उमेरले भर्खर २३ टेकेको म। जवानीको जोश र परिपक्वताको होस दुवै सम्हाल्नुपर्ने स्थितिको बीचमा थिएँ। यो उमेर न २० भन्दा मुनिको अल्लारे हुने न २५ माथिको जिम्मेवारीको काँध थाप्प्नुपर्ने। एक खालको जीवन बनाउने सोच पनि हुने अनि रङ्गिन सपना देख्ने स्वतन्त्रता पनि पाइने।
१६ पछि २० ताकासम्मको उमेर सम्झेर आउँदा मनमा कताकता काउकुती लाग्ने गर्छ। त्यो सङ्गिन उमेरमा कति चङ्गा बनियो, कतिलाई प्यारको डोरी बानेर चङ्गै जसरी आकाशमा उडाइयो त कति अरुको डोरी बनेर उडियो। ती उमेर सम्झँदा म अहिलेको म नै थिइनँ। किशोरावस्थाका विपरीत लिङ्गीप्रतिको आकर्षण दिमागको घेराबाट उछुट्टिएर कसैको शरीरमै चलमलाउन खोज्थ्यो। कसैलाई सम्झिएरै शिथिल बनिन्थ्यो, कसैको कुनै भागमा छोइएकै भरमा अतृप्त तर तृप्त बनिन्थ्यो।
एउटा बच्चाले ठूला मान्छेको नक्कल तीन/चार वर्षमै गर्न सिक्छ। ठूला मान्छेले बोलेको, हिँडेको, खाएको अनेक अभिनय गर्न जान्छ तर ठूला मान्छेले सांसारिक रीतिलाई चलायमान बनाएको वास्तविक अभिनय त्यही किशोरावस्था नै हुँदो रहेछ।
ती नै १६ देखि २० वर्ष उमेरमा मैले पनि प्रेम गरेँ। कसैसँग वास्तविक जस्तो त कसैसँग बनावटी। जीवनका कृयाहरू तिनैका प्रतिक्रियाका जड न हुन्। एउटा प्रेमले अर्को प्रेमलाई थप सिकाइदिँदो रहेछ। प्रेम त एकपछि अर्को गर्दै जाँदा पो बल्ल प्रेमीहरू यस प्रेमको कलामा परिपूर्ण हुँदा रहेछन्। ती उमेरमा कतिसँग भरिपूर्ण भैयो याद छैन। तर प्रेमलाई प्रेम गर्दै जाँदा ती पुराना गरिएका भनिएका प्रेम, प्रेम नभएर प्रेमी जस्तो बन्न खोजेका अभिनय मात्र रहेछ। सपनाको घर बसाउने, कल्पनाको जीवन सँगै बिताउने यस्ता कसम भनेका बच्चा बेलाका भाडाकुटी खेलजस्तै संवाद रहेछ भन्ने आभास अहिले उमेर बढ्दै जाँदा गरिरहेछु।
कुनै जँड्याहाले रातभर जाँडको नशामा बसेर आफू होसमा छु भन्नु र बिहान वास्तविक होसमा आएपछि बल्ल रातिको बेहोसीको महसुस गरेजस्तै २० पछिका उमेरमा ती अघिका उमेरको बेहोसीबाट ब्युँझिरहेको थिएँ म र त ती बेलाको खुब परिपक्व लाग्ने आफै अहिले आफूलाई बच्चा लागिरहेछ।
२० पछिका उमेरमा भने मैले प्रेम गरिनँ। एक प्रकारले सबै देखेँ, भोगेँ र अब पुग्यो जस्तो भएको थियो। कुनैबेला एक झल्को देख्दैमा आकर्षण लाग्नेहरूमा विस्तारै विकर्षण बढ्दै थियो।
प्रेमसँगै यौन मान्छेले आफै खोज्छ, जसरी अन्य जनावरहरूले जीवनसाथी आफै रोज्छन्। यो स्वभाविक प्रकृया पनि हो। जुन हरेक जगतका हरेक प्राणिलाई जरुरत छ। तर एउटा समयपछि यसभित्रको पनि औचित्य खोजिँदो रहेछ र त सोही दिनको पर्खाइमै म अब प्रेम नगर्ने भनेर उमेरका दिनहरूलाई बिदाइ गरिरहेथेँ। उमेरका जीवनमा अरु थुप्रै प्रारब्धहरू पनि त छन्। भविष्यका लागि वर्तमानमा कति धेरै गृहकार्य छन्। ती बीचमै मनको प्रेमप्रतिको बहाबलाई रोक्न कहाँ सजिलो छ र! तैपनि मैले आजसम्मको मितिमा बाँधेर राखेको थिएँ, नदीलाई ड्याम बनाएर बाँधे जस्तैगरी।
