जिन्दगी सपना र निराशाको परिधी रहेछ। हरेक कालखण्डमा सपना चलमलाउँछन् अनि विपनामा परिणत हुन नपाइ आँखा खोल्ने बित्तिकै निराशाले समातिदिन्छ। हो, यस्तै छ मेरो जिन्दगी पनि। म केही गर्न खोज्छु। आफ्नो लक्ष्य र भविष्य निर्माणमा हर बखत तत्पर भइरहेँ तर खै भाग्यले भनौँ या मेरो परिस्थितिले, सानोतिनो बाहेक सफलाता प्राप्त गर्न सकेको छैन।
हरेक बिहान चुलोमा बसेर चिया खाँदै र साँझ खाना खाएर चुलोमा बसी आगो ताप्दै मेरा बाआमा चिन्ता गरिरहन्छन्। जिन्दगाीभर भिरपाखा गरी ढुंगा फोरी अरुको काम गरेर छोराको भविष्यको लागि सधैँ संघर्ष गरिरहेको त्यो शरीरले मात्र आँगनमा बसेर छोराको खुसी र भविष्य हेरिरहेको थियो। त्यो शरीर अहिले शरीर थिएन, मात्र मलाई सम्झेर बसेको सास थियो।
सधैँ मेरो खुसीको लागि आफू पीडामा रहने मेरा बाआमाको म हरेक इच्छा पूरा गर्न सकिरहेको थिएन। आँगनको डिलमा बसेर मेरो दौँतरी, छरछीमेकीलाई भन्ने गर्छन्- छोराको बिहे गर्न पाए हुने थियो। कुरा किन नगरुन् त, मसँगका साथीभाइहरूले बिहे गरी छोराछोरीका बाउ बनिसकेका थिए। गाउँबाट अलि टाढा बजारमा म सानोतिनो जागिर गर्थेँ। मेरा बाआमाको खुसी र आत्मसन्तुष्टि पूरा गरेको थिएँ।
जिन्दगीभर ढुंगामाटोसँग खेलेर साहु को ऋण काडेर नजिकैको स्कुलमा उच्च शिक्षासम्म पढाए। छोराको भविष्य बनाउन बाउको संघर्षलाई मैले साथ दिन भए पनि समाजमा उहाँको शिर उच्च राख्नकै लागि संघर्ष गर्दै थिएँ। बाआमाको त्यो एउटै प्रश्न रहन्थ्यो सधैँ- पढाएर त्यहाँसम्म पुर्यायौँ, जागिर नि छ, हाम्रो पनि उमेर ढल्कँदै छ, किन बिहे गदैनस्?
त्यो प्रश्न मलाई मात्र नभएर मेरा दौँतरी साथीभाइ सबै तिर हुन्थ्यो। अरुले पनि बेलाबखत सुनाइरहन्थे।
मैले बिहे गर्न नचाहेको होइन, मेरो बाआमाको अहिलेको खुसी सधैँ यही अवस्थामा राख्न सक्नेको खोजीमा थिएँ। समाज अहिले झुटा र गफको पछाडि दौडिरहेको छ। मान्छेलाई इज्जत, इमान र खुसीभन्दा नि झुटा आश्वासन र धन सम्पत्तिले बिगारेको छ।
बाआमाको खुसीका लागि जीवनसाथी खोज्नु छ। एकदिन कटाउने हो र, जिन्दगी कटाउनु छ। मात्र आफ्नो परिवारको खुसी नभेटेको हो। प्रश्न आउने गर्थे- किन नपाउने? कस्तो चाहिने हो र? केटी हो नि जति पनि पाइन्छ, जस्तो खोजे नि काम गरेर खाने हो।
