मालती घरकी गृहिणी थिइन्। घरको चारकुनाभन्दा बाहिर भव्य संसार उनले कहिल्यै देखिनन्। भयंकर ठूलो विश्वासमा अडिएर मालतीले श्रीमानलाई भगवान र छोराछोरीलाई वरदान मान्दै आइन्।
यस्तै अन्धविश्वासले बाँधेपछि बन्द हुँदा रैछन् खुल्न सक्ने विवेकका सूत्रहरू पनि। पढ्न र बुझ्न सकिने महाविद्यालयहरू पनि। सम्बन्ध नै किन नहोस् त्यो निकै नहुने क्यान्सर बन्दै जाँदो रैछ।
हाय! अब कसरी पो उठ्ने, कहाँ अडेस लाएर उठ्ने? एकदिन यस्तै भयो मालतीलाई जब देखिन् श्रीमानको च्याटबक्समा अन्तरंग कुराकानीहरू कुनै अपरिचित केटीसँग।
अनपढ श्रीमती छे घरमा भनेर सोच्ने श्रीमानलाई थाहा थिएन प्रविधिको पहुँचले श्रीमतीलाई पनि सत्य खोज्ने सामर्थ्य जुटाइदिई सक्यो भन्ने कुरा। त्यस दिन मालतीलाई आकाश पूरै कालो बादलले ढाकेजस्तो भयो। भुइँचालो उनले टेकेकै जमिनमा आएजस्तो भयो। हेर्दै जाँदा त्यो केटीको उमेर छोरीसरह कै रहेको जब थाहा पाइन् आफ्नै श्रीमानले आफ्नो छातीमा गोली बर्साए जस्तो भयो।
मालती र उनका श्रीमानको दुई सन्तान एक छोरा एक छोरी थिए। छोरा सानै थियो पाँच क्लासमा पढ्थ्यो भने छोरी पोखरामा चिकित्सा विज्ञानमा स्नातक पढ्थिन्। श्रीमान विद्युत प्राधिकरण शाखाका हाकिम थिए। अक्सर सानो छोरालाई हेरबिचार गरेर घरमा बसिरहने मालतीले आफू र श्रीमान बीचको सम्बन्ध आँखी झ्यालबाट उदाङ्गो भएर कहिले ठूलो भ्वांग बन्यो पत्तै पाइनन्।
शारीरिक सम्बन्धबाट मालती र श्रीमान धेरै पर थिए। सायद श्रीमानलाई पुगिसकेको थियो। त्यसैले त अफिसमा लेट नाइट मिटिङको बहाना पारेर ढिलो घर आउँथे श्रीमान। श्रीमानको अफेयरबारे त्यो च्याटले सबै कुरा पारदर्शी बनाइदियो मालतीलाई।
एकबिहान श्रीमान कामको सिलसिलामा पोखरा जानु छ भनेर घरबाट निस्किए। तर अफिसका अरू स्टाफहरूसँग मालतीले बुझ्ने कोसिस गर्दा त्यहाँ कुनै काम नभएको जानकारी पाइन्।अनि उही शंकाको गहिराइले आकाश छोयो मालतीको। त्यो निकै निस्सासिँदो गहिराई थियो। त्यो गहिराइमा हरेक क्षण मालती तैरिँदै सास फेर्ने कोसिस गरिरहेकी थिइन्। डाक्टर बन्दै गरेकी छोरी छे अनि सानै छोरा छ, एउटा फक्रिँदै गरेको परिवार कसरी च्यातचुत पारेर उनी अर्को संसार खडा गर्न सक्थिन् र?
