विस्तारै पूर्वबाट घामले सङ्केत पठाउँदै थियो। मझेरीको खोरमा थुनिराखेको कुखुरीले मलाई कानमा आई झकझकाइ रह्यो।
हिजो ८ औँ दिन उनीसँग जिन्दगीको पाइला जोरेको। रातभरि निद्रा लागेन, के-के सोचियो सोचियो। हातका औंला सुमसुमाउँदै उनी परेलीले इसारा गर्थिन् र बेलाबेलामा भन्थिन् 'हजुर बिना...'
म सजिलै बुझ्थेँ र परेली सुम्सुयाइदिन्थेँ। मेरो उत्तर यही हुन्थ्यो, म केही बोल्न सक्दैन थिएँ।
'बुहारी, ए बुहारी...!'
बङ्लाबाट बुवाले जोडसँग बोलाउनु भयो। उत्तर बुवासँग पुग्न नपाउँदै उनी अँगेनोमा पुगिसकेकी थिइन्। म मन खिन्न बनाउँदै उठेर तयारीमा जुट्नै लागेँ। उज्यालो झन्-झन् बढ्दै गयो।
ठेकीमा जमेको दही निकाल्दै आमाले भन्नुभयो, 'बुहारी यसैसित खान देऊ, हिँड्ने बेला साइत पर्छ भन्छन्। रातभरि अनिद यी मेरा आँखाभरि भरिएका आँसु पखाल्ने कोसिस गरेँ। यति सजिलै पानीले आँसु नपखालिने रहेछ। म चुलोमा गएँ, उनले भात पस्किसकेकी थिइन्। केही बोलिनन्, म पनि बोल्न सकिनँ। चुपचाप घोप्टो मुन्टो बटारी खाना खाने कोसिस गरेँ तर गासै निलिएन।
'मिठो नभए धेरै नदेऊ बुहारी, अलिकति सातु पोको पारिदेऊ उतै खान्छ,' बाबाले भन्नुभयो।
उनले त्यसै गरिन्। बाबा गोजीबाट पात्रो निकाल्दै साइत हेर्दै हुनुन्थ्यो। यत्तिकैमा आमाले भन्नुभयो, 'आज ९ औँ दिन नहिँड्ने भन्छन्, छोरोलाई कसरी पठाउने!'
आसकोटको खल्तिबाट धागोले बेरिएको चस्मा निकाल्दै बाबाले हातमा थुक लगाउँदै पात्रो पल्टाउनु भयो अनि भन्नुभयो, 'बाबु, साइत अलि खराब छ उज्यालो नलाग्दै हिँड।'
म बुवाको वचन पूरा गर्न लागेँ। कुममा सम्झना स्वरुप एउटा झुत्रे झोला बोकेर बाबाआमाको पाउमा झुकेँ।
'पुगेपछि फोन गरे बाबु,' आमा भन्नुभयो।
म केही बोलिनँ तर मनमनै उत्तर दिएँ, 'जिन्दगीमा हिँडेर कहाँ नै पुगिएला र आमा!' तैपनि हस् भन्नै पर्यो र भनेँ। 'राम्रोसँग घर चलाउनू, म पैसा पठाइदिन्छु' भनेर बुवालाई सम्झाएँ। आँसु देखाउनु भएन तर बुवाको मन रोइरहेको थियो, म सजिलै बुझ्थेँ।
पाइला गह्रौँ बनाएर घरबाट निस्किँदै थिएँ, निकै मलिन थिइन् उनी। सम्झाउने कुनै बहाना थिएन मसँग। मनमनै 'छिट्टै आउनेछु' भन्ने बहाना बनाइ उनीसँग बिदावारी भएँ। भिजेका उनका ती नजरहरूले देख्ने बेलासम्म मलाई पछ्याइरहेँ। तर म तिनलाई छोडिरहेँ, छोडिरहेँ... जसरी यो समयले मलाई छोडिरहेको छ। विस्तारै उज्यालो हुँदै गयो। बाटो वरिपरि, तल्तिर-मास्थिर स-साना घरहरू देखिन थाले। हातमा बोलिरहेको टर्चलाइट निभाएँ र चप्पल पट्काउँदै ओरालो झरिरहेँ।
