'ल बधाई छ भान्जा, ए ग्रेड आएछ तिम्रो' मामाले मैलेभन्दा पहिले मेरो एसइईको रिजल्ट थाहा पाउनु भएछ। हुन त म सात/आठ कक्षासम्म खासै पढाइमा अब्बल भने थिइनँ तर कक्षा ९ मा आएपछि भने अलिक मेहनत गरेर पढेँ। गाउँको सरकारी विद्यालयबाट 'ए' लेराउने हामी दुई जना मात्र थियौँ।
'ल अब भान्जालाई यतै काठमाडौं लेराइदिनू, विज्ञान पढाउनु पर्छ,' मामाले मेरो बाबालाई भन्नुभयो।
फलस्वरूप प्लस-टुमा विज्ञान संकायमा भर्ना हुन पुगियो। राम्रो नम्बर ल्याएर १२ पास पनि गरेँ।
मेरा साथीहरू धमाधम अस्ट्रेलिया, जापान जस्ता देश जाने तयारी गर्दै थिए भने म र मेरा २/३ जना अलि राम्रो नम्बर ल्याउने साथीहरू इन्जिनियर बन्ने सपना पूरा गर्न प्रवेश परीक्षाको तयारीमा लाग्यौँ। केटाहरू विदेश जाउन्, हामी त इन्जिनियर बनेर पैसा छाप्ने हो भन्दै तीन महिना कडा परिश्रम गरियो र नाम पनि निस्कियो। त्यसपछि त के चाहियो र, गाउँभरि हल्ला।
मेरो टोलमा यसरी नाम निकालेर इन्जिनियर पढ्ने सायद पहिलो नै मै थिएँ। भर्खर प्रवेश परीक्षामा नाम निकालेर गाउँ जाँदा त गाउँलेहरूले मलाई इन्जिनियर साब नै भनिदिए। यसले मलाई झन् पढ्नेतर्फ उन्मुख गरायो। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसमा भर्ना भएँ।
उता विदेशको तयारी गर्ने साथीहरू धमाधम एयरपोर्टको टर्मिनलमा बसेर 'बाई बाई नेपाल' भन्दै सामाजिक सञ्जाल तताउने क्रम पनि रफ्तारमा चलिरहेको थियो। एकपछि अर्को गर्दै साथीहरूको विदेश जाने होडबाजी चलिरहँदा म भने एक वर्षमा १३ वटा विषयको परीक्षा दिँदै थिएँ।
६ महिनाको सेमेस्टरमा एक महिना यत्तिकै जाने, तीन महिना पढाइ अनि दुई महिना परीक्षाको लागि अन्डरग्राउन्ड। अरु काम गर्ने कुरै भएन। खान र नित्यकर्म बाहेक अरु समयमा कोठामै बित्थ्यो, त्यो परीक्षाको दुई महिना चाहिँ।
परीक्षाको अन्तिम दिन दारी, कपाल काट्न जाँदा ऐना हेर्यो ढाड पूरै कुप्रो परेको जस्तो देखिने तर पनि परीक्षा राम्रो भएको सम्झिँदा ढाडको मतलब नलाग्ने।
म दोस्रो वर्षको अध्यान गर्दै गर्दा मेरा विदेशिएको एक साथीले भिडिओ कल गर्यो। अस्तिभर्खरसम्म अङ्गालो हाल्दै हिँडेको, क्यान्टिनमा जुठो खाएको साथीको फोन उठाउन मलाई एकदमै गाह्रो अनुभव भयो। हात नै कामिदियो एकछिन त छ्या! फोन उठाएर सुरुमा के भन्ने जस्तो लाग्यो। केटो त हेर्दै गोरो, आकर्षक, बोल्ने शैली नै फरक।
'के छ यार निराजन, पढाइ कहाँ पुग्यो?'
मेरो उत्तर, 'त्यही त हो नि यार दोस्रो वर्ष।'
यो उत्तर त निकै सजिलो हो तर उत्तर दिन साह्रै गारो भो मलाई। सेमेस्टर शुल्क घरबाट पठाउन लगाउने म र विदेशबाट घरमा खर्च पठाइदिने ऊ।
'ल ल यार अब एक-दुई वर्षमा नेपाल आइन्छ होला, भेट्नु पर्छ है' भन्दै फोन राख्यो
एक-दुइ वर्षमा त मेरो पढाइ नै सक्किएको हुँदैन, साथी भने पैसा कमाएर फर्किने बेला भइसक्यो। १२ पास गरेर विदेश नजानु नै मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती भएको महसुस हुँदै थियो।
'हाम्रो छोराले महिनामा दुई लाख जति पठाउँछ' को अगाडि 'हाम्रो छोरा ब्याचलर पढ्दै छ, फेरि अर्को सेमेस्टरको लागि पैसा जम्मा गर्नुपर्नेछ' कस्तो सुनिन्छ आफैँ मनन् गर्नुहोस् न।
राम्रो पढेर नेपालमै केही गर्छु भन्नु नै मेरो गल्ती भएको हो त? आफैंलाई प्रश्न गर्छु।
म चौथो वर्षमा अध्यन गर्दै गर्दा अस्ट्रेलिया गएको आफूभन्दा एक वर्ष सानो भाइको बिहेको निम्तो आयो। आफ्नो भने पढाइ सकेर कहिले पैसा कमाउने टुङ्गो छैन। खाजा खर्चको लागि अरुको घरमा गएर होम ट्युसन पढाउने गरेको छु, यत्ति हो जिन्दगीमा मैले आफैँ कमाएको।
फलानो साथीले जग्गा किन्यो रे, फलानोले घर बनाउँदै छ रे तर मैले आफूमा गर्व गर्ने भनेको त्यही एउटा पढाइमा मात्रै थियो र मैले घरका सदस्यलाई खुसी बनाउने पनि त्यही 'मैले यो सेमेस्टर पनि पास गरेँ' भनेर फोन गर्दा मात्रै हो।
अरु त अरु, मसँगै इन्जिनियरिङमा भर्ना भएको एउटा साथी समेत बीचमै पढाइ छोडेर विदेश गयो। ढिलै भए पनि क्या बुद्धि पुर्याएको।
मेरो इन्जिनियरिङ सक्कियो, आजकल सर्टिफिकेट झोलामा बोकेर दिनभर कामको खोजीमा डुल्छु। एउटा कम्पनीमा मुस्किलले इन्टर्नशीप पएको थिएँ, महिनाको तीन हजारमा। दुई महिना गरेर छोडेँ। को गर्छ यत्रो पढेर तीन हजारमा काम, बरु विदेश नै गइन्छ।
अहिले मलाई बेरोजगार इन्जिनियर भन्दा हुन्छ। आज पनि दिनभर काम खोज्दै हिँडेँ, पाइएन। अहिले ओच्छ्यानमा पल्टिँदा मनमा फेरि हिजोकै प्रश्न दोहोरियो 'के मेरो पढाइ राम्रो हुनु अभिशाप नै हो त?'