लेखिनेछैन कथा हाम्रो प्रीतको
जहाँ खेलिरहेछ लुकीडुम
हाम्रा वर्तमानहरू हाम्रा इतिहासहरू।
कालो खोन्द्रे भित्र
एक हुल हामीलाई
हालेर भुटिँदैछ
भोलि उम्रने हाम्रा बीउहरू
फूल उठ्छन् कोही
ठेट्ना बस्छन् कोही
छानीछानी चबाइन्छ
चबाइचबाइ निलिन्छ
हाम्रा वर्तमानहरू
हाम्रा इतिहासहरू।
एक ढिक्का हामीलाई
लगिँदैछ आरानमा
लगाइँदैछ भाटी
टाउको छाती र जीउभरि
आफ्नै खुन पसिनाले पिटेर
टुक्राइँदैछ हामीलाई
कुटे, हँसिया बन्चरो र खुकुरीहरूमा
अनि प्रयोग गरिँदैछ अरुको निम्ति
हाम्रा वतमानहरू हाम्रा इतिहासहरू।
घनघोर जंगल हामीलाई
तौलीतौली मोल लगाइँदैछ
सस्तो भाउ हाम्रो चुक्ता गरी
छानीछानी काटिँदैछ
अनि लडाइँदैछ
जंगल हामीलाई बनाइँदैछ गुलिया
लादिँदै छ ट्र्याक्टर र ट्रकका डालाभरि
पुन: काटिदैँछ अनि लगाइँदैछ रन्डा हाम्रो छातीहरूभरि
बनाँइदैछ चिल्ला आकर्षक फर्निचरहरू
सजाइँदैछ बैठक कोठाहरूमा
हाम्रा वर्तमानहरू हाम्रा इतिहासहरू।
नाङ्गो पहाडमा उभिएका छौँ
हामी गुराँसहरू
हामी फुल्छौँ
हामी टिपिन्छौँ
हामी झर्छौँ
हामी कुहुन्छौँ
हामी फुल्ने आकाशभरि
हामी कुहुने धरतीभरि
हाम्रै रङको सहीछाप नगरे आफैले
लेख्ने छैनन् अरुले कथा हाम्रो प्रीतको
जहाँ खेलिरहेछन् लुकीडुम
हाम्रा वर्तमानहरू हाम्रा इतिहासहरू।