आज यत्रो वर्षपछि मनको प्रेमको बन्धन भत्किएको छ, नदी छछल्किएर बग्न सुरु गरे जस्तै। प्रेम नगर्ने मेरो व्रत तोडिएको छ। मेरो मन आज फेरि चलायमान भएको छ। म प्रेमको विरोधमा आफैलाई थप थुनिएर अझै बस्थेँ होला सायद आजको घटना नघटेको भए। तर जब आज दिउँसो क्याम्पसको गेटबाट कोही साथीहरूको बीचमा मुसुक्क मुस्काउँदै बाहिर निस्किइन् तब एक्कासी वर्षौंदेखि स्थिर मेरो मनको तलाउ बग्न सुरु गरेको छ। ऊ आज मेरा स्मृतिका हरेक दृश्यहरूमा नाचिरहेकी छ।
दिनभर उसैलाई कल्पिएपछि यतिबेला विस्तरामा पल्टिएर मेरो मन र मस्तिष्कको दोसामिसीमा म छु। कोही यति सुन्दर कसरी हुनसक्छ? म उसको केमा पग्लिन खोजेको छु? उसको सुन्दरता? उसको शारीरिक बनावट या मुस्कान स्वरुप प्राप्त भए जस्तो लाग्ने मानसिक मिलन? आज अचानक यो कस्तो प्रेम उजागृत भयो मनमा शारीरिक या मानसिक? के यो प्रेम शारीरिक सम्बन्धतर्फ लालायित छ? छैन कसरी भनौँ? जबकी ऊसँग एक संवाद नबोली, उसका मनका कुरा नबुझी म अचानक ऊप्रति प्रेमिल भएँ। के उसो भए एकै नजरमा माया बस्ने भन्ने किंवदन्ती शरीरकै चाहनाका उपजमा ढाकिएका शब्दहरू हुन्?
(म कोल्टे फेर्छु )
रातो गाला, हाँस्दा थर्थराउने गोरो वर्ण, पुष्ट पुलपुलिएको शरीर। म उसको अझैभित्र जान खोजिरहेछु। प्रेम त रुपले हुँदैन। तथापि रुपको मात्र गरिने वर्णनले पनि त आत्मसन्तुष्टि मिल्दैन। के कसैका आँखा वा केश वा शरीरका कुनै एक विशेष अङ्ग मात्र हेरेर, त्यसैमा मात्र एकोहोरिएर, त्यही अङ्ग मात्र पुजेर जीवन उसैसँग कटाइदिने सपना देख्न सकिन्छ? मलाई उसकै कुनै भाग मात्र होइन पूरै ऊ चाहिएको छ। के म उसलाई देख्नासाथ सदा-सदाको लागि उसको प्रेममा परे? या केही समयको तृप्तताको लागि ऊ चाहिएको हो?
(धड्कन बढेको अनुभव हुन्छ)
आज जब उसलाई देखेँ, देख्नासाथ मन पराएँ। मलाई उसको नाम, ठेगाना, बानी, व्यहोरा केही थाहा छैन। ऊ हाँस्दै गेटबाट निस्कँदै थिई, म उसलाई देख्नासाथ लठ्ठिएँ। मुटु एकोहोरो धड्किरहेछ, मस्तिष्क उसैलाई सम्झिरहेछ। देख्नासाथ मन पराईको तात्पर्यताको व्याख्या कुन रुपबाट गर्न चाहन्छु म? म किन यो अप्ठ्यारोमा छु?
(म उठ्छु र छेउमा रहेको गिलासबाट पानी पिउँछु। फेरि कोल्टिँदै गर्दा सोच्न पुग्छु।)
अचानक यो कस्तो परिवर्तन आयो ममा! यो रातको अन्धकारमा मन त्यही १६ वर्षे मजस्तो भएको छ। यतिबेला म केवल उसलाई स्पर्श गर्न चाहन्छु। त्यो स्पर्शमै शिथिल हुन चाहन्छु। मलाई उसले अंगाल्न पनि पर्दैन। मेरो छेउमै बसेर मलाई छोइरहे पनि पुग्छ। अहिले फेरि किन यति थोरै कुरा चाहिएको ऊबाट? के म डराउँछु ऊ मेरी हुँदिन भनेर? के म स्वीकारोक्तिमा छु उसको शरीरको सेवन गर्न म लायक छैन भनेर? के म उसलाई माथिल्लो दर्जा दिएर आफ्नै उपस्थितिलाई खाडलभित्र पुरिरहेछु?
ऊ मेरो अगाडि आएदेखि मेरो पछाडिबाट गएसम्म निकैबेर हेरिरहेको थिए मैले। हुन त ऊ एक आम नारी नै त हो। अलिकति फरक भनेको ऊ उसका साथीका माझमा केही गोरी वर्णकी थिई। गाला वा उसका जस्तै अन्य अङ्ग त अन्य नारीमा पनि त थिए। खोइ यत्रो वर्षमा मलाई यस्ता चिजहरूले यसरी अड्याएर राखेको त थिएन। के मेरो मनको तलाउ भरिएको थियो? उछुट्टिएर बग्ने कुनै माध्यम खोजेकै बेला ऊ आएकी हो? के म ऊमार्फत बग्न खोजेको हो? खासमा यतिबेला बगेको के हो मेरो विचार? मेरो मन या मेरो शरीर? आज सन्तुष्ट र अटल आत्मा अतृतात्मा कसरी भयो?
