आजभन्दा ४/५ वर्ष पहिलेको कुरा हो, म एसइई सकेर राजधानी ओर्लिएँ। यहाँ त भविष्यमा कसले कसलाई अङ्गाल्ने भन्ने प्रतिस्पर्धा हुने रहेछ। कसै-कसैले त ठ्याक्कै ठम्याउन नसकेर विकल्पको लागि दुई/चार वटा नै अङ्गाल्ने रहेछन्। आफू त गाउँबाट भर्खरै मात्र यस्तो झिलिमिली सहर झरेको, के विकल्प के निर्विकल्प हेक्का नै भएन।
सहर पसेको यस्तै दश-पन्ध्र दिनपछि सपनासँग भेट भयो। उनीलाई राम्रोसँग अध्ययन गरेँ। उनको चर्चा परिचर्चा देश विदेशमा त राम्रै रहेछ तर सुविधा सम्पन्न ठाउँमा भन्दा पनि दुःख पीडाले छटपटाइरहेको मेरो जन्मभूमि कर्णालीमा उनको धेरै खाँचो छ भन्ने लाग्यो। त्यस कारण मैले उनलाई पाउने आशाका त्यान्द्राहरू बुन्न थालेँ।
तर के गर्नु साथी हो, उनले नै चिन्न नचाहेपछि! एक पटक फर्केर झिमिक्क हेर्न नि नचाहेपछि! एकतर्फी रोटी पाक्दैन, एक हातले ताली बज्दैन भनेझैँ मैले मात्र चाहेर के गर्नु, रोज्दा नै निष्ठुरी रोजेपछि।
कहिलेकाहीँ मलाई बडो आश्चर्य लागेर आउँछ, किन उनले मलाई चिन्न सकिनन् भनेर! तर फेरि आँखा बन्द गरेर भित्री आत्माले सोच्छु, म त को हुँ र उनको लागि। उनलाई चाहने मनहरू हजारौँ हुन्छन्। उनलाई यस्ता मनहरू खेलाउने र केलाउने बानी परिसकेको छ। उनको महत्त्व नेपाल मात्र होइन, संसारमै विशेष रहेको छ।
मैले आजभोलि बुझ्दै छु कि विचरा उनलाई पनि बाध्यता पो रहेछ। मध्यम उचाइ भएको, सेतो सर्ट निलो पाइन्ट लगाएको, बाहिर टक्क सुहाउँदो कोट लगाएको, कालो चस्मा लगाएको र मसिना कालो मेहेन्दी लगाए जस्तो दाह्री भएको, झन् मुस्कुराउँदा त श्री कृष्णका सोह्र हजार गोपिनी नै पछि लाग्लान् जस्तो रुप भएको नवजवान युवाप्रति पनि उनको मन एक थोपा पनि पग्लिएन; आखिर किन त? उनलाई सोधूँ सोच्छु तर खै किन हो किन सोध्ने हिम्मत नै गर्दिनँ।
उनलाई पाउने आशाको दौरानमा कहिलेकाहीँ आफूलाई कमजोर महसुस हुँदा कैयौँ पटक हार्दै जितेका प्रेरणादायी व्यक्तिको जीवनी पढियो, उनीहरूको जस्तो मेहनत संघर्ष त्याग र पसिना बगाउने कोसिस गरियो।
मनमा उराठ लागेर पाइला नै अगाडि बढ्न नखोज्दा आफूले पढ्ने किताबका पानाभन्दा धेरै रहरहरू सम्झिएँ। आफूले हिजो र आज गरेको मेहनत सम्झिएँ। आजसम्म आफैले पार गरेको दूरी सम्झिएँ। त्यो सेतो सफा एप्रोनसँगै काँधमा झुन्डिएको स्टेथेस्कोप सम्झिएँ र कमजोर भएको मनोभावनालाई तिलाञ्जली दिँदै नयाँ जोस, जाँगर र उमंगका साथ अगाडि बढ्ने प्रयत्न गरियो।
आलस्य र थकानले निद्रा खोज्दा मैले टेबल र कुर्सी खोजेँ, जवानीले चञ्चलेपन रोज्दा मैले उनी सपनालाई नै रोजेँ। साथीभाइले झिलिमिलीको आभास लिँदा मैले विभिन्न हाइलाइटरले कोरेको किताबका झिलिमिली अक्षरमा रमाएँ। छिमेकीको घरमा चाडपर्वको रमझम छाउँदा मेरो मनमा सपनालाई पाए अर्को वर्ष रमझम गरौँला भन्ने लाग्यो। छिमेकी काका परलोक हुँदा सबै दाहसंस्कारका लागि घाट पुग्दा मैले भने बजारका नयाँ-नयाँ ट्युसन सेन्टर धाएँ। बजारमा नयाँ-नयाँ ब्लकबस्टर फिल्मले दर्शकको मन जित्दै गर्दा मेरो मन भने युट्युबमा प्रसारण भएका फिजिक्सवाला, केमेस्ट्रीवालाले जिते। तर न त मैले सपनाको मन जित्न सकेँ न त उनीले मेरो।