मन खिन्न थियो, के-के सोचिरहेँ सोचिरहेँ। घरगाउँको याद मनमा आइरह्यो। पछाडि फर्कँदै हेर्दै फेरि म झर्दै गर्थेँ। कुनै कुनै दृश्यहरू मनको क्यामेरामा कैद गर्न सम्म भ्याउथेँ। ७ बजिसकेको थियो। सानो बजार सिमलटारी जहाँबाट थोरै धेरै गाडीहरू फेला पर्ने गर्थे। अन्तिम समय गाडी छुट्ने ७ बजे नै कायम गरिएको थियो। हस्याङफस्याङ गर्दै बजारसम्म आइपुगेँ। पहिलो चोटि गाडी चड्ने खुब रहर थियो। टिकट काट्न म काउन्टरसम्म पुगेँ। झ्यालमा ठूलो अक्षरमा 'धन्यवाद' लेखिएको थियो। सायद म नै अन्तिम थिएँ, बसको त्यो हर्नले मलाई यसै भनेको भान हुन्थ्यो।
भित्र छिर्न खोजेँ तर मलाई छिर्न दिइएन। छतमा चढ्न अनुरोध गरियो, म खुसी हुँदै छततिर लागेँ। बसको यात्रा सुरु भयो। कच्ची बाटो लडदैपड्दै जेनतेन सदरमुकाम आइपुगियो। ज्यान लखतरान, धुलैधुलो भएको रहेछ। टक्टक्याउने कुनै कोसिस गरिनँ। सोचेँ, यहाँ मलाई देख्ने को नै छ र! मलाई देख्ने, हेर्ने, मेरो ख्याल गर्ने सबैसबै घरमै छोडेर आएको थिएँ- आमा, बाबा, प्यारी।
कता-कता भोक लागे जस्तो भयो। प्यारीले पोको पारी दिएको सातु झोलाबाट निकालेँ। नजिकैको पसलमा एक बोतल पानी किनेँ र त्यसैसित खाएँ। निकै मिठो भयो। सोचेँ, सायद घरमा भए मिठो हुने थिएन होला। भोलि राजधानी पुग्नै पर्ने थियो। त्यसैको तयारीमा म बसको खोजीमा लागेँ। दिउँसो ३ बजे सदरमुकाम तम्घासबाट राजधानी लाग्ने गरी टिकट काटियो। जेनतेन सिट पाइयो, तैपनी अन्तिम। त्यसैमा चित्त बुझाएर सिटमा गएर बसेँ।
बस विस्तारै हिँड्न थाल्यो। विस्तारै उज्यालो हराउँदै थियो। झ्यालको चरबाट बाहिर पिलपिल बत्तीहरू टिलपिल टिलपिल देखिन्थे, उज्यालोले छोडेका जुनकिरी जस्तै। म सब चिज मेरै जिन्दगीसँग दाँजिरहन्थेँ जो मसँग मिलेजस्तै हुन्थे। मनमा निकै कुराहरू खेलिरहेका थिएँ; म कहाँ हिँडिरहेको छु, कहिले पुग्छु, यी सपनाहरू कहिले देखिन छोड्दा हुन्? यस्तै यस्तै। आखिर सब चिज सपना जस्तै हुँदा रहेछन्, जो हिँड्दा हिँड्दै बीचमै ब्युँझिदिने जसरी यात्राभर घरी म घरमा पुगेको हुन्थेँ घरी राजधानी पुगिसकेको हुन्थेँ, सपनाको दुनियाँमै।
बिहान करिब ४ बजिसकेको थियो, म झसङ्ग ब्युँझिएँ। चिसो हावाको सिरेठोले नाङ्गा कानहरूमा एकतमासले हिर्काइरहेको थियो। पुस/माघको महिना, एकसरो कमेजको भरमा काठमाडौंको जाडो छल्नु निकै कठिन हुँदो रहेछ। सुइय सिट्ठी बजाएर कन्डक्टरले बस कलङ्की आएको इसारा गर्यो। मलाई त्यही झर्न भनिएको थियो। डिक्कीबाट झोला निकाल्न लगाएँ र हत्तपत्त बाहिरबाटै झोलालाई छामेँ। झोलामा राखेको पासपोर्टलाई यी हातहरूले सजिलै फेला पारे, म खुसी भएँ। लाग्यो, कहिलेकाहीँ यी हातहरूले पनि सन्तुष्टी दिन जान्दा रहेछन्।
कलङ्की माथिको पुल छेउमा मलाई उभिन भनिएको थियो, मैले त्यसै गरेँ। एकछिनमै फोनको घन्टी बज्यो, कोही आएजस्तै लाग्यो। बुढी औँलाले फोनको बटन अन गरेँ र हेल्लो भनेँ। ऊ आएको रहेछ, मलाई बाइकमा हालेर लिएर गयो तर कहाँ मलाई थाहा थिएन। काकासँग उसको कुरा हुँदो रहेछ। काकाले मलाई केही बताउनु भएको थिएन।
