आफ्ना समवयस्कहरूको तुलनामा विक्रमले हासिल गरेको सफलता आहारिसलाग्दो थियो। तेत्तीसौँ वसन्त पार गरिरहँदा ऊ एउटा नामी इञ्जिनियरिङ कम्पनीको विश्वासिलो प्रोजेक्ट म्यानेजर बनिसकेको थियो। प्रतिभा, अनुशासन र कर्मठताजस्ता गुणहरूले सुशोभित भएर होला लोकमाझ उसको व्यक्तित्व स्वतः अग्लो देखिन्थ्यो। त्यसमाथि भाग्यलक्ष्मीले उसलाई हाँस्यरस र वाकपटुकताको अलंकारले सुसज्जीत गरिदिएकी थिइन्। अग्रजहरू विक्रम भाइको स्पन्दन देखेर मन्त्रमुग्ध हुन्थे भने अनुजहरू विक्रम दाइसँग हात मिलाउन पाउँदा गौरवबोध गर्थे।
व्यावसायिक मात्र होइन, पारिवारिक जीवनमा पनि विक्रमलाई नपुग्दो केही थिएन। बाबुआमाले उहिल्यै दुःखसुख गरेर सहरमा घरको बन्दोबस्त गरिदिसकेका थिए। चार वर्षअघि इन्डस्ट्रियल इञ्जिनियर सजिनासँग उसको लगनगाँठो कसियो। जसरी एक आम परिवारमा प्रथम सन्तानको धर्तीमा आगमनले अथाहा खुसीको सञ्चार हुन्छ, त्यसरी नै बिहेको एक वर्षपछि छोरो श्रेयांशको आगमनले विक्रमको घरमा रौनक ल्यायो। छरछिमेक र नातागोता कहिले साउती मारेर र त कहिले उच्च ध्वनीको वाणीमा भन्थे, 'भाग्यमानी होस् त विक्रमजस्तो।'
टाढा पहाडको टुप्पोबाट नजर लगाउँदा बाटाहरू सिधा रेखाजस्तो देखिन्छन्। नजिकबाट शनैःशनैः नियाल्यो भने बल्ल त्यसका वक्र मोडहरू दर्शकको नजरमा पर्छन्। तीस कटेपछि बेचैनीले विक्रमको मथिंगल हल्लाउन थालेको कुरा कमैलाई मात्र जानकारी थियो। उसको बेचैनीको कारण थियो- अब के गर्ने?
पेसागत क्षेत्रमा एक तहको उचाइ बनाइसकेकाले बाँकी उर्जाशील उमेर त्यसमा इँट थप्ने बाहेक अरु नवीनता नरहने आभास उसलाई हुन थाल्यो। उता परिवारमा श्रीमती र छोरो आफ्नो जीवनमा आएसँगै युवाअवस्था पूरै नहराइसकेको र पूर्ण रूपमा प्रौढताले पनि स्थिर जरा नगाडिसकेकाले विक्रममा असामञ्जस्यता छाएको थियो। आफ्नो बेचैनीबाट छुट्कारा पाउन ओशोको हिन्दी किताबदेखि सद्गुरुका अंग्रेजी प्रवचनको शरणमा पर्न थालेको धेरै भएको थिएन।
अधीर मनको पोखरीमा गज्जबसँग तरंग पैदा गर्ने घटना चाहिँ तीन महिना अघि कलेजको साथी सञ्जय अष्ट्रेलियाबाट उसलाई भेट्न आएपछि हो। झम्सिखेलको रेष्टुराँमा राति दुई पुराना मित्रबीच करिब आठ वर्षको अन्तरालपछि साक्षात्कार भएको थियो। मध्यम उचाइ र खाइलाग्दो ज्यान भएको सञ्जयको तीस वर्ष हुँदा नै तालुको मध्यम भागबाट अलिअलि कपाल झर्न थालिसकेको थियो। कलेजमा रसिकताको लागि उसले ठूलो ख्याति कमाएको थियो। उनीहरूको कुराकानीको सुरुवात इञ्जिनियरिङ कलेजका दिनका आफ्ना साथीहरूको हल्काफुल्का ठट्यौली गफबाट सुरू भयो।
विक्रमले हाँस्दै सञ्जयलाई गिज्यायो, 'तँ त्यत्रो पछि लागिस् सबनमको। उसको ब्वाइफ्रेण्डलाई देखी सहदैनथिस्। आखिर उसको बिहे अर्कैसँग भयो। पक्कै तेरो श्राप लागेजस्तो छ त्यो ब्वाइफ्रेण्डलाई।'