यस्तै तमाम प्रश्नको उत्तर दिनभन्दा म मौन बसिरहन्थेँ। कुरा बिहे र केटीको मात्र होइन, यहाँ समाजमा जिउन धेरै संघर्ष गर्नुपर्छ। समाजमा अनेक स्वभावका मान्छेहरू बस्छन्। सबैलाई चिन्न र बुझ्न सक्नुपर्छ अनि मात्र उसको विवेक र क्षमताको मूल्याकंन हुन्छ। मान्छे एउटै समाजमा बसेर, एउटै काम गरेर पनि हरेक कुरामा फरक हुन्छ। मान्छेको पहिलो शिक्षा नै परिवार हो। लवाइ, खवाइ, बोली, भाषा, काम गर्ने तरिका घर परिवार र समाजप्रतिको दृष्टिकोण नै उसको चिनारी हुन्छ। म बाआमालाई यही भन्थेँ- म तपाईंलाई बुहारी मात्र होइन, छोरीको खोजीमा छु जो तपाईंहरू र मेरो समाजलाई बुझोस्।
मसँग के नै थियो र, दुःख गरेर बाआमाले दिएको शिक्षा र अहिलेसम्म कमाएर राखेको थोरै इमान बाहेक सम्पतिको नाममा गाउँमा बाको त्यही कमाइ खाने भिरपाखो। समाजमा प्रतिशोधको भावना चल्छ। अलिकति हुनेखाने भइयो भने एकअर्कोलाई गन्नै छोड्छन्। आज मसँग छ, मेरो पछि दौडिन्छन्। भोलि अर्कोसँग हुन्छ, उतै दौडिन्छन्। मौन बस्ने मन लाग्छ यस्तै प्रवृत्तिले मलाई।
मेरो लागि बा, आमा र आफन्तबाट कैयौँ प्रस्तावहरू आइरहन्थे। मेरो महिलो प्रश्न हुन्थ्यो- परिवार र समाजको व्यवहारप्रति, प्रायः सबै फेल हुन्थे। अहिलेको परिवेश सहरिया भएको छ। मान्छेलाई खान नभए नि उसलाई तराईमा जमिन हुन जरुरी छ।
मलाई सबैले गर्ने प्रश्न- जागिर छ, यतिका वर्षसम्म ठाउँमा बसेको छस्, हाकिम भइसकिस्, केटीको त लाइन होला नि।
ठिकै हुँदो हो प्रश्न पनि, बाहिरी चित्रण ठिकै थियो। सानोतिनो आफ्नो व्यवस्था गरेकै थिएँ। म कुनै व्यक्ति र समाजको नजरमा नराम्रो पनि थिइनँ। अनि छैन भन्दा कसले पत्याउँथे र?
म हरबखत सोचिरहन्थेँ, बुढेसकालमा आँगनको डिलमा बसेर मेरो बारेमा सोचेर बसेका मेरा बाआमाको खुसीका लागि कति गर्न सक्छु? मलाई अरु केही चाहिँदैन, साँझ बिहान एक छाक खान अरुसँग हात थाप्न नपरोस्। बेलाबेला घरमा गएर बाहिर दुनियाँले जे भने नि बाआमालाई सम्झाएर खुसी बनाइरहन्थेँ। छोराको बानी व्यवहार थाहा भएर खुसी भएर बसेका थिए।
जिन्दगीको उतार चडावमा समय बित्दै थियो। मैले हुन्छ भन्छु भन्ने सम्मकी एउटी भेटिएकी थिई। विस्तारै कुरा हुँदै गयो। म आफ्नै काममा बिजी, भनेको बेला सबैलाई समय कहाँ दिन सकिन्थ्यो र! खै कहाँनिर के मिलेन, त्यो हुन्छ भन्ने शब्दमा पनि पूर्णबिराम लगाउन नसकिने भयो। आफ्नै बाटोमा हरायौँ।
म घुम्न भनेपछि हुरुक्कै हुने मान्छे, थोरै बिदामा मेलापर्व, साथीहरूसँग यात्रा चलिरहन्थ्यो। जिन्दगी जसोतसो दुःख पीडा यस्तै-यस्तै चल्दै थियो। घर तिरको अवस्था पनि माथि-माथि चढ्दै थियो। मनमा डर र चिन्ता खेलिरहन्थे। बाआमाको यादले जब-जब घर पुग्थेँ, मनमा पहिरो जान्थ्यो। घरमा फोनबाटै आराम बिराम हुन्थ्यो र विशेष बेला पुग्थे।