ऊ काठमाडौंमा म्यानपावर खोलेर सानसँग बसेको एक धनाड्य रहेछ। उसले सबै भन्दै गयो। बोल्दै, सुन्दै गर्दागर्दै हामी एउटा घरमा पुग्यौँ जुन उसैको घर रहेछ, हेर्दा लोभै लाग्ने। मलाई पनि एकछिन त ऊजस्तै बन्न खुब रहर लाग्यो तर सोचेँ विदेश गएर आएपछि जाबो यस्तो त कति कति...।
उसले दराजबाट सानो फाइल निकाल्यो र केही कागजपत्र देखाउँदै भन्यो, 'यो तिम्रो मेडिकल, यो तिम्रो श्रम, यो तिम्रो पुलिस रिपोर्ट र यो तिम्रो प्लेन टिकट। सब ठिकठाक छ, भरे राति १२ बजेको फ्लाइट छ त्यसैअनुसार प्लानिङ गर्नू। झुत्रे झाम्रे भएर विदेश जानु हुँदैन, केही सपिङ गराएर ल्याउनू' भनेर आफ्नो सहयोगीलाई सिफारिस गरिदियो।
हामी सँगै गयौँ। बजारबाट धेरै चिज किनेर ल्याउन मन थियो तर मन लाएको सबै चिज किन्न नपाइने रहेछ। सिर्फ एउटा पाइन्ट, टिसर्ट अनि एकजोर जुत्ता किनेर फर्कियौँ। फर्किँदा करिब ५ बजिसकेको थियो। हत्तपत्त एक प्लेट चाउमिन लिएर खान दियो, मैले मिठो मानी मानी खाएँ। एकैछिनमा करिब ८, १० जना मान्छेहरू हर्हर्ती आए।
'अरे जल्दी करो टाइम नही हे' भन्दै माइक्रोमा चढ्न ड्राइभरले भनिरहेको मैले भित्रैबाट सुनेँ। मलाई पनि त्यसैमा जान अनुरोध गरियो, म उतै लागेँ। माइक्रो खचाखच थियो, म भित्र छिरेँ। सबै हाम्रै दाजुभाइ रहेछन्। यो काठमाडौं जहाँ नेपानीलाई राम्रोसँग नेपाली भनिँदो रहेनछ, ड्राइभरकै व्यवहारले म खिन्न भएँ।
'कहाँ जाने हो हजुर?' एकजना मित्रले मलाई सोधे। मैले उत्तर दिन नपाउँदै ड्राइभरले 'साउदी' भन्दिसकेको थियो। यी सहरहरूमा हामीभन्दा ड्राइभर, खलासी निकै चतुर हुँदा रहेछन्। एकैछिनमा माइक्रो एरपोर्ट पुर्याउँदै सबलाई झर्न आदेश दियो। उसले हामीलाई त्यही छोडेर राम्रोसँग जानू भन्दै फर्कियो। अहिले चाहिँ ऊ ठिकैठिकै लाग्न थालेको थियो तर के गर्नु फर्किसकेपछि।
निकै भिडभाड देखिन्थ्यो बाहिरपट्टि, मान्छेहरू दुःखसुख साटिरहेका देखिन्थे। कोही-कोही सेल्फीमा आफ्ना मुटुहरू कैद गरिरहेका देखिन्थे। एकछिन बसेर हेरिरहेँ। खिन्न लागयो, गरिब भएर जन्मिनु निकै अपराध रहेछ। हिँड्ने बेला एकसरो हात हल्लाइदिने कोही हुँदो रहेनछ। भगवानलाई कुनै दिन यो सोध्न मन लागेको छ, 'भगवान, गल्ती तिमीले गरेका थियौ या मैले?'
मनमनै कुरा खेलाउँदै भित्र प्रवेश गरेँ। अलमलमा परियो केही बेर। एकजना मित्रलाई फेला पारेँ र सोधेँ, 'दाइ, साउदी जाने कुन लाइन?'
उहाले 'खै हेरौँ त' भन्दै टिकट लिनुभयो र 'आऊ' भन्दै लिएर एकछिनमै सबै काम सिध्याइदिनु भयो। माथिसम्म सँगसँगै गयौँ।
मलाई सोध्न मन लाग्यो र सोधेँ, 'दाइ, हजुरको नाम?'
उहाँले सजिलै उत्तर दिनुभो, 'मेरो नाम जनक हो भाइ, ३ वर्ष भयो एयरपोर्टमा काम गरेको। अनि तिम्रो?'
मेरो रमेश दाइ।
'कहाँबाट आएको, घर?'
गुल्मी दाइ।
'हो र!'