(अर्को मन सोच्छ)
के उसले पनि मलाई देखी होला? के उसले पनि मैले ऊप्रति गरेको अनुभव गरी होला? के उसको मन मलाई देख्दा मेरै मन जसरी बहकियो होला? के उसले मैले अहिले उसलाई सोचे जसरी सोचेकी छ होला? सायद उसले मलाई त्यसरी देखिन जसरी म उसले देखोस् भन्ने चाहन्थेँ या त्यसरी नै देखी जसरी मैले उसको साथीहरूलाई देखेको थिएँ।
क्याम्पसको गेटबाट निस्कँदै गर्दा ऊ हातमा केही किताब र पछाडि झोला भिरेर साथीहरूको माझमा हाँस्दै हिँडिरहेकी थिई। म उसको नजिक पुगेपछि एउटा हातले अलिकति आँखा अगाडि झरेको केश मिलाउँदै मलाई छड्के परेर हेरिरहेकी थिई। केही टुक्रा पल हाम्रा आँखा एकअर्कामा विलीन भए। ऊ उसरी नै हाँस्दै गइ, म भने पछाडि फर्किएर उसैलाई हेरिरहेँ। त्यही आखाँको बाटो हुँदै उसको सम्पूर्ण शरीर मेरो मनभित्र छिर्यो र कैद भयो अनि मनै मनमा म ऊसँग सम्पूर्ण पोखिएँ। के यो पोखिने सिलसिला नितान्त एक्लो छ या ऊ पनि मसँग केही चाहन्छे?
एक्लो यो मेरो खाटमा अहिले उसैलाई महसुस गरिरहेको छु। फिल्टर बिनाको उसको मुहार कसैले फिल्टर लगाएर बनाइदिए जस्तो देखिन्थ्यो। ऊ विस्तारै मेरो समीप आउँदै थिई। मेरा चञ्चल ओठलाई उसका थर्थराएका हातले विस्तारै चलाउँदै थिए। उसको शरीरबाट निस्किएको उसको आफ्नै सुगन्ध मलाई पगाल्न काफी थियो। कोपिला भर्खर फक्रिएर फुलेको फूलबाट निस्कने सुगन्ध जस्तो, भर्खर फक्रिएको उसको जवानीको बास्ना पूरै शरीरलाई नै हल्लाउन प्रयाप्त थियो। के मैले अहिले सोचेकै रुपमा भविष्यमा उसलाई प्राप्त गरुँला?
रात समयसँग अझ गाढा बन्दै छ मेरो ऊप्रतिको भावना जस्तै।
मेरो खाटमा एउटा मृगतृष्णा चलमलाइ रहेछ। म अझै खाटमा कोल्टे परेर उसको अभावलाई वियोग ठानेर छटपटाइ रहेछु। जीवनमा रात कति आए, गए। रातमा आउने सम्झनाहरू पनि एउटै मात्र आएनन्। रातका विचार कति रातकै शून्यतामा बिलाए त कति अगरातमा पलाए। तर एउटै मान्छेको एक झल्को भेट यस्तो बलियो भएर आउँछ? सोचमग्न छु। मोबाइलको जमाना छ, सामाजिक संजालको सजिलो पहुँच छ तर उसलाई के नाम राखेर खोज्ने? उफ! मेरो जिन्दगी कस्तो निस्सार!
जसलाई आँखाभरि देखिरहेछु, जसलाई शरीरभरि पोखिरहेछु, उसलाई म किमार्थ कसै गरी कुनै माध्यमबाट भेटाउन सक्दिनँ। सायद मेरो छट्पटीको प्रमुख कारक तत्त्व यही नै पो हो कि?
नाम थाहा भएको भए कहीँ न कहीँ जोडिन सकिन्थ्यो, केही न केही बोलिन सकिन्थ्यो। यो जलन शान्त त पार्न सकिन्थ्यो।
(घडी हेर्छु)
रातिको २:३० भैसकेको रहेछ।
मलाई सम्झना आउँछ आज दिउँसो उसलाई भेटेको, समय पनि ठ्याक्कै यही नै त थियो। सायद म सोही समयमा भोलि उसलाई सोही ठाउँमा भेट्ने छु। पर्खाइ एक दिनको पनि होइन तर लामो लागिरहेछ। मुटुमा उसको नामको तार जो बजेको छ र त अचम्म लाग्दो गरी कम्पित छ शरीर।
अब भोलि यो समयलाई किमार्थ गुमाउने छैन। अठोट बलियो बन्छ, भोलि मिठो प्रतीक्षा।
मनमा उसलाई सम्झिँदा सम्झिँदै के हुन्छ कुन्नी म शिर अड्याइरहेको सिरानीलाई काखमा ल्याएर च्याप्छु र विस्तारै भन्छु 'गूड नाइट परत्री।'