रसु र रसा जुम्ल्याहा हुन्। त्यतिबेला समाजमा जुम्ल्याहा सन्तान हुनुलाई राम्रो मान्ने चलन थिएन। आमा र शिशुको स्वास्थ्यका दृष्टिले भन्दा पनि समाजको हेराइका कारण जुम्ल्याहा सन्तानप्रतिको समाजको व्यवहार सकारात्मक थिएन।
घरैमा स्थानीय सुँडेनीका भरमा जुम्ल्याहा सन्तान जन्माउनु भनेको कष्टसाध्य काम थियो। घरको कमजोर अवस्थाका कारण गर्भावस्थामा पनि सुमित्राले राम्रो पोषण पाएकी थिइनन्। अझ यस पहिले जन्मेकी रजनीले दूध चुस्न नछाड्दै काखमा जुम्ल्याहा आइसकेका थिए। कमजोर स्वास्थ्य अनि तीन दिनसम्मको प्रसूति व्यथा सहेर सन्तान जन्माउँदा उनलाई एउटा पहाड नै बिसाएजस्तो लागेको थियो। सन्तानको मुहार देख्दा ओठमा मुस्कान र छातीमा ममता भरिएको थियो।
'रजनीका बुबा, हजुरलाई छोराको चाहना थियो होला। फेरि दुई-दुई जना छोरी नै जन्मे। समाजले के भन्ने हो, बाँच्नै पो गाह्रो पर्छ कि, म पनि कमजोर भएँ। मलाई केही भइहाल्यो भने यिनको के हाल होला? तपाईंलाई पनि भार थपियो,' सुमित्राले पतिको हात समाउँदै भनिन्।
'हैन के भन्छ्यौ तिमी, छोरी हुने वा छोरा हुने कुरा तिम्रो वशमा छ र, फेरि यी सन्तान हामी दुईको सहमतिमा भएका होइनन्? समाजले त जेसुकै भन्छ। हाम्रो साझा प्रेमका निसानी हुन् यी, मलाई कुनै गुनासो छैन। छोरी घरका दियो हुन्। छोरी नभई छोरा हुन्छन् त? मेरो मन र व्यवहार दुवैले नारीलाई हेला गर्दैन। मेरा लागि सन्तान बराबर हुन् सुमित्रा, सबैभन्दा ठूलो कुरा त आफू कमजोर भएर पनि तिमीले सन्तानलाई जन्म दियौ। म ज्वानाको झोल बनाउँछु। गाउँतिर यसो मासु पाइन्छ कि एकछिनपछि जान्छु। ल आराम गर,' पतिले सुमित्राका निधारमा हात राखे। पतिका कुरा सुन्दा सुमित्राका गह भरिए। उनले दुइटी छोरीलाई सुमसुम्याइन्।
समय बित्न कति पो लाग्दो रहेछ र, रसु र रसा हलक्क बढे। उनीहरूमा धेरै बानीव्यवहारमा समानता देखियो। धेरै मानिसले त एकअर्कालाई छुट्याउनै सक्दैनथे। जुम्ल्याहा सन्तान हुनु राम्रो होइन भन्नेले पनि तिनका व्यवहार देखेर अचम्म मान्थे। उनीहरूमा एउटी बिरामी हुँदा अर्की पनि बिरामी हुने र खुसी हुँदा दुवै खुसी हुने स्वभाव विकास भयो।
यस्तो व्यवहार गाउँभरिको चर्चााको विषय बन्यो। यी जस्ल्याहा विस्तारै गाउँका पनि प्यारा हुन लागे। हेर्दाहेर्दै उनीहरूको स्कुल जाने बेला भयो। छ वर्षको उमेरमा आमाबाबु नै गएर सत्यवती विद्यालयमा उनीहरूको भर्ना गरिदिए। विद्यालयमा उनीहरू मात्र जुम्ल्याहा थिए। शिक्षक विद्यार्थी सबैका आँखा उनीहरूमा पर्ने नै भए। सुरुमा स्कुल जान नमानेका रसु र रसा विस्तारै रत्तिए।
रसुभन्दा रसा पढ्नमा तेज देखिई। रसा चाहिँ नाच्न र गीत कविता लेख्न तथा गुनगुनाउन मन पराउँथी। रसुको रुचि खेलकुदमा थियो। पढाइ र अतिरिक्त क्रियाकलापसँगै अघि बढाउँदै उनीहरूले त्यही विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे।
