'छोरा, आज त तिम्रो रिजल्ट आउने दिन। तिमीलाई के खान मन लागेको छ भन त, म त्यही बनाउँछु।'
'जे भए पनि बनाउनुस् न मामु। मलाई यहाँ टेन्सन भइसक्यो,' आरभले झर्किँदै जवाफ दियो।
आज आरभको एसइईको रिजल्ट आउने दिन भएकाले घरको माहोल छुट्टै थियो।
'किन टेन्सन लिनुपर्यो? तिमीले एक्जाम राम्रो गरेको छौ। ए+ आइहाल्छ नि राम्रो गरेपछि! आफूमा विश्वास राख,' उसकी आमाले सम्झाउँदै भनिन्।
तर आरभलाई भने एकदम धेरै डर लागिरहेको थियो। 'ए+ आएन भने के गर्ने? मामु बाबालाई आफ्नो अनुहार कसरी देखाउने? ए+ आयो भने पनि कुन विषय पढ्ने?' यी सबै प्रश्नहरूले आरभलाई बारम्बार प्रहार गरिरहेको थियो।
प्रतीक्षाको फल मिठो हुन्छ भने झैं आरभको एसइईमा ए+ आयो। आरभभन्दा खुसी उनका आमा बुवा थिए। आरभले ए+ ल्याएको उपलक्ष्यमा उनका बुवाले नयाँ फोन गिफ्ट दिए। आरभ पनि एकदमै खुसी भएको थियो।
आफ्नो छोराको ए+ आएको खबर सारा आफन्तहरू समक्ष सम्प्रेषण भइसकेको थियो। यो सबै माहोल देखेर आरभलाई आफूले जीवनमा सबैभन्दा ठूलो उपलब्धी हासिल गरे झैँ लागिरहेको थियो।
रिजल्ट आइसकेपछि अब के पढ्ने भन्ने कुरामा चर्चा हुन थाल्यो।
'मेरो छोराले अब साइन्स पढेर इन्जिनियर हुन्छ,' आरभका बुवाले प्रस्ताव राखे। आरभकी आमाले पनि होमा हो मिलाइन्। अरु आफन्तहरूले पनि साइन्स पढ्ने सल्लाह दिए।
सबैजनाले त्यही सल्लाह दिएपछि आरभलाई पनि साइन्स नै पढ्नु पर्ने रहेछ झैँ लाग्यो र सबैले राखेको प्रस्ताव सहजै स्विकार्यो।
आरभको एड्मिसन धेरै नाम चलेको ठूलो कलेजमा भयो। नयाँ कलेज, नयाँ साथीहरू र भिन्न वातावरणमा पुग्दा आरभ खुसी देखिन्थ्यो। आरभको ११ कक्षाको पढाइ पनि सुरु भयो।
समय बित्दै जाँदा आरभलाई फिजिक्स र केमेस्ट्री गाह्रो लाग्दै जान थाल्यो। उसले बल गरेर पास मार्क्स मात्र ल्याउँदा बुवा आमाले गाली गर्थे। एसइईमा त्यस्तो राम्रो गरेको र अहिले लापरवाही गरेर पढाइमा राम्रोसँग ध्यान नदिएको भन्दै दबाब दिने गर्थे। आरभलाई यो सबै परिस्थितिले गर्दा एकदम नराम्रो महसुस हुन्थ्यो।
आरभले ट्युसन पढेर बल्ल तल्ल ११ र १२ पास गर्यो। एसइई मा ए+ ल्याएर खुसी भएको ऊ १२ मा जनतन पास भएपछि धेरै निराश भयो। उसका बुवाआमा पनि खुसी थिएनन्। आफ्ना आफन्तहरूको सामु मुख देखाउन पनि नसकेको र यसको कारण आरभ भएको भन्दै उनीहरू बारम्बार आरभलाई दोषी ठाहराउँथे।
अलिकति भएको इज्जत अब आरभले इन्जिनियरिङ कलेज गएर जोगाउँछ भन्दै उसलाई इन्जिनियरिङ कलेजमा भर्ना गरिदिए। आरभले पनि आफूले गर्दा आमाबुवा दुःखी भएको कुरा स्विकार्दै आफूलाई पढ्न मन नलागेको विषय पढ्न राजी भयो।
तर आरभलाई इन्जिनियरिङले पनि साथ दिएन। उसले पढाएको केही बुझ्दैन थियो, न त आफैँ पढ्न सक्थ्यो। यता आमाबुवाले भने जसरी पनि इन्जिनियरिङको सर्टिफिकेट चाहिन्छ भनेर बारम्बार आदेश दिने गर्थे।
अन्त्यमा आरभले ब्याचलर पनि कटायो। उसले धेरै सङ्घर्ष गर्नुपर्यो। उसले धेरै दबाबमा आफ्नो पढाइ सकेको थियो। तर पढाइ सकाएर मात्र पुग्दैन। अब आरम्भको पालो थियो आफ्नो खुट्टामा आफैँ उभिने। यो बाटो उसको लागि धेरै नै कठिन थियो।
उसले आफूसँगै स्कुलबाट पढ्दै आएका साथीहरूलाई हेर्यो। उनीहरू सबै केही न केही सीप सिकेर त्यो सीपलाई राम्रोसँग उपयोग गरिरहेका थिए। त्यही सीपका कारण उनीहरूले आफूले आफूलाई चिनाउन सक्थे।
आरभसँग भने केही सीप थिएन। उसलाई इन्जिनियरिङ त आफ्नो आमाबुवाको निम्ति सर्टिफिकेट पाउनका लागि मात्र पढिदिएको रहेछु भन्ने कुराको भान भयो। त्यही सर्टिफिकेटले आफ्नो आमा बुवाको इज्जत त जोगियो तर आरम्भको जिन्दगी भने बर्बाद भयो। उसले अब सबै कुरा फेरि सुरुदेखि गर्नुपर्ने अवस्था आयो।
यो क्षणमा आरभ नराम्रोसँग पछारिएको थियो। ऊसँग उपलब्धिको नाममा त्यही एसइईमा ल्याएको ए+ को सर्टिफिकेट मात्र थियो, जसको अब केही मोल थिएन।