कोभिडको दोस्रो 'भेरियन्ट' चलिरहेको थियो। सरकारले लकडाउन भने केही खुकुलो गरेको थियो। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनको निम्ति सूचना जारी गरेको थियो। कोभिडले मानिसलाई घरभित्र थुन्यो। समय बिताउन इन्टरनेटसँगै समाजिक संजाल साथी भए।
सामाजिक संजालको विभिन्न माध्यमहरू खुलेसँगै मानिसहरूसँग जोडिन सहज भएको छ। फेसबुक, मेसेन्जर र जुममार्फत एकैपटक थुप्रै साथीभाइ, आफन्तहरूसँग जोडिएर कुराकानी गर्ने मौका मिलेको छ। समय रोकिएजस्तो भएको छ। मानिसहरूका दैनिकि फेरिएका छन्। व्यस्त भागदौडको जिन्दगीबाट एकपटक आफूले आफैंलाई हेर्ने र जीवनमा आफूले तय गरेर आएको बाटो नियाल्ने अवसर पनि प्राप्त भएको छ।
परिवारसँगको सम्बन्धमा आत्मियता थपिएको छ। घर साँच्चिकै घर जस्तो भएको छ। कोभिडले सम्बन्धहरू अपडेट गर्ने ठूलो अवसर प्रदान गरेको छ। विभिन्न कामको बहानामा परिचय भएका साथीहरूसँग पुन: एकपटक कुराकानी गर्ने मौका मिलेको छ। स्कुल, कलेजका सहपाठीहरूसँग सामाजिक संजालमार्फत जोडिएर पुराना दिनहरू सम्झिएर गफिने समय प्राप्त भएको छ।
एकदिन गफगाफको क्रममा केही साथीहरूले टिकटकमा जोडिनको निम्ति सुझाए। आफूलाई त्यसबारे जानकारी नभएको कुरा बताएपछि जुममार्फत नै साथीहरूले मोबाइलमा टिकटक अकाउन्ट खोल्ने तरिका पनि सिकाए। टिकटक अकाउन्ट खोलियो। अधिकांश चिनेका साथीहरू र केही नचिनेका साथीहरूसँग फलो, फलो ब्याकको सिलसिला चल्यो।
एक साँझ 'सानी' नामको टिकटक आइडीबाट म्यासेज आयो। टिकटक अकाउन्ट खोलेपछिको त्यो पहिलो म्यासेज थियो। खोलेर हेरेँ, नचिनेको केटी साथीको भिडिओ म्यासेज रहेछ। उनले आफ्नो भिडिओ लाइक र कमेन्ट गर्न पठाएको हुनसक्ने बुझेर भिडिओमा लाइक गरेँ। म्यासेजको रिप्लाइमा लेखेँ- 'हजुरको भिडिओ हेरेँ राम्रो लाग्यो। आगामी दिनमा पनि यस्तै भिडिओहरू देख्न पाइयोस् शुभकामना!'
उताबाट तुरुन्तै रिप्लाई आयो- 'मलाई राम्रोसँग एक्टिङ गर्न आउँदैन, रहर लागेर मात्र बनाएको हो।'
मैले प्रतिउत्तरमा लेखेँ- 'टिकटकले आफूसँग रहेको कला प्रस्तुत गर्न ठूलो मञ्च प्रदान गरेको छ। जहाँ लाखौँ, करोडौँ मानिस सामु हजुरको कला क्षणभरमै पुग्छ। प्रयास गर्दै गर्नुस कलामा निखारता आउनेछ। रहरले कलाकारितामा लाग्नेहरू पनि सफल कलाकार बनेका छन्।'
उताबाट हवस् भन्ने जवाफ आयो।
बेलुका टिकटक खोलेर हेर्दा उनैको अर्को भिडिओ म्यासेज आएको रहेछ। 'कति लामो कपाल' रिप्लाई गरेँ। एकैछिनमा रिप्लाई आयो, 'पहिला अझै लामो थियो, अहिले काटेको।'
'हजुरलाई लामो कपाल मनपर्छ हो?'
'हजुर!'
'उसोभए अबदेखि छोटो गर्दिनँ हस्!'
उताबाट मैले अनुमान गरेभन्दा फरक रिप्लाई आयो। मैले रिप्लाईमा हजुरको मर्जि भन्ने रुखो जवाफ फर्काएँ।
यो हाम्रो कुराकानीको दोस्रो दिन थियो। उनले अथवा मैले नचाहँदा गफगाफको अन्तिम दिन आजै पनि हुनसक्थ्यो। तर उनले गफगाफको निम्ति लामो बाटो तय गरिन्। राम्रोसँग परिचय पनि नभएको मान्छेबाट फगत प्रशंसा पाउनको लागि मात्र हो वा अरु कुनै स्वार्थको निम्ति उनले आगामी दिनमा कपाल नकाट्ने निर्णय गरिन्।
त्यसपछि बिहान, बेलुका टिकटकको म्यासेजमा नियमित कुराकानीहरू भयो। अलिपछि मोबाइल नम्बरको आदान-प्रदान गरियो र भाइबरमा कुराकानी हुन थाल्यो।
गफैगफमा एकदिन उनले भनिन्- 'आजबाट हजुर मेरो मिल्ने साथी हवस्?'
मैले हवस् भने!
'मिल्ने साथीहरू मध्ये हजुर तेस्रो नम्बरमा पर्नुहुन्छ,' यति भनेर उनी लामो हाँसो हाँसिन्।
पहिलो र दोस्रो नम्बरमा को-को परेछन् भनेर जान्ने इच्छा भएर सोधेँ। 'आज होइन पछि अरु कुनै दिन भन्छु ल' भनेर फोन राखिन्।
उनले मेरो दैनिकी पछ्याउन थालिसकेकी थिइन्। बिहान अर्लामभन्दा पहिला उनको फोनको घन्टी बज्न थाल्यो। घामभन्दा पहिला नउठ