बिहेको हल्ला डढेलो झैँ फैलिरहेको थियो सबैतिर। घरमा बाआमाको मनमा निराशा र छोराको बिहेको लागि कसिसकेका थिए। यो हिउद त कटाउनु हुन्न भनेर लागिरहेका थिए। म आफ्नै सुरमा हुन्थेँ। बिदामा घर पुग्दा अब त गाउँमा मुख देखाउनु हुन्थेन। अन्तिम अवस्थामा थियो बिहेको दबाब।
आँगनको डिलमा बसेर बाआमाको पिरलाई कति दिनसम्म लम्बाउने भनेर म पनि बाध्यतामा परिसकेको थिएँ, बाआमाको प्रतीक्षाको घडी निराशा र चिन्ताले अब बिश्राम लिने बेला आउने भयो। उता बाको स्वास्थ्य पनि झन्-झन् बल्झिँदै थियो। बाले वर्ष सुरु हुने बेला नै भन्न सुरु गरिसकेका थिए, म अब छोराको बिहे पर्खिरहेको छु।
मान्छे अन्तिम अवस्थामा सबै कुरा थाहा पाउने रहेछन्। बाले भने जसरी स्वास्थ्यले साथ दिन छोडिसकेको थियो। सास बाँकी थियो त छोराको शुभकार्यसम्म। त्यस्तै रहेछ नियति पनि, कस्तो मान्छे एक्लो हुन्छ, कसैको साथ र खुसी खोज्छ! जब साथ पाइयो तब आफ्नो बाटो रोज्नु पर्ने रहेछ।
घरमा खुसी बढ्यो, आफन्त इष्टमित्र छरछिमेकीमा हल्ला चलिरहेको थियो। आँगनको डिलमा बसेर बाले छोराको चिन्ता लिनु पर्ने समय समाप्त हुने भयो। एउटा यस्तो सम्बन्ध भित्रियो जो प्रेम, सद्भाव र विश्वासले परिपूरक थियो। बाआमाको खुसी र आफ्नो भविष्यलाई बुझेर सम्बन्धमा परिणत गर्यौं।
घरमा नयाँ सदस्यसँगै खुसी र हर्ष पनि आयो। सबै कुरा राम्ररी सुसम्पन्न भयो। यता बालाई भित्रभित्रै मुटु पोलिरहेको थियो। घर-परिवारको जिम्मेवारीबाट मुक्ती पाएँ तर उनीहरूको खुसी र आफ्नो बुढेसकालको आराम नपाउने भएँ भनेर मन भकानिँदो हो। बाले निराशाको गाँठो पारिसकेका थिए। भन्न सुरु गरी सकेका थिए अर्ति उपदेश सबैलाई।
आफ्नो अन्तिम अवस्थामा बाको स्वास्थ्य यतिसम्म गुज्रिसकेको थियो कि छोराबुहारीको बिहेको साइतको टीका लगाउन पनि नसक्ने हुनु भएको थियो। ओछ्यानमै बोलाएर आर्शीवाद दिनुभयो। त्यो आशीर्वादको शब्द नै मेरो हर बखत सम्झना बनेको छ। खै कसरी सम्झिनु त्यो क्षण, त्यत्रो वर्ष छोराको खुसीका लागि भिरपाखा बेचेर ढुंगा फोरेर खर्चेका बाले छोराको खुसी भित्रिने बेला आफूले आराम पाउनु भएन।
सायद भाग्यको खेल यस्तै रहेछ, मेरा बालाई पनि भाग्यले जिन्दगीभरि ठगिरह्यो। छोराको भविष्यको चिन्ता त बाको टाउकोबाट हट्यो तर आफ्नो चिन्ताको बाटो तय गर्नुभयो। छोराको रमाइलो बिहेभोजमा त राम्रोसँग उभिन नसक्ने मेरा बाले कसरी जीवनको आश मानून्, आश त केबल छोराको शुभकार्यसम्म मात्र रहेछ।