'कुन जमानाको कुरा गर्या यार? बाग्मतीमा धेरै पानी बगिसक्यो नि। भन्नु त हुँदैन तर सबनमलाई आक्कलझुक्कल सपनामा अझै देख्छु,' सञ्जयले ङिच्च दाँत देखाउँदै भन्यो।
दुवै जनाको उन्माद हाँसो छुट्यो। त्यसपछि सञ्जयले लस्करै स्मृतिमा आएजति साथीहरू को कहाँ के गर्दैछन् भनेर बेलिविस्तार लगायो। साथीभाइबाट प्रसंगहरू घरव्यवहार र कामकागजतिर मोडियो।
'यार विकु, तँजस्तो ब्राइट मान्छे नेपालमा अड्किरहने हो र भन्या? कस्ता-कस्ताहरू अमेरिका र अष्ट्रेलियामा सेटल भाका छन्। समय छ अझै। सोच् है सोच्,' सञ्जयले सोमरसको सुरमा बोले पनि गम्भीर भएर नै कुरा राखेको थियो।
विक्रमले भने साथीको कुरालाई त्यति गम्भीरतामा लिएन। अहिले हल्का पिएको बेला छ, त्यही सुरमा मलाई चनाको झांगमा चढाइदिरहेको छ भन्ने सोच्यो।
'बाहिर गएर जिरोबाट सुरू गर्न म सक्दिनँ। यहाँ एउटा प्रोफाइल बनेको छ। हो, पैसा उताको भन्दा थोरै होला तर अहिलेसम्म पुग्दो छ,' विक्रमले जवाफ फर्कायो।
सञ्जय अलि चर्किएर चोर औँला उठाउँदै बोल्न थाल्यो, 'कुरो पैसाको मात्र होइन। कुरो अपर्चुनिटीको हो। यदि तैँले यो देशमा भविष्य देखेको छस् भने तँजतिको आशावादी मान्छे मैले अरु देखेको छैन।'
उसले नामै लिएर फलानोफलानो नेताको छोराछोरी र नातिनातिना विदेशमा छन् भन्दै फेहरिस्ता लगायो। कतिपय तथ्य बढाइचढाइ गरे पनि उसको कथनी यथार्थबाट पर थिएन। एवम्रितले कुराकानीको सिलसिला अगाडि बढिरह्यो।
रात धेरै पर्न थालेसँगै दुवैजना हितैषीहरू हर्कसाथ छुट्टिए।
त्यसको केही दिनपछि विक्रम ल्यापटपमा केही मिलाउँदै थियो। सजिनाले समीप आएर भनी, 'बाबा, हजुरले थाहा पाइस्यो? शिल्पा दिज्यू क्यानडा सिफ्ट हुन लागिस्याछ। भेना र छोरो पनि उतै लाने रे। यहाँभन्दा छोरोले उतै स्कोप धेरै पाउँछ भनिसिन्थ्यो दिज्यू।'
अर्धांगिनीको कुरामा उसले संक्षिप्त मात्र प्रतिक्रिया जनायो, 'ए हो र?' तर मनमा भने नानाथरी सोचका ज्वारभाटाहरू उर्लन थाले।
सजिनाकी फूपूकी छोरी शिल्पा टिचिङको नर्समा स्थायी जागिरे थिइन् भने उनका पति नाम चलेकै बैंकमा काम गर्थे। उनीहरूजस्तो स्थायित्व भएकाहरूसमेत बाहिर जान लागेको सुनेर विक्रमलाई अलिकति अनौठो महसुस भयो। उसले ल्यापटप थन्काएर अलिक अघि सञ्जयले भनेका कुराहरू झलझली सम्झ्यो। त्यस दिन गम्भीरतासँग नलिएका उसका तर्कहरूले विक्रमको मनमा विस्तारै कम्पन ल्याउन थाले।
साँचै नै सबैजना पढेलेखेका उसका दौँतरीहरू कि बाहिर पुगिसकेका थिए या जाने क्रममा थिए। उसले यसो सम्झ्यो नेपालमा रहेका उसका साथीहरूमा प्रायजसो सरकारी जागिरे थिए। प्राइभेटमा औँलामा गन्न सकिनेहरूमात्र कि कन्सल्ट्यान्सी खोलेर अथवा कि हाइड्रोपावर र केवलकार प्रोजेक्टमा थिए।
