष र सपनाको बाटो।
रोप्नु छ
आफ्ना समस्याहरूलाई
डाँडाको चौतारीमा
उमार्नु छ पौरखको बिरुवा
छर्नु छ पाखाहरूमा पौरखका फूलहरू
जसबाट निस्किनेछ करोडौँ कस्तूरीहरूको बास्ना
त्यसपछि थाहा पाउनेछन्
हजारौँ हरिणहरूले बा'को सुगन्ध
आफ्नै परिश्रममा लर्किएर चप्पल चुँडिएपछि।