कविता
नयाँ वर्ष तर, हाल पुरानै
जीवनको गति, अनि चाल पुरानै
तन् पुरानै, अनि मन् पुरानै
छैन र साथी, जीवन पुरानै?
लुगा पुरानै, फेर्ने सास पुरानै
गाँस पुरानै, छिमेकीको अट्टाहास पुरानै
आभास पुरानै, मधुवास पुरानै
छैन र साथी जीवन पुरानै?
हाम्रो माया, मित्रता पुरानै
गन्तव्य अनि साथ पुरानै
सहयात्राको हात पुरानै,
पुरानै पुरानाको बीचमा,
छैन र साथी जीवन पुरानै?
दायाँ पुरानै, बायाँ पुरानै
आफ्नाको त्यो, माया पुरानै
भाव पुरानै, अभाव पुरानै
लक्ष्य प्राप्तिको, लगाव पुरानै।
.......
अर्थ पुरानै, घर पुरानै
बाटो छेउको, वर पुरानै
बा ले लाउने, टोपी पुरानै
आमाको कठै, सारी पुरानै
काँधको त्यो, जिम्मेवारी पुरानै
.........
उता पुरानै, यता पुरानै
भ्रष्टाचारी, नेता पुरानै
श्रम पुरानै, शिक्षा पुरानै
मैं भन्नेहरूका, इच्छा पुरानै
चलन पुरानै, चल्ती पुरानै
लुटेराका काला, खल्ती पुरानै
........
सुन्न साथी,
तँ पुरानै, म पुरानै
तेरा पुरानै, मेरा पुरानै
तँ बस्ने, म बस्ने, डेरा पुरानै
नयाँ वर्षमा राख्ने, आश पुरानै
यसो उसो जिन्दगी, खास पुरानै।।