झकाउन मात्र के लागेको थिएँ। ढोकाबाट आएको कसैको कर्कश आवाजले झल्याँस्स बिउँझन पुगेँ।
राजु ! राजु, ए राजु !!
मंसिरको महिना तराईमा न जाडो न गर्मी। तिहारलाई बिदाइ गरेको त्यस्तै आठ दश दिन मात्र भएको हुनुपर्छ।
मोबाइलमा समय हेरेँ। रातको ९:३० बजेको।
बाहिर टहटह जुन लागिरहेको ।झ्यालबाट अलिक पर बाटोमा सेतो गाडी रोकिराखेको र खेतमा धानका बोटहरू लहलहाइ रहेको प्रष्टै देखिने। मनोभिराम दृष्य।
त्यही नै बेला लाटोकोसेरोको आवाजले मनलाई झसङ्गै बनायो। म हस्याँङफस्याँङ गर्दै ढोकामा आएर कान थापेँ। आवाज अपरिचित।
सोधेँ- को ह!
'म श्याम।' उताबाट आवाज आयो।
'को श्याम?'
'म हौ। पल्लो गाउँको श्याम क्या। हार्डवेयर पसलवाला।'
उससँग सामान्य परिचित र जानकार नै थिएँ म। पल्लो गाउँको ऊ, वल्लो गाउँको मेरो श्रीमान। उहाँहरूबीच सानैदेखि को नै चिनजान। एक अर्कालाई नामले नै बोलाउने गरेकोसम्म मलाई थाहा थियो।
'उहाँ त हुनु हुन्न त।' मधुर आवाज सँगै मैले ढोका उघारेँ।
'होइन त्यहाँ पारी गाउँबाट आएको। यसो राजुलाई पनि भेटर जाऊँ न भनेर निस्केको नि भाउजू। तर राजु आज घरमा छैन् भाउजू?'
'बस्नुस न्। के काम थियो त्यस्तो?'
'होइन भेटम् भनेर मात्र हो भाउजू।'
'बाबु सुतिसक्यो भाउजू।'
ऊ औपचारिक हुन खोज्यो।
'सुतिसक्यो। तर निन्द्रा खल्वलियो भने रातभर झगडा गरेर सुत्नै दिँदैन।'
मैले कुरा बनाएर भनेँ।
ढोकैबाट फर्केर गइहाल्लान् भन्ने चाहको साथ।
केही समयको नीरवता।
'भाउजूहरूलाई पनि दुःख छ हगी एक जनाको कमाइले सबैलाई पुर्याउनु पर्छ।' उसले हामीप्रति सहानुभूतिका शब्द खर्चियो।
हो, केही सय मिटर मात्र पर रहेको हाम्रो मूल घरमा मेरा सासू/ससुरा र देवरबाबुप्रति पनि मेरो श्रीमानसँग केही जिम्मेवारी त थियो तर उसले भने जस्तै उहाँहरूको सबै घरखर्च हामीले बेहर्नु पर्दैन थियो।
मनमनै सोचे सायद ऊ सहानुभूतिको शब्द वर्षाएर मेरो मन जित्न र आफूप्रति आकर्षित गर्न चाहन्छ।
'अँ... छैन। छैन त।' मेरो मुखबाट अनायसै शब्द निस्कियो।
'होइन राजु मेरो पसलमा आइरहन्छ। हामीबीच कुरा पनि भइरहेको हुन्छ। भाउजूले छैन भने पनि म कहाँ पत्याउँछु र!'
हो मेरो श्रीमान उसको पसलमा पक्कै जाने गर्नु भएको होला। तर उहाँ त्यसरी घरको कुरा बाहिर गएर गर्ने खालको मानिस कदापी होइन। उहाँ कर्मठ, लगनशील र मेहनतमा विश्वास गर्ने मान्छे।
फेरि उसले नै भने जस्तो दुःख पनि कहाँ छ र हामीलाई। कामको भ्याइनभ्याई हुने। दैनिक ज्यालादारीले नै हाम्रो घर खर्च मज्जाले टरिनै रहेको छ।
हो उसको जस्तै हामीसँग गाडी छैन होला। तर एउटा सानो घर, साँझ बिहान हात मुख जोड्न र चाडपर्वमा राम्रो लाउन, मीठो /मसिनो खान कहाँ अपुग छ र हामीलाई!
'भाउजू कहिलेकाहीँ गाह्रो साह्रो भयो भने सम्झनु होला है' भन्दै उसले बिदाइको हात हल्यायो। सायद मैले उसलाई कम महत्व दिइरहेको कुरा उसले बुझ्यो कि!
