नयाँ वर्ष विशेष सम्झना
थर्कोटको डाँडोले लालीगुँरास पाएको थियो, आँगनको रूखले पालुवा पाएको थियो, घरको भित्तोले नयाँ क्यालेन्डर पाएको थियो, समयले नयाँ उमेर पाएको थियो।
सबैले केही न केही पाउने याममा विनोदेको घरको बाख्रीले पनि दुइटा पाठा पाएकी थिई। यी पाउनेहरूको लामो श्रृंखलालाई नेपथ्यमा राखेर स्कुलभरी एउटै चर्चा थियो 'भूपेन्द्रले नयाँ वर्षको लागि शुभकामना कार्ड पाएको छ।'
नयाँ वर्षमा शुभकामना जडिएका शब्द लेखेर कार्ड पाउनु के ठूलो कुरा थियो र? तर सानै कुरा पनि सानो ठाउँका लागि स्कुप मार्ने समाचार हुँदो रहेछ। पहिला केटीलाई कार्ड पठाउने अनि केटीबाट कार्ड पाउनुमा कहाँ समाचारीय मूल्य भेटिन्थ्यो त? त्यो त देविका वन्दनाको 'यस्तै रहेछ यहाँको चलन' भन्ने गीतजस्तै न भयो।
तर आजको घटना फरक थियो।
महेन्द्र माध्यमिक विद्यालयको इतिहासमा ब्रेक भएको थियो। कैयौं आशिकहरूको एकोहोरो प्रेम ब्रेक भएको थियो। सपनामै सही बेहुला बन्नेहरूको सपना ब्रेक भएको थियो। सुइँ खोपेर हातमा नाम लेख्नेहरूको उत्साह ब्रेक भएको थियो। सज्जन देखिनका लागि गरिएका कैयौं त्यागहरू ब्रेक भएको थियो। एक दर्जन कुराहरू एकैपटक ब्रेक गर्ने ब्रेकिङ न्युज थियो 'भूपेन्द्रलाई आशाले शुभकामना कार्ड पठाई।'
आशालाई मनको मन्दिरमा लगेर मनैबाट सिउँदो भर्नेहरूले समाचारलाई खासै ध्यान दिएनन्।
'पहिला कार्ड पठाउने हो भने त करिश्मा मानन्धरको पनि जवाफी शुभकामना कार्ड आउँछ' आशिकहरूको यो मन बुझाउने कुरोको आयु परालको आगो जति पनि रहेन। एकाएक कक्षाभरी थप हल्ला फैलियो 'भूपेन्द्रलाई त आशाले नै पहिलो पटक कार्ड पठाएको रे।'
एउटै समाचारले सबै आशिकहरूलाई मुरलीधरकहाँ पुर्यायो 'उडायो सपना सबै हुरीले'।
गीतै गाएर सही, गीतै सुनेर सही। यतिसम्म कुराले केटाहरूलाई मन बुझाउन त्यति धौधौ भएन। तर फेरि अर्को फलोअप थपिएपछि भने गीतले पनि काम गर्न छाड्यो 'आशाले पठाएको कार्ड त राजेश हमालको हो रे'
पहिलो पटक केटीले नै कार्ड पठाएको अनि त्यसमा पनि एक रुप्पेको अक्षयकुमार वाला नभएर दुई रुप्पेको राजेश हमालवाला!
सामान्य रूपमा नेपाली चलचित्रका कलाकारको कार्ड पाउनेहरू सेलिब्रेटी हुने जमानामा सबैको आँखा गढेको आशाले नै नेपाली कार्ड पठाएपछि दिवानाहरू बगरमा राखेका माछा जस्तो हुनु कुन नौलो कुरा थियो र?
