भनिन्छ नि हुँदा चाहिएन
नभएपछि चाहियो
लागेकै थिएँ आफ्नो बाटो
गन्तव्य नभेटेपछि
पुरानै ठाउँमा फर्की आइयो।
सत्यता स्विकार्नु पर्छ
मेरो आँखाको शक्ति गुमेपछि हो
मलाई संसार देख्न मन लागेको
आँखा देख्दा त म-
सबै कुराको नजरअन्दाज गर्थेँ
अनदेखा गर्थेँ।
मेरो कानको श्रवण शक्ति सकिएपछि हो
सबै कुरा दोहोराएर सुन्न खोजेको
सुन्ने शक्ति हुँदा त-
एकै पटक सुन्न पनि विरक्त लाग्थ्यो
वैराग लाग्थ्यो।
महोदय!
हात नै नभएपछि हो काम गर्न मन लागेको
हात हुँदा त केबल ज्ञानी बन्ने गर्थेँ
हात बानेर
हात थामेर
खुट्टा नटेकिएपछि हो
संसार डुल्न चाहेको
नत्र त पाइला सार्दा नि
थकाइ मान्ने म नै हो।
सोचेका कुरा नपुगेपछि हो-
भाग्यलाई दोष दिएको
नत्र त कर्मको, इमानको
विश्वास लाग्थ्यो
नास्तिक थिएँ
आस्तिक भएँ
भगवान् हुनुहुन्छ
वहाँप्रति बस् आस्था फेरिएको हो।