उहाँ निकै खुसी हुनुभयो। बुझ्दै जाँदा उहाँ पनि उतैको पर्नु भएछ। भाइलाई एक कप कफी खुवाएर पठाउँछु भन्दै उहाँले लिएर जानुभयो। सँगै बसेर कफी खाँदै गफगाफ गर्यौँ। 'घरपरिवार सम्झेर राम्रोसँग कमाएर फर्किनु भाइ' भन्दै जहाज चढाएर उहाँ हात हल्लाउँदै फर्किनुभयो। हात हल्लाउँदै मैले पनि 'हस्' भन्दै जहाँजका खुड्किला चढेँ।
कोही कोही मान्छेहरू बाटोमा भगवान जसरी भेटिँदा रहेछन्, जनक दाइ मलाई उस्तै लाग्यो। जहाज विस्तारै पछाडि हटेर अगाडि बढ्यो र एकछिनमै जमिन छोडेर माथि हावामा तैरे जस्तै लाग्यो। जमिनमा हिँड्दा र आकाशमा उड्दा फरक हुँदो रहेछ। मलाई त्यस्तै त्यस्तै भान भयो।
झ्यालबाट सब चिज हेर्दैहेर्दै गएँ, धेरै आनन्द पनि आयो तर सुरुदेखि देख्न निकै कोसिस गरेको मेरो सानो झुपडी देख्न सकिनँ। बाआमालाई देख्न सकिनँ। उनी प्यारीलाई देख्न सकिनँ। मेरो प्यारो जनक दाइलाई देख्न सकिनँ। दुःख लागेर आयो। तैपनि म उडिरहेँ उडिरहेँ, यही सपनाको आकाशमाथि जसरी यो जहाँज उडिरहेको छ।
अनगिन्ती पहाडहरू, कैयौँ समुद्रहरू अनि लाखौँ आकाशहरू पार गरी म निकै पर पुगिसकेको थिएँ। पटक-पटक घरसम्मको दूरी यी यादहरूले बारबार नापिरहे जुन भौतिक रुपमा टाढा थिए। ताराहरूका यी चम्किला मुहार छोडी जहाजहरू निरन्तर उडिरहेका देखिन्थे। भित्रका यी मान्छेहरू आआफ्नै सुरमा थिए। कोही केही खाँदै गरेका देखिन्थे, कोही-कोही पत्रिका नियाल्दै थिए त कोही मस्त निद्रामा देखिन्थे। मुन्टो बटारी पछाडि फर्केर हेरेँ, एकजना मित्र मुसुक्क हाँसिदिए। यसो याद गरेँ जो उनै ७ जना भित्रका व्यक्ति थिए, एयरपोर्टसम्म सँगै झरेका।
एकैछिनमा जहाजमा घण्टी बज्यो र केही छिनमै अवतरण गर्ने म्यासेज सुनाइयो। सबै सतर्क भएर बसे र म पनि अलिक सतर्क भएँ। हात पसिनै पसिना थिए। कहिल्यै जहाज नचढेको मान्छे म, अलि बढी आत्तिएको पनि थिएँ। जमिन छोएर जहाज ठाउँमा पुगेपछि बन्द ढोका सबै खोलियो र बाहिर निस्कन भनियो। म पनि लाइनमा उभिएँ र पालैपालो बाहिर निस्कियौँ।
बिहान सात बजिसकेको थियो, नाडीको झिपझिपे घडीलाई थिचेर समयलाई सात बजेको बनाएँ। नेपाल र साउदीको समय अलि फरक हुँदो रहेछ। मलाई त्यही झिपझिपे घडीले बताएको थियो। इसारामा हामीलाई एउटै लाइनमा बस्न भनियो र पालैपालो पासपोर्ट चेक गर्दै पठाउँदै गरियो।
केही क्षण हिँडेपछि हामी एयरपोर्ट बाहिर निस्कियौँ। एकजनाले परैबाट हात हल्लायो र ठुटे इङ्लिस बोल्दै गाडीमा बस्न भन्यो। हामी उतै गयौँ। कुरा गर्दै जाँदा ऊ पनि नेपाली नै रहेछ। साहुले हामिलाई रिसिभ गर्न पठाएको रे। हामी खुसी भयौँ तर ऊ भयो भएन हामीले बुझ्न सकेनौँ।
वारिपारि हेर्दैहेर्दै केही क्षण हामी बसकै यात्रामा रह्यौँ। झ्यालतिर मुन्टो फर्काएर यसो बाहिर हेरेँ। तातो हावाले बाहिरबाट एकनासले हिर्काइरहेको थियो। ती मरुभूमिहरू निक्कै सुख्खा देखिन्थे, बालुवै बालुवाले बनेका स-साना घरहरू जस्तै वरिपरि थुप्रै ढिस्काहरू देखिरहन्थे।
तर यी मरुभूमिमा म गुलाब फुलेको कल्पना गरिरहेको थिएँ, मेरै आँगनीको सूर्यमुखी झुलिरहेको सम्झिरहेको थिएँ। बालुवाका ती ढिस्काहरूमा म गुराँस फुलिरहेको देखिरहेको थिएँ। म साउदीमा थिएँ तर यो मन बारबार मेरो देशमै थियो, मेरो गाउँमै थियो जसलाई म छोडेर हिँडेको थिएँ।