सोच्दा पनि मनभित्रै ठेलमठेल गर्थे विचारहरूले। कतै अर्ति सुनिन्थ्यो भित्रै त कतै घुर्की सुनिन्थ्यो। आफ्नै आँसुले आफू टेक्ने धरातल समुद्र भइसक्दा समेत सम्बन्धलाई सिंगारीपटारी बस् है भन्दै गिज्याउँथ्यो मनको एउटा कुनाले।
पोखरा गएको दुई दिन बितिसक्दा समेत खोजखबर नआएपछि फोन गरिन् मालतीले श्रीमानलाई। फोन उठेन। सम्बन्धको घरबाट एउटा इँटा चोइटिएर मालतीको थाप्लोमा लाग्यो। ठूलो सास फेरिन् मालतीले अनि आफूलाई थपथपाइन्। चार दिन बित्यो श्रीमानको फोन अझै उठेन बरू छोरीको फोन आयो।
रुँदै रुँदै फोन गरेकी छोरीले सुनाइन्, 'आमा, बाबालाई मैले यहाँको एउटा प्राइभेट हस्पिटलमा देखेको थिएँ। हाम्रो त्यहाँ क्लिनिकल पोस्टिङ थियो। टाढाबाट हेर्दा त बाबालाई मैले चिनिनँ।मास्क लाएर एउटा म जत्रै केटीलाई हातमा समातेर ल्याइराख्नुभाको थियो। सोचें, बाबा नभएर अरू कोही मान्छे होला। बाबा यति बेला पोखरा किन आउनुहुन्थ्यो होला र? आए त मलाई फोन गरिहाल्नुहुन्थ्यो नि! मलाई भेट्न बोलाइहाल्नुहुन्थ्यो नि! म यस्तै कुरामा ढुक्क भएर सिकाइका क्रियाहरू गर्न ओपिडीमा छिरेको थिएँ। तर बाहिरबाट एउटा आवाज आयो त्यो बाबाकै थियो। मैले यकिन पनि गरेँ। कानलाई कुनै भ्रम भयो कि भनेर मैले सानो प्वालबाट चिहाएर पनि हेरें,बाबा नै हुनुहुँदो रैछ। अनि समय नाघिसकेको गैरकानुनी एबोर्सन गराउन दबाब दिँदै हुनुहुन्थ्यो। मैले सबै देखें र सुनें पनि। तर त्यहाँ एबोर्सन गर्न मानिरहेका थिएनन्। त्यो केटीको हात समातेर बाबा त्यहाँबाट रिसाएर जानुभाथ्यो। म यी सबै कुरा सहन नसकेर बिदा लिएर होस्टेल आएकी छु। म हजुरलाई भेट्न भोलि नै काठमाडौं आउँछु आमा! मेडिकल कलेजभन्दा बाहिरको हस्पिटलमा पनि हाम्रो पोस्टिङ हुने कुरा बाबालाई थाहा रहेनछ नत्र छोरी रहेकै सहरमा आएर बाबाले यो हर्कत गर्नुहुँदैन्थ्यो होला।'
यति सुनिसकेपछि मालती ढलिन्। भुइँचालो नआइकनै ढल्यो इँटाको सम्बन्धको घर र त्यही इँटाको थुप्रोले पुरिरह्यो मालतीलाई। हारगुहार पनि मागून् कोसँग? जहाँ आफ्नै भन्नेले नमेटिने घाउ दिएको थियो मुटुमा।
आफूलाई झिल्का झिल्काले पिरोलिरहेको कुरा जब छोरीको कानसम्म समेत पुग्यो यसले जति हार, दुःख र आँसु दियो मालतीलाई त्यसको क्षतिपूर्ति अब श्रीमानले दिनै सक्दैनथे।
भोलिपल्ट छोरी पुगिन् घरमा। दुवैले अंगालो मारे। सँगै बसेर रोए। सकभर आफू नचोइटिएको देखाउन प्रयास गरे। तर सकेनन्। सानो भाइ पनि दिदीकै अंगालो हालेर नबुझिकनै रोइदियो।बेलुकी रात परेपछि त्यही दिन श्रीमान घर पुगे। छोरी त्यहीँ देखेपछि, ओहो! कहिले आयौ? बाबालाई खबर पनि गरेनौ? जस्ता पुलकित प्रश्नहरू तेर्साए। तर मालती र छोरी चुपचाप थिए।एकछिन सानो छोरासित गफमा अल्झिएर श्रीमान भोकै विस्तारामा पल्टिए। किनकि त्यो दिन त्यस घरमा भात पाकेन।
