आज समय त धेरै टाढा पुगेछ आमा
सपनाको लतले घुमाउँदा घुमाउँदै
म त यही शहरको भिडमा कतै
बूढो पो भएछु आमा
अब त घर फर्किन्छु होला
बरु
मुखिया बालाई गैरीखेत धितो राखी
मलाई घरसम्म पुग्ने
बाटो किनी पठाइदेऊ न आमा
अब त बस्दिनँ आमा
तिम्रो गिट्टी फोरेको हातले सपना बुनेर यहाँ
अब त सक्दिनँ आमा
तिम्रो दमको ओखती बन्दकी राखेर
च्याप्पिएर बस्न यहाँ
अब फर्किएर गाउँमै रोप्छु बरु
बाको पसिनाले किनेको खेतमा
सपनाको हरियो बिरुवा
अब त्यतैको माटोमा उम्राएर एक पाते बिरुवा
र लगाइदिन्छु
बाको ठेला परेको हातमा ओखती
बरु सुरु गर्छु आफै सपना बनेर
सपना बोक्नेहरूको सपना
अब आँसी समात्न सिक्छु
कोदालो चलाउन सिक्छु
र त्यतैको गोरेटोमा कोर्छु
आफ्नै जीवनको महाआख्यान
बाटो हेर्दै बूढो भएको
माइला दाइको बाँझो खेतमा
अब लेख्छु एउटा कविता
र उम्राउँछु
ठूली आमाको आँखामा प्रेमको फूलबारी
यो शहर त सपना देख्नेहरूको होइन रहेछ आमा
बरु सपना किन्नेहरूको रहेछ
सपनाको भाउ धेरै महङ्गो हुँदो रहेछ यहाँ
र बिक्दो रहेछ कागजको खोस्टोमा आमा
त्यसैले मैले निधो गरिसकेँ आमा
अब म गाउँमै बस्छु
बाले जीवन पढेर जीवन चलाउन सिके
मैले ज्ञान सिकेर अहंकार थुपार्न सिकेँ
बरु बाकै शिक्षाले खान पुग्ने रहेछ आमा
बाकै पसिनाले बाँच्न सकिँदो रहेछ आमा
आज आएर बुझ्दैछु आमा
म ज्ञानको भारी बोकेर गरिब भएँ
बा जीवनको रङ चिनेर धनी भए
अब त जरुर बाकै बाटो हिँड्छु आमा
बाकै हातबाट सिक्छु बरु
अनो समाउन
र सिक्छु बाले झैँ धर्ती फोर्न
र फेरि उमारी देखाउँछु
समय सित्तै चाउरिएका बाको गालामा
प्रेमको गुलियो मुस्कान
सपनाको बोट खोज्दै
म शहर नझरेको भए
सायद बाले आधीसम्म त लेखिसक्थे होला
आफ्नै जीवनको महाकाव्य
आमा, तिम्ले पनि आफ्ना सपनाहरू
बटुली राखेको भए
एउटा कथाको पाण्डुलिपी पक्कै बन्थ्यो होला
त्यसैले आमा अब गाउँ फर्खिन्छु
र पहाडको आलीहरूमा
मार्सी र फाँपरको संगीतसितै पूरा गर्छु
बाको माहाकाव्य
बगरका ढुङ्गाहरूसित मित लगाउँछु
र तिम्रो कथाको पाण्डुलिपीमा थपिदिन्छु
मैले तुहाएका तिम्रा कथाका हरफहरू
बरु
मुखिया बालाई गैरीखेत धितो राखी
मलाई घरसम्म पुग्ने
बाटो किनी पठाइदेऊ न आमा।