म कुनै प्रतिक्रिया नजनाई उभिइरहेँ।
ऊ आफ्नो बाटो लाग्यो। हत्त त पत्त ढोका लागाए र ओछ्यानबाटै झ्यालबाट बाटोतिर नियालेँ ऊ त्यही पर बाटोमा रोकिराखेको सेतो गाडीमा चढ्यो र हुँइकियो।
मसँग सामान्य चिनजान मात्र भएको मान्छे। एक्कासि श्रीमान पनि नभएको मौकामा त्यो पनि रातमा घरमा आउनु र यसरी सहयोगको प्रस्ताव गर्नु मेरो लागि सामान्य विषय थिएन।
रातभर निन्द्रा लागेन। मनमनै कल्पिरहे आखिर किन ऊ आयो र त्यस प्रकारको प्रस्ताव राख्यो त! के हामीप्रति उसलाई दया भाव जागेकै हो? वा अरू नै केही उसको निहीत स्वार्थ छ?
मैले श्रीमान आएपछि सबै घटनाक्रम बेली बिस्तार लगाएँ।
हो ऊ त्यही श्याम हो जसको नजिकैको बजारमा चलेको र ठूलो हार्डवेयर पसल छ र हाम्रो घर भन्दा माथिल्लो गाँउमा पुस्तैनी घरखेत समेत रहेको छ। मेरो श्रीमान र ऊ बालकदेखिकै साथी।
भलै आज ऊ सहरमा घर, गाडी समेत जोड्न सफल भएर नै समाजको गन्यमान्य मानिसको रूपमा चिनिएको छ। मलाई लाग्छ ऊ राजनीतिक दलको जिम्मेवार नेता समेत हो।
तर एक्कासि रातको समयमा त्यो पनि एक्लै भएको मौका छोपेर ऊ मेरो घर किन आयो त? मनमा खुल्दुली धेरैपछि सम्म पनि चलिरह्यो।
निम्न मध्यम वर्गीय परिवारमा जन्मे हुर्केको म। गाउँकै विद्यालयमा अध्ययन गरियो। नजिकैको कलेजबाट बि.ए. सम्म पढ्ने अवसर पनि पाएँ।
कलेजमा पढ्दा ताका नै हो राजुसँग मेरो भेट भएको। मभन्दा एक ब्याच सिनियर। मितभाषी, मिलनसार र हँसिलो।
सामान्य प्यान्ट/सर्ट र चप्पलमात्र लगाएको थियो त्यसदिन उसले। पहिलो भेटमै म उसप्रति आकर्षित भएको थिएँ।
कलेजमै हामीबीच गहिरो प्रेम अंकुरण भइसकेको थियो। वर्षौंको प्रेमपछि हामीले प्रेमलाई विवाहमा परिणत गरेका थियौं। सँगै बाँच्ने सँगै मर्ने बाचा कसमका साथ। भगवानलाई साक्षी राखेर।
आर्थिक अवस्था कमजोर भएको र आफूखुसी विवाह गरेको कारणले नै मेरो माइती पक्षसँग आजसम्म पनि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन, छैन।
जन्मघरदेखि टाढा यस गाउँमा म उसैको अथाह र निश्चल प्रेममा आजसम्म कसैको कमी महसुस नगरी हाँसी खुसी साथ बाँचिरहेको छु। समाजमै अनुकरणीय र आदर्श जोडीका रूपमा कहलिएका थियौं हामी।
मैले विवाहपछि नै हो उसको पारिवारिक पृष्ठभूमिबारे थाहा पाएको। ऊ सामान्य परिवारको मान्छे। गाउँघरमा ज्याल मजदुरी गरेर जीवन निर्वाह गरिरहेको परिवार। त्यसैले ऊ पनि यति मेहनती थियो कि विदेश जानुपर्ने अवस्था नै आएन। स्वदेशमा नै भ्याइनभ्याई काम।
सायद नेपालमै केही गर्ने सोचेर राजुले डकर्मी (मेसन) को तालिम लिएको थियो। आफ्नो काममा निपुण। आज ऊ आत्मनिर्भर र आर्थिक रूपमा पनि सक्षम भएको छ। साथै परिवारको लालनपालन गर्न। महिनामा खान लाउन पुगेर पनि केही हजार बचत गर्न कुनै समस्या छैन। र त परिवार नै साथ सँगै हाँसीखुसी साथ आफ्नै देशमा एउटै छानामुनि बसिरहेका छौं।
