मेरो गाउँमा हिजो केही नहुँदा
कोही छ जस्तो लाग्थ्यो तर
आजभोलि मेरो गाउँमा सबै भएर पनि
कोही नभए जस्तो लाग्छ
हिजो मोटर बाटो पुगेको थिएन मेरो गाउँमा
तर ओहोरदोहोर भइरहन्थ्यो
भेटिन्थे मानिसका पाइलाहरू
आज
मोटर बाटो पुगेको छ मेरो गाउँमा
तर विरलै भेटिन्छन् मानिसका पाइलाहरू
जुन मेटिने अवस्थामा छन्
हिजो त्यो दियो र पानसको बत्तीले पनि
सारा गाउँ झिलिमिली हुन्थ्यो
आज बिजुली बत्तीले पनि अन्धकारमय भएको छ मेरो गाउँ
हिजो
त्यो चौतारीमा मेहेफिल हुन्थ्यो
बस्नलाई ठाउँ पुग्दैन थियो
आज चौतारीले कोही बस्दिए हुन्थ्यो भनिरहेको छ।
मेरो गाउँमा
बाटो छ
हिँड्नलाई कोही छैनन्
चिसो पानीको कुवा छ
तिर्खाएर पानी पिउन जाने कोही छैनन्
छहारी दिने चौतारी छ
छहारीमा बस्ने कोही छैनन्
वृद्ध छन्, युवा छैनन्
बिरामी छन्
डाक्टर, धामी छैनन्
मेरो गाउँमा मान्छे मर्छन्, जलाउनलाई मसानघाट छ
मलामी छैनन्
हिजोसम्म भरिभराउ थियो मेरो गाउँ
आज शून्य छ, केवल शून्यता।