नयाँ वर्षको उत्साह महेन्द्र मावि कक्षा १० 'क' र 'ख' सेक्सनमा पढ्ने केटाहरूका लागि जुठोबारे जस्तो भयो। सबै मलिन, सबै अलिना अनि सबै चोटपटक लागेर घाइते भएजस्तो। न बोल्ने साहस छ, न ओठमा मुस्कान छ। सबैका आँखा रातरातभर रोए जस्ता सुन्निएका। कतिले यो खबरलाई झुटो सावित गर्नका लागि अनेक प्रयत्न गरे। तर तथ्य कसरी बदलियोस्। बरू उनीहरू नै मन बदल्ने शक्ति खोज्न थाले। रसरङ्ग र सत्यकथाका एकाध कथाहरू पढेर मनको आवेग केही शान्त त भयो, तर रोकिएन।
एकाएक कलेजमा भूपेन्द्र सेलिब्रेटीमा दरियो। भर्खर पकाएर राखेको सेलरोटी जस्तै भूपेन्द्रलाई देख्नासाथै सबैले थुक निल्न थाले।
'सालेले खप्परमा लेखेरै ल्याएको रहेछ। मिल्ने भए खप्पर चिरेर सार्न हुन्थ्यो' परीक्षामा साथीको कापीबाट सारेजस्तो कहाँ सजिलो थियो र भाग्य सार्न! तर मनले पनि सान्त्वनाको ओखती अनेक बहाना बनाएर खोजिरहन्थ्यो।
'सालेहरूलाई एक एक जानेको छु, आशालाई कार्ड लेखेका छन् रे अब सबै मर्छन' सुईं खसेको जस्तो आवाज एकाएक बम पड्केको जस्तो कसरी बन्यो? कक्षाको सबैभन्दा सुस्त बोल्ने अनि सानो सानो कुरामा पनि डराउने भूपेन्द्रमा अचानक आएको बाघ शैलीले प्रेमको तागत बोध गरायो।
'प्रेममा शक्ति हुन्छ भन्थे हो रहेछ,अब सकिँदैन भूपेन्द्रसँग' केटाहरू एकल हमलाबाट सामूहिक हमलामा रूपान्तरण भए।
आशालाई मनमनमा माया गर्ने १३ जनाको संयुक्त बैठकले एक बुँदे निर्णय गरेको थियो 'आशा १३ जनामध्ये जसको भए पनि केही छैन तर भूपेन्द्रेको हुनु भएन, सालेलाई राम धुलाई गरौं' सबैले निर्णयमा हस्ताक्षर गरे। तर भूपेन्द्रेको बढ्दै गएको सेखीले उनीहरू निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा आएनन्।
'भूपेन्द्रेलाई केही गर्नु भनेको आशाको मन दुखाउनु हो, आशाको मन दुखाएर पनि उसलाई के आफ्नो बनाउनु। माया गर्नेहरूले त आफूले माया गर्ने मान्छे रमाएको हेर्न सक्नुपर्छ। के भयो त एक दुई महिना रोएर बिताउँला, भाग्य यस्तै रहेछ भनेर चित्त बुझाउँला। मनैले मानेनछ भने जोगी बनेर हिँडौंला तर आशाको आँखामा आँसु देख्न सकिँदैन, सक्दै सकिँदैन ' प्रकाश कोविदको फ्यान थियो राजेन्द्र, खोई कुन उपन्यासको बीचको लाइन तानिहाल्यो।
राजेन्द्रको मनोभावनाले आशिकहरूको मनमा सान्त्वनाको मल्हम लगायो तर मल्हमले पनि त सधैंभरी कहाँ काम गर्छ र? फेरी दुख्न थालिहाल्यो, पोल्न थालिहाल्यो।
नयाँ वर्षमा आशालाई दिनका लागि किनिएका कार्डहरू केही च्यातिए, केही जलाइए अनि केही सेकेन्ड ह्यान्डमा बिक्री गरिए। केहीले आशाको आत्मा अडेको कार्ड भनेर सिरानीमा च्यापेर राखे। कार्ड च्यातेर मनको माया कसरी च्यातिन्थ्यो? कार्ड बेचेर मनको माया कसरी बेचिन्थ्यो? मनले पोलाई र दुखाईबाट कहाँ छुटकारा पायो र? केटाहरू मिर्गी लागेजस्तो फटफटाउन थाले। भक्कु ज्वरो आएजस्तो बरबराउन थाले।
पीडामा पीडा थप्न यम बराल आइहाले 'नपाउने मायाको आइरहने सम्झना, दिलमाया दिलमाया खोई कसको भूल'। भूल नापेर आशाको मनको क्षेत्रफल कहाँ निकाल्न सकिन्थ्यो र?
अर्काको भएको मान्छे आफ्नो हुँदैन भन्ने थाहा हुन्छ, मरेर गइसकेको मान्छे आउँदैन भन्ने थाहा हुन्छ तर पनि हुन्छ जस्तो लाग्छ, आउँछ जस्तो लाग्छ। हुन्छ भन्ने लाग्नु , आउँछ भन्ने लाग्नु नै त हो आशा। तर यहाँ त आशा नै पराइको भइसकेकी थिई। कसैको 'प्राइभेट' भइसकेकी थिई।
एकाबिहानै विद्यालयमा नयाँ समाचारले प्रवेश पायो।
१३ जनाको छटपटीमा एकैपटक ब्रेक लाग्यो। भूपेन्द्रको मुखपत्र विकासले जब थप घटना सार्वजनिक गर्यो। विकास भूपेन्द्रको सबथोक मार्केटमा ल्याउने गजबको पात्र थियो। उसले भूपेन्द्रका राम्रा भन्दा पनि नराम्रा खबर बढी बाहिर ल्याउथ्यो। तर भूपेन्द्रले उसको साथ कहिल्यै छाडेन। अपुष्ट खबर अनुसार विकाससँग भूपेन्द्रका बारेमा केही लाजलाग्दा प्रमाणहरू भएको हुँदा पनि उसले केही बोल्न नसकेको भन्ने थियो।