त्यसबेला गाउँमा क्याम्पस थिएनन्। उच्च शिक्षाका लागि सहर जानुपर्थ्यो। दिदी रजनीले बीचैमा पढाइ छाडिन् र सिलाइबुनाइ तालिम लिएर काम गर्न थालिन्। रसु र रसाले सहरमा पढ्न जाने विचार गरे। रसु विज्ञान पढ्न चाहन्थी, रसा भाषा पढ्न चहन्थी। यी दुवै विषय पढाउने कलेज पाउन काठमाडौँ सहर नै जानुपर्थ्यो। यति टाढा पठाएर पढाउन सक्ने हैसियत बाबु आमामा थिएन त्यसैले उनीहरूले कुरा उठाउन सकेका थिएनन् तर उनीहरूका कुरा सुमित्राले सुनेकी थिइन्। सुमित्राले छोरीहरूको इच्छा पतिलाई पनि सुनाएकी थिइन् तर पति बोलेका थिएनन्।
'एक दिन खाना खाइसकेपछि सबै जना बसेका ठाउँमा सुमित्रातिर हेर्दै पतिले भने, 'हेर, गाउँले के-के भन्थे, हेर्दाहेदै हाम्रा छोरीले स्कुल सके। अब म यीनलाई काठमाडौँ लगेर पढाउँछु। रसा त भाषा पढ्छु भन्थी, रसु के पढ्ने नि? जे पढे पनि म एउटै क्याम्पसमा भर्ना गरिदिन्छु। भाडाको कोठामा बसेर पढ्नुपर्छ है। हाम्रा छोरीको प्रगति हेर्ने विचार छ हामीलाई।'
आफ्ना मनका सबै कुरा बाबुले बुझिदिएको देखेर दुवै आमातिर हेरेर मुस्काए। आमाको अनुहार पनि हँसिलो थियो। एक महिनापछि उनीहरू बाबुसँगै काठमाडौँ गए र क्याम्पसमा भर्ना भए। हँसिला अनि उस्तै लाग्ने दुई युवती क्याम्पसका पनि आँखाका तस्बिर बने। अरुका नजर आफूहरूप्रति पर्न लागेको देखेर उनीहरू सधैँ एउटै पहिरन लाएर हिँड्थे, मात्र यति फरक थियो रसु चुल्ठो बाट्थी, रसा केटाको जस्तो कपाल काटेर हिँड्थी। उनीहरूको नाम भन्न् र झट्ट चिन्नमा भने धेरै मानिस झुक्किन्थे। सबै कुरा मिलेको देख्दा साथीहरू तिमीहरूको त बिहे पनि एउटैसँग हुन्छ होला है भनेर जिस्काउँथे। यसो भन्दा रसा भन्थी, 'हो, एउटैसँग गर्ने, रसुले अर्कासँग बिहे गरी भने म चोरेर भए पनि लैजान्छु।' यससँग कुरा गर्न नसकिने भयो भनी साथीहरू कमै जिस्काउँथे।
समय बित्दै जाँदा रसुलाई एउटा केटो मन पर्न थाल्यो। एउटै कक्षामा पढ्ने र मन मिल्ने भएपछि उनीहरू नजिकिन थाले। रसाले थाहा पाउली भन्ने सोचेर विभिन्न वहाना पार्दै रसु एक्लै निस्कन्थी र कतै एकान्तमा बसेर त्यस केटासँग गफ गर्थी। उनीहरू मनले नजिक हुँदै थिए। वैवाहिक जीवनको नजिक उमेरका भिन्न लिङ्गीबीच प्रेमका कुरा हुनु पनि अनैतिक र असामाजिक व्यवहार थिएनन्। विवाह बुझेर मात्र गर्नुपर्छ भन्ने विषयमा त स्कुल पढ्दै रसुले वक्तृत्वकलामा पुरस्कार पाएकी थिई। यति भएर पनि सँगै जन्मेकी रसासँग लुकेर यसरी गफगाफ र भेटघाट गर्नुमा रसुलाई आनन्द लागेको थियो। मन परेको प्रेमीलाई भेटेर कुराकानी गर्दा कताकता काउकुती लागेझैँ हुन्थ्यो। केटाको स्वभाव पनि खेलबाड गर्नेखालको थिएन। ऊ अलिक भावुक थियो।