दिनहरू बितेसँगै विक्रमलाई भविष्यको अनिश्चियी भयले सताउन थाल्यो। उसको फेसबुकको भित्तो विदेशको पुलमा खम्बाजसरी उभिएर पोज दिएकाहरू, समुद्री किनारमा जलक्रिडा गरिरहेकाहरू अथवा विदेशी पार्कमा पिकनिक मनाइरहेका साथीहरू र नातेदारको तस्विरले रंगिएको हुन्थ्यो। ती पहिले पनि थिए तर अहिले भने तिनको असर मन कोक्याउने गरी उसलाई पर्यो।
एकदिन ल्यापटप स्क्रिन स्क्रोल गर्ने क्रममा उसका आँखाहरू एउटा पोष्टमा पुगे। उसको एक मित्र लेखेको थियो, ‘स्मार्ट ग्रीन सिटीको मेरो पिएचडी प्रपोजल अमेरिकाको प्रतिष्ठित एरिजोना स्टेट विश्वविद्यालयबाट छात्रवृत्तिको लागि अनुमोदित भएको छ। स्काइ इज द लिमिट।'
विक्रमले वयस्क भएपछि जीवनमा अरुको नकारात्मक ईर्ष्या सायदै गरेको थियो होला। तर त्यस दिन साथीको अमेरिका उडानको कुराले उसको आत्मविश्वासको विशाल महल गर्ल्यामगुर्लम ढालिदियो। चालै नपाई उसको मनमा डाहा र हीनताबोधले ठूलो स्थान बनाउन थालिसकेका थिए। रातमा राम्रोसँग निद्रा पर्न छाड्यो।
साथीभाइ, छरछिमेक र नातागोता जता हेरे पनि आफ्ना उमेरका मानिसहरू देशबाहिर जान लालायित देखेपछि विक्रमको मस्तिष्कमा आफू मात्र पछि परेको हो कि भन्ने विचार झन् टड्कारो गरी उठ्यो। उसलाई आफ्नोभन्दा पनि छोरोको अझ धेरै चिन्ता थियो।
'छोरो नेपालमै हुर्किए सञ्जयले भनेझैँ कतै अवसरहरूबाट बञ्चित हुने त होइन? आफू स्वयम् पनि के अहिलकोभन्दा धेरै डिजर्भ गर्छु, हैन र? के ममात्र आफू उभिएको जमिन हल्लिरहेको चाल नपाइकन चीर निद्रामा छु?' आफ्ना प्रश्नहरूको प्रष्ट जवाफ उसले ठम्याउन सकेन।
सञ्जयले रेष्टुराँमा छुट्टिने बेला भनेको कुराले विक्रमलाई झन् गड्न थाल्यो। उसले भनेथ्यो, 'पैँतीस चालिस वर्ष अगाडि हाम्रा बाउहरू अवसरको खोजीमा आफ्ना सन्तानको भविष्य राम्रो होस् भनेरै गाउँबाट सहर छिरेका थिए। तिनले खानलाउन सब पुगेको छँदै छ भनेर गाउँमै बसिरहेको भए अहिले पनि कि त किसानी वा पुरेत्याइँ गरेर मात्र बसिरहेका हुन्थे। हामीले यस्तो जीवन पाउने थिएनौँ। अहिले विदेश जाने कुरा ठ्याक्कै त्यस्तै लाग्छ मलाई।'
विदेश जाने कुरो आजको भोलि भइहाल्ने कुरा होइन भन्ने विक्रमलाई राम्रोसँग थाहा थियो। फेरि ऊ अल्लारे उमेरको विद्यार्थी थिएन। व्यावसायिक जिम्मेवारीहरू उसका काँधमा थिए। आफ्ना मातापिता र पत्नी सजिनासँग पनि घरसल्लाह गर्नुपर्यो। तैपनि बाहिर जाने प्रक्रियाको बारेमा बुझ्दैमा केही बिग्रने पनि होइन भन्ने सोच्यो। भोलिपल्ट उसले क्यानडाको अप्लाइ गर्ने बारे काउन्सलिङ लिन समय मिलाएको थियो। त्यस रात ऊ मजाले निदायो।
आफ्नो पति एकबिहानसम्म नबिउँझिएको देखेर सजिना झर्किँदै कोठामा पसी। छोरो श्रेयांश पनि आफ्नो बाबुसँगै मस्त निदाएको थियो। उसले झ्यालका पर्दाहरू खोलिदिई। घामका किरणहरू पलङमा फैलिए र विक्रमको मुहारमा स्पर्श गर्न थाले।
सजिना कराउन थाली, 'बाबा, उठिस्यो न भन्या। धेरै ढिलो भइसक्यो।'