विकासका अनुसार भूपेन्द्रले अक्षयकुमारको फोटो पठाएकाले आशाले वाल दिन छाडी रे। ओ हो कस्तो गज्जब खबर। मुखपत्रले नै भनेपछि कसरी नपत्याउनु? विकासका अनुसार आशाले लामो चिठी लेखेर १ सय १२ वटा गाली समेत गरेकी रहिछ।
एकाएक १३ आशिकहरू सल्बलाउन थाले। मरिसकेको मन जुरूक्क उठेर दौडन थाल्यो। फालिएका कार्डहरू खोजिन थाले, हराएको आशा भेटिन थाल्यो। घटनाका विस्तृत विवरण पनि विकासले संक्षेपमा पेश गर्यो 'नेपाली कार्डको बदला हिन्दी कार्ड पठाएर आफूलाई सुपेरिएर बनाउन खोजेको रहेछ जाकियो खाडलमा अहिले त हनहनी ज्वरो आएर अस्पतालमा भर्ना भएको छ' आशाले कार्ड पनि फिर्ता मागेको भन्ने खबर भने अपुष्ट तरिकाले पेश गर्यो।
भूपेन्द्र र आशाको सम्बन्धमा दरार आएपछि १३ सदस्यीय समूहमा पनि दरार आयो। सबैले आआफ्नो दाउ छोप्न थाले। वैशाखको ५ गते आशाका लागि १३ वटा राजेश हमालका कार्डहरू पठाइए। १३ आशिकहरूलाई खान मन लागेन, सुत्न मन लागेन, कसैसँग बोल्न मन लागेन। केही नलाग्नुका बीचमा सबैलाई एउटा कुरा भने लागिरह्यो आशाको माया।
५ गतेमा १ थपिएर १५ भइसक्दा पनि प्रत्युक्तर आएन। कसैले पनि कार्डको बदला कार्ड पाएनन्। आशाले इन्टर्भलमा लुकाएर किताबको बिचो पानामा राखिदिन्छे कि भनेर काम बिना पनि इन्टर्भलमा बाहिर जान थाले। तर दाल गलेन, बरू जलिहाल्यो।
राजु लामाको 'पर्खाइमा भिज्यो सिरानी' गीत सबैको ओठमा लतपतियो। आफूले कार्ड नपाए पनि अर्कोले पायो कि भनेर एकअर्कालाई गहिरो अनुसन्धान गर्न थाले। तर अनुसन्धानले त्यस्तो देखाएन। तर अब के हुन्छ भन्ने भविष्यवाणी पनि कसैले गर्न सकेन। अन्यौलताका बीचमा एकाएक १३ जनालाई हेडसरले अफिसमा बोलाए। सबै आशिकहरूको मुटु फुट्ला जस्तो भयो।
हेडसरले बोलाएको भनेपछि प्रलय आउन लागेको छ भन्ने बुझे हुन्थ्यो। घाइते भूपेन्द्र निको भएर स्कुल आउने भइसकेको थियो। बिरामी भएपछि पहिला जस्तो बोल्न भने छाडेको थियो।
हेडसरको टेबलमा उनीहरूले नै पठाएका कार्डहरू थिए। राजेश हमालको कपाल भर्खरै तेल लगाएजस्तो टलक्क टल्केको थियो। भरतलाई भने कसले शिव श्रेष्ठ जस्तो देखिन्छन् भनेको रहेछ उसले शिव श्रेष्ठको फोटो पठाएको थियो।
'कार्ड तिमीहरूले पठाएको हो' हेडसरको प्रश्नमा १३ वटै आवाज मिसिए 'हो सर' नयाँ वर्षमा कार्ड पठाउनु के नै अपराध थियो र उनीहरू डराएनन् पनि। अनि यसको पछाडि पनि आफैंले लेखेको हो नि? जवाफ बदलिने कुरै भएन 'हो सर' हेडसरले कार्ड उल्ट्याए। त्यहाँ त अश्लिल कुरा समेत के के लेखेको रहेछ। त्यसपछि राम धुलाई कार्यक्रम सुरू भयो। हेडसरको प्रमुख आतिथ्यतामा कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो। उनीहरूले खाएको पिटाइमा कुनै पनि कुराको कमी थिएन।
केही दिनको बिरामी बिदापछि केटाहरू फेरि विद्यालयमा झुल्किए। मनभन्दा त शरीर नै धेरै दुख्दो रहेछ, केटाहरूले अहिलेसम्म नभोगेर पो रहेछ।
आशाको नजरमा सबै आवारा प्रमाणित भइसकेका थिए। स्पस्टीकरण दिने तागत कसैको पनि थिएन। केटाहरूको रामधुलाइको प्रसंग निकाल्दै मुखपत्र विकासेले नयाँ कुरा रहस्योद्घाटन गर्यो।
'आशा मेरो आफ्नो नभएपछि साले चोरहरूलाई पनि आफ्नो हुन दिन्न भनेर सबैको कार्डको खाली ठाउँमा लेख्ने काम भूपेन्द्रेले गरेको हो, आशालाई दिने काम मैले गरेको हुँ।' केटाहरू यति धेरै थाकिसकेका थिए कि उनीहरूले भूपेन्द्रसँग बदला लिने सोच्न पनि सकेनन्। विकासले थप खबर पनि सुनायो 'भूपेन्द्रले हिन्दी फिलिम नहेर्ने कसम खाएको छ, अझ अक्षयकुमारको त फोटो पनि हेर्दिनँ भनेको छ।'