उनलाई म कति चाहन्थेँ भनेर कसरी देखाउँ? न त मसँग देखाउने कुनै माध्यम नै छ, न कुनै ठाउँ नै। उनलाई म कति चाहन्थेँ भन्ने कि त नेम, भाइब्रेन्ट, निमाको भवनलाई थाहा होला, कि त त्यहाँका डेक्स बेन्चलाई थाहा होला। कि त सिंहदरबार अगाडि राखिएका ती काठका बेन्चलाई थाहा होला जसमा बसेर म आफ्नो आफैँलाई मूल्यांकन गर्थेँ। कि त मैले सधैँ यात्रा गर्ने त्यो सार्वजनिक बसलाई थाहा होला, कि त मेरो कोठाको भित्ताहरूलाई थाहा होला। कि त मैले पढ्ने पुस्तकलाई थाहा होला, मेरो कारणले घरको शान्ति र सुखमा ठेस नलागोस् भनी मन भारी हुँदा, आँखाभरि आँसु हुँदा पनि मुसुक्क मुस्कुराउने मेरो दन्त र ओठलाई थाहा होला। यिनीहरूलाई पनि थाहा नभए मेरो तन, मन र मस्तिष्कलाई राम्ररी थाहा छ तर मैले सपनालाई यो अनुभूति गराउन सकिनँ।
कहिलेकाहीँ त यिनी सपनाको भरमा पर्नुभन्दा अर्की नयाँ सपना पो खोज्ने हो कि जस्तो लाग्थ्यो। तर उमेरले नेटो काट्दै गरेका, बुढ्यौलीको सिमाना नजिक पुग्दै गरेका, मलाई म बनाउन दिनरात आफ्ना हातगोडा खियाइरहेका मेरा बा-आमालाई सम्झन्छु। मेरा बाजे बराजुले जति नै खेत जोत्दा पनि फेर्न नसकेको एक सरो कपडा, खान नसकेको मिठो गाँस, बिरामी हुँदा नपाएको सिटामोल-जीवनजल र बदल्न नसकेको हैसियत सम्झन्छु। कस्तूरीले आफ्नो सुगन्ध आफैले थाहा नपाएर भौतारिए जस्तै भौतारिरहेको मेरो दूर दराजको गाउँ सम्झन्छु र फेरि पछ्याउन खोज्छु उनीलाई नै।
सपनासँग बुनेका सपनाको त के कुरा गर्नु र खै, सायद लेख्दा हात थाक्छ होला, कापीको पन्ना सकिन्छ होला, कलमको मसी सकिन्छ होला, भन्दै जाँदा भन्नेको मुख थाक्छ होला, सुन्नेको गहभरि आँसु झल्किन्छ होला तर सपनालाई कुनै सजिलो-अप्ठ्यारो अनुभूति नहुने रहेछ। यो सबै घटना, परिघटनालाई राम्रोसँग नियालेर हेर्दा गायक प्रमोद खरेलको गीत 'यो भाग्यमा खोट छ यो, यो मुटुमा चोट छ' साँच्चिकै मेरो लागि नै बनेको हो कि जस्तो लाग्छ।
मेरो सपना त सपनासँग ५/६ वर्ष माया जाल बुन्ने, त्यो पवित्र मायालाई बिहेमा परिणत गर्ने र नेपालमा भौगोलिक, आर्थिक, शैक्षिक तथा सामाजिक दृष्टिकोणका हिसाबले पिछडिएको मानिएको मेरो जन्मभूमि कर्णालीका दूर दराजमा गएर त्यहाँका जनताको घाउमा मलम लगाउने, जति नै हड्डी खियाउँदा, खेत जोत्दा, वन पाखामा कुटोकोदालो गर्दा पनि नफेरिएको मेरो गाउँको मुहार फेर्ने थियो। तर साथी हो, सपनाले मानिनन्। मैले उनलाई चिन्न नसकेको हुँ या उनले मलाई? त्यही पनि आशाको भारी बोकेर परालको त्यान्दो जस्तै बाँचिरहेको छु। काम गर्नु फलको आशा नगर्नु भन्ने गीताको सन्देश र युक्ति जस्तै कर्ममा विश्वास गर्दै बाँचिरहेको छु।
सपनाले नमाने पनि उनकी आफ्नै बहिनी बिपनाले भने जेनतेन मानेकी छन् तर सपनाको लागि मरिहत्ते गर्ने म बिपनालाई कसरी सजिलै स्वीकार गर्न सक्छु। कतिपय साथीहरूले बिपनाको चरित्र, उनको विशेषता, उनको दक्षता र उनको कार्य क्षमतामा पनि खोट लगाउने कुनै ठाउँ छैन भन्दै थिए तर उनलाई मेरो घरमा लगेर मेरी सपना उनी नै हुन् है बा-आमा भनेर सपना देखाइसकेपछि बीचैमा छाडेर हिँड्नु त मूर्खता पो हुने हो कि? मेरी सपना अर्थात् एमबिबिएस र बिपना अर्थात् अन्य स्वास्थ्य क्षेत्र।