त्यस रात बाबाको पकेटमा एउटा चिठी छोडेकी थिइन् छोरीले जहाँ लेखिएको थियो, 'बाबा! यो अन्तिम सम्बोधन हुनेछ सायद तपाईंलाई किनकि तपाईं अब मेरो सम्बोधनको लायक नै रहनुभएन। आवश्यकताभन्दा बाहिरको जुनसुकै सम्बन्ध पनि विषाद हुन्छ भनेर सिकाउने तपाईं नै आज त्यो विषादीले ग्रस्त भएको देख्दा अचम्म परेँ। तर म तपाईंकी छोरी मात्र होइन एक नारी पनि हुँ र घरबाटै आवाज बनेर उठ्न सक्ने नारा पनि हुँ। तपाईंले हेक्का पाउनुभएन सायद। मैले थाहा नपाइन्जेल आफैंभित्र यी सब कुरा गुम्साएर भित्रभित्रै जलिरहेकी मेरी आमालाई अब पनि यही अवस्थामा मैले राखें भने म जस्तो पापी यो संसारमा अरू कोही हुँदैन होला। तपाईं सँगको लडाइँ अब सुरू हुनेछ। यो लडाइँ तपाईंजस्ता घरभन्दा पर सम्बन्ध राखेर छोरीको उमेरका केटीहरूसँग विछ्यौनामा पल्टनेहरूका विरूद्ध हो। ती कोही पनि बा बन्न वा भनिन लायक छैनन्।
तर मेरो अन्तिम बिन्ती छ, म जत्रै उमेरकी त्यो केटीको कोखमा हुर्किरहेको सन्तानलाई संसारमा आउन दिनुहोला। कतै पैसा खुवाएर एबोर्सन गराएर पापमाथि पाप आफूमा नथोपर्नु होला।भोलि त्यो सन्तानले पनि त कुनै दिन तपाईंका विरूद्ध शान्तभावमा संघर्ष त गर्ने नै छ। सूर्यको उज्यालो केही सापटी लिएर बाँचेकी चन्द्रमा जस्ती थिइन् होला मेरी आमा यतिन्जेल यो दुनियाँका लागि। तर अब ग्रहहरूको साम्राज्यबाट बाहिरिएको प्लुटो जस्तै पतित्वको अस्तित्व नै नहुँदा केहीबेर अन्धकारमा हुन्छिन् होला मेरी आमा तर बाँच्न सिक्नेछिन्, सक्नेछिन्।
विस्तारै छोरीको साथ पाएर फेरि चम्किनेछिन्,आफ्नै रापतापमा सूर्यजस्तै। यो कुरा मैले प्रमाणित गर्नुछ।'
भोलिपल्ट मालतीले श्रीमान सँगको डिभोर्स फाइल गरिन् अदालतमा। त्यसदिन वर्षौंको निद्राबाट ब्युँझिएझैं लाग्यो मालतीलाई। छोरीको साथ पाएपछि विस्तारै रित्ता भएका मुस्कानहरू फिर्दै गए मालतीका ओठहरूमा। श्रीमानको लहैलहैमा लाग्दा सुस्त सुस्त अरूकै इसारामा फेरिने श्वास बनेकी मालती, छोरीको साथ पाएपछि आँधी बनेकी थिइन्। सगरमाथामा पहिलो पाइला टेक्ने पासाङ ल्हामू जस्तै आफ्नै श्रीमानको अहम र निकृष्टता विरूद्ध पाइला टेक्ने मालती पनि कम हिम्मतवाली थिइनन्। डिभोर्स भएपछि त्यो बडेमानको घर छाडे मालती, छोरी र छोराले। अनि आफ्नो नाममा परेको जग्गामा सानो पसल बनाएर लुगा सिउने काम गर्न थालिन् मालतीले।
कर्तव्य उन्मुख जागरणले मालतीमा त्यो ठूलो घरको सान मान हटाइदियो। आफ्नो इलम र मेहनतमा बाँच्न सक्ने मालतीले छोरीलाई डाक्टर बनाइछाडिन् र डाक्टरकी आमा भनेर चिनिएकी छिन्। मालतीको टेलरमा भिड लाग्छ आजकल। उनी कपडा मात्र सिउँदिनन्, बिनासित्ती घमण्डले उध्रिएको सम्बन्धलाई नयाँ सिराबाट सिउन र बेफिक्री जीवन जिउन सल्लाह समेत दिन्छिन् ग्राहकहरूलाई।