उसकै मेहनत र कडा परिश्रमकै कारण हामीले गाउँमै सानो घर बनाउन सफल भयौं। गाउँ पनि के भन्नु घर छेउबाट नै सहरसम्म पुग्ने पिच सडक, बिजुली र पानीको धारा, इन्टरनेट सबै उपलब्ध छ। कुनै सहरभन्दा कम छैन। बरू न कुनै प्रदूषण न कोलाहल शान्त र हरियालीपूर्ण वातावरण। चारैतिर खेत पातलो बस्ती।
सानै सही यो घर हाम्रा लागि महलभन्दा कम थिएन।
तामाको मुनाझैं चार वर्षीय छोरा। हाम्रो परिवार चलिरहेको थियो।
पेशाको कारणले पनि हुनुपर्छ मेरो श्रीमानको श्यामको पसलमा बाक्लै आउजाउ भएको। त्यस रात मेरो श्रीमान बाहिर गएको भेउ पाएर नै हुनुपर्छ। ऊ हाम्रो घरमा आएको। मैले लख काटेँ।
तर अब त ऊ रातमा होइन कि श्रीमान नभएको मौकामा दिउँसै पनि मेरो घरमा विभिन्न बहानामा आउन थालिसकेको थियो।
मेरो श्रीमान कुन दिन कहाँ कसको साइटमा काम गरिरहनु भएको छ उसलाई जानकारी हुने रहेछ क्यारे र त श्रीमान नभएको मौका पारेर ऊ मेरो घरमा आउने र मेरो बखान गर्ने र सहयोगको ढोँग पिट्ने कार्य रोकिएकै थिएन।
जुन कुरा म लगायत मेरो श्रीमानलाई पटक्कै चित्त बुझेको थिएन।
तर हामीभन्दा सम्पन्न, गन्यमान्य र जिम्मेवार नेताका रूपमा गाउँघरतिर चिनिएको उसलाई सम्झाउने हामीहरूसँग कुनै शब्दहरू नै थिएन। हामी उपयुक्त समयको पर्खाइमा थियौं।
एउटा जुक्ति लगाउने निधो गर्यौं।
त्यस दिन पनि मेरो श्रीमान नभएको अलिक परको साइटमा काम गर्न गएको मौका छोपेर ऊ हाम्रो सुन्दर घर छिरेको थियो।
उसलाई मेरो श्रीमान नआउन्जेल अल्मलाउनु थियो। त्यसैले चिया बनाउँछु है भनेर म चिया बनाउनको लागि किचनतिर गएँ।
पूर्वनिर्धारित योजना अनुसार नै मेरो श्रीमान घरामा आउनु भयो। एक्कासि मेरो श्रीमानलाई देखेर ऊ अवाक् भयो।
मैले चिया उसको छेउमा लगेर राखिदिइसकेको थिएँ। उसले थाहा पायो पाएन।
'ए राजु तिमी! आज कृष्णको साइटमा काम गर्न गएको होइन?'
'हो त! आज अलिक सन्चो नभएर छिट्टै आएको नि।'
'तपाईं पनि यहीँ हुनुहुँदो रहेछ। हेर्नुस् न कस्तो संजोग जुर्यो तपाईंलाई नै भेट्नु पर्ने थियो।'
'किन र राजु?'
उहाँले योजना अनुसार नै आफ्नो कुरा बेलिविस्तार लगाउनुभयो।
तर उहाँले आफ्नो कुरा सिध्याउन नपाउँदै उसले एकोहोरो फलाक्न थाल्यो।
'हेर न राजु तिमीलाई थाहै छ हिजो आज व्यापार व्यवसाय चौपट छ। पटक्कै चलेको छैन। बाँकी लगेकाहरू पनि फर्केर आउने होइनन्। बैंकको साँवा र व्याज तिर्न र घर खर्च टार्न नै मुश्किल छ। कहाँबाट मसँग त्यत्रो पैसा हुनु र राजु भए त म तिमीलाई सहयोग गरिहाल्थेँ नि।'
निमेष भरमा आफ्नो कुरा राख्यो।
छेउमै राखेको चिया पनि त्यतिकै छाडेर ऊ बाटो लाग्यो।
अलिक पर मूल बाटोमा रोकिराखेको उही सेतो गाडीमा चढेर बेपत्तासँग हुइँकियो।
हो, त्यसदिनदेखि नै उसको अनुहार मैलै देख्या छैन र त्यसै दिनबाट नै ती हितैषी छिमेकी, श्रीमानको बालसखा, साहु र स्थानीय नेताको हाम्रो घर आउने बाटो बन्द भएको छ।
हाम्रो सानो र सुन्दर संसारमा मडारिएको कालो बादल सदाको लागि हटेको छ।