पैँयुको रुखमा घाम नपर्दै
उडेको बचेरो
झ्याउकिरी कराउने बेलासम्म
गुँडमा फर्केन
अब कुन हावालाई सोध्ने
ऊ कहाँ छ?
कुन हावामा उड्दै छ?
बाआमा हुनु त सुर्ताको
भकारीमा थन्किनु रहेछ प्यारी
चखेवा भन्छ-
भो लगाइदे आग्लो
अब ऊ आउँदैन होला
तेरो मायाको पोको
अर्कै कुनै संसारमा आफ्नो गुँड बनाउँदै होला
भो अब पीर नगर् प्यारी
अब ऊ आउँदैन
न शिशिरको हावासितै उडेर आउँछ
न बर्खाको झरीसँगै मिसिएर आउँछ
सन्तान भनेका त बगेका खोलाजस्तै हुँदा रहेछन् प्यारी
आफू रसाएको मूल सम्झेर कहिल्यै नफर्किने
चखेवा भन्छ-
अब टुकी निभाइदे, ऊ आउँदैन
आउने भनेको उसको याद मात्र हो
बरु आउला काल एक/दुई वसन्त पछि
चेखवा भन्छ-
अब आग्लो लगाइदे प्यारी
काल नआएसम्म हामीले निदाएको नाटक गर्नुपर्छ।