जीवनभरि घर परिवारका लागि संघर्ष गरिरहेका बाले सधैँ सकरात्मक सोच र सत्यको बाटोमा हिँडिरहे। जो कोहीलाई साँचो सम्बन्ध र आफ्नो जानेको ज्ञान दिन्थे। जीवनको अन्त्यमा छोरा र परिवारलाई दिएको ज्ञान पनि यही थियो। यस्तै-यस्तै कुराले म बाको अगाडि बस्न नसक्ने भएको थिएँ। उहाँको अन्तिम अवस्थामा मन थामिनसक्नु हुन्थ्यो। सधैँ खुसी र बाले दिएको स्वतन्त्रतामा बाँचेको म त्यस्तो अवस्थामा कसरी मन थाम्न सक्थेँ र! असह्य भएर यताउती रन्थनिन्थेँ।
एक मनले भन्थ्यो, बाको नजिक जाउँ। अर्कोतिर नजिक पुग्नेबित्तिकै मुटु कमाएर आँसु मात्र बगाउन छोड्थ्यो। यही पीडाले सबै परिवारलाई दुखाएको थियो। बालाई झन्-झन् च्यापिरहेको थियो। खुसीको दिन त बाले जसोतसो पीडा लुकाएर कटाए, पछि भने असह्य भएर थला पर्नुभयो। महाप्रस्थान गर्नुभन्दा पहिलेको एक महिना बालाई यति कष्टकर भयो, म सम्झन पनि सक्दिनँ। यति पीडा यति नै जीवन जिउन सघंर्ष गर्नुपर्ने रहेछ। त्यो क्षण देखेर म टोलाइरहन्थेँ। आफैँ भित्री पीडा लुकाएर बाहिरी मुस्कानमा दौडिरहन्थेँ। खाना छुटिसकेको थियो, मात्र पानी र बाको थकानको सारथी एक घुट चिया त्यो पनि आमाको जबरजस्तीलाई नकार्न नसकेर सकी नसकी आँ गर्नु हुन्थ्यो।
बाको यति प्यारो छोरा, यति प्यारो परिवार, छरछिमेकी अब सधैँका लागि छुट्ने निश्चित थियो। कैयौँ दिनदेखि पानीको भरमा सास जोगाइरहेका मेरा बाको मुखबाट आउने एउटै शब्द थियो- खाना खाइहाल्नू, मलाई भेट्न आउनेलाई चिया, फलफूल दिनू।
परिवार, समाज र दुनियाँ छुट्दै थियो। छोराका लागि जे पनि गर्न तयार हुने मेरा बाको प्यारो छोरा अर्को जुनी सँगै हुन पाउँछौँ कि पाउँदैनौँ यही कुरा सम्झिरहन्छु। आफू अन्तिम अवस्थामा हुँदा छोराको काखमा प्राण त्याग्ने मन पनि हुँदो हो तर पनि मलाई केही हुँदैन छोरा भनेर आफ्नो काममा जा भन्नुहुन्थ्यो। सधैँ छोराको खुसीका लागि आफू रोग पालेर बसेका मेरा बाको मनभरि कैयौँ सपना र असह्य पीडाहरू हुँदा हुन्। खै कसरी थाँती राखेर सधैँका लागि महाप्रस्थान हुनुभयो बा!
जीवनको उत्तरार्धमा आखिर चाहिने भनेको श्रीमती र परिवार रहेछ। सकुन्जेल मान्छेले जति दौडधूप, अहमता, परिवार र समाज बहिस्कार गरे पनि अन्तिम समयमा सबै चाहिन्छ। महान् ठान्छु म मेरी आमालाई, आफू सकिनसकी बाको स्वास्थ्यको लागि निरन्तर बाले चाहेको पुर्याइरहिन्। बाको स्वास्थ्य र विचारको कदर गरिरहन अन्तिम सास रहुन्जेल मनपर्ने कुराहरू खोजिखोजी पुर्याइन्। खेतीपाती गाईवस्तु पालेर भए नि जस्तोसुकै बेलामा बाको केयर गर्ने समयमा तुरुन्त हाजिर हुनुभयो।
यही कर्मले बा र मेरा पित्रीले मेरी आमालाई पनि खुसी जिन्दगी जिउने बाटो दिनेछन्। अरु त के नै गर्न सकिएला र, सधैँ बाले सिकाएको सत्कर्म र सकरात्मक बाटोमा जिउने प्रयत्न गर्नेछु। आशीर्वाद हुनेछ मेरा बाको।