किताब पछाडि लुकेर बस्दा
मलाई भित्रभित्रै धमिराले
खाएको छ
मक्किसकेको छ मस्तिष्क
अशक्त छ
यसले पागलपन निम्त्याउँछ
पागलपनले बेकामे प्रश्नहरू
यी प्रश्नहरूमा म मिठो सुगन्ध पाउँछु
विसंगतीको
विद्रोहको
आक्रोशको
क्रान्तिको
यी सुगन्धहरूलाई अत्तरले ढाकिटोपल्छु
सक्तिनँ
आफ्नै शरीरको गन्धले ढाकिटोपल्छु
सक्तिनँ
यी बेकोमे प्रश्नहरू
भूमिगत रुपमा आउँछन्
र हर रात ऐठन गर्छन्
तिमीलाई थाहा छ?
तिम्रो छातीभरिको तक्मामा
म निर्दोष आत्माहरूको लास किन
प्रतिबिम्बित देख्छु?
तिमीले लगाउने श्रीपेचका मोतीहरू
किन आँसुले भरिएका कलिला
बालबालिकाका आँखा जस्ता लाग्छन्?
तिमीले हर रात मौज मस्ती गर्ने मधुशाला
किन मलाई बधशाला जस्तो गन्हाउँछ?
जहाँ नरमुण्डमाला लगाएका राक्षस नाच्छन्
जहाँ वरिपरि क्रन्दनको धुन गन्जिन्छ?
तिमीले इश्वर मानेर पूज्ने
मौन शालिक
मलाई बैरी किन लाग्छ?
अन्धो किन लाग्छ?
नतर्साउने भूत जस्तो किन लाग्छ?
ए... महँगो बस्त्र लगाएर
आत्मा नांगो भएको मान्छे
एकचोटि
गरिब भएर
छाप्रोमा बसी
हिउँदको चिसो सिरेटो खाई हेर
ए... अवसरवादी मूर्खहरू
तिमीहरू भोको छौ
खोक्रो छौ
तिमीहरू आफैमा जात्रा हौ
जात्रा खोज्दै नहिड
ए... आलिसान महलमा बस्ने सामन्तीहरू
एकचोटि सुकुमबासीमा बसी हेर
दशगजामा घर बनाई हेर
ए... मान्छेहरूको भर्याङ चढेर
घुम्ने कुर्सीमा मौज गरेका मन्त्रीहरू
एकचोटि शरणार्थी बनी हेर
एकचोटि मधेशी बनी हेर
एकचोटि मजदूर बनी हेर
एकचोटि दुनियाँ उत्पीडित वर्गको नजरले हेर
ए... मेरा प्रिय कमरेडहरू
तिम्रो अस्तित्व डगमगाए
डगमगाउन देऊ
तिमी भित्रको आक्रोशको ज्वालाले
विद्रोही चेतले
क्रान्तिको बिउ रोपी हेर
दुनियाँ उत्पीडित वर्गको नजरले हेर
तिमीलाई लल्कार्लान्
तिम्रो आलोचना गर्लान्
तिम्रो विचारमाथि प्रश्न गर्लान्
तिमीलाई मन नपराउलान्
तर तिमी अडिग रहनू
दुनियाँ उत्पीडित वर्गको नजरले हेर्नू
र कसैले के भयो भनेर सोधेँ
तिमी क्रान्ति भनिदिनू।