'हैन बिहानै कता हिँडेकी नि, हिजोको फिल्म सम्झेर आज एक्लै हिँड्यौ कि क्या हो। कि रिसायौ?' यसो भन्दै कुनै केटाले धाप मार्दा रसा झसङ्ग भई। आज निकै जाडो थियो। पहेँलो ज्याकेट, टाउकामा कालो टोपी र अनुहारमा मास्क लाएर रसा तरकारी र कापी किन्न निस्केकी थिई। त्यही बेलामा यो आकस्मिकता आइलागेको थियो।
'किन रिसाउने नि, तर अहिले मलाई हतार छ, पछि कुरा गरौँला ल,' रसाले छड्के नजरले त्यस केटाको अनुहार हेरी र आफ्नो बाटो लागी। उसलाई रसु र यस केटाका बीचमा कुनै सम्बन्ध छ कि जस्तो लाग्यो। क्याम्पस आवतजावत् तथा रसुको व्यवहारबाट उसको शङ्का वास्तविक देखियो।
क्याम्पसको पढाइ सकियो। एकदिन रसुले रसालाई भनी, 'हेर न कति दिनदेखि एउटा कुरा भनौँ भनेको, भन्नै सकिनँ। अब पढाइ सकेर विदेश जाऔँ भन्छ त्यसले। बाआमालाई कसरी भन्ने?'
'हैन के भन्छे? मान्छे खोजिस् कि क्या हो? कहाँको? के गर्छ? चोरेर लगिदिन्छु अनि?' रसा रसुसँग टाँसिई। उसले सबै कुरा थाहा पाएकै थिई तर केही थाहाा नपाएझै गरी। उनीहरूले धेरै बेर कुरा गरे। पढाइमा चलाख केटासँगको रसुको प्रेम देखेर उसलाई पनि मिल्ने भए चोरेर लानु जस्तै भएको थियो। प्रेम वैयक्तिक र चोर्न नसकिने हुन्छ भन्ने जान्दाजान्दै पनि रसाले समेत एकतर्फी मन जोडिसकेकी थिई।
दिदीको बिहे भइसकेको थियो। स्नातकको परीक्षाफल निस्केपछि घर जाँदा रसाले बाबुआमासँग भनी, 'बाआमा रसु बिहे गरेर विदेश जान्छे रे। म त विदेश जान्नँ। यसको बिहे गरिदिनु, हजुरहरूको ज्वाइँ यसैले खाजेकी छे। अरु सबै मिल्छ, संस्कार चाहिँ मिल्छ कि मिल्दैन? पूर्वेली संस्कारको हो क्यारे,' रसाले रसुलाई घाप मार्दै भनी। रसु लजाई।
सबै कुरा बुझेपछि रसुको बिहे भयो। ऊ बिहे गरेर गई। रसा स्नातकोत्तरको पढाइको तरखरमा लागी। उनीहरूका बीचमा भेटघाट त कम हुने नै भयो, फोनमा कुरा भइरहन्थ्यो। विदेश जाने कुरा हुँदैछ भनिरहन्थी तर जाने दिन महिनाका बारेमा केही बताएकी थिइन। यता रसालाई पनि किन-किन रिसुसँग भन्दा उसका पतिसँग गफ गरिरहुँजस्तो लाग्थ्यो।
एकदिन बेलुकातिर रसु एक्लै रसालाई भेट्न आइपुगी। हेर्दा दुब्ली न दुब्ली र रोगी जस्ती भइछ। उसलाई देख्नेबित्तिकै उत्तेजित हुँदै रसाले भनी, 'के भो? भिसा लाग्यो कि बिरामी भइस्? कि...' यति भन्न नपाउँदै रसु भक्कानिएर रुन थाली।
'रसा, अब मसँग केही छैन। म आमा बन्न सक्दिनँ, म अब बाँच्न पनि सक्दिनँ। मसँग समय पनि छैन। बरु मान्छेस् भने मेरो मान्छेलाई चोरेर लैजा,' रसु भक्कानिइरही, रसाले पिठ्युँमा हात मुसारिरही।
धैरै पछि सुमित्रा र उनका पति रसाका घरमा पुगे। रसाका दम्पती एक छोरा र एक छोरीसहित रमाएर बसेका थिए। उनीहरू सुत्ने कोठाको भित्तामा रसुको माला लगाइएको तस्बिर झुन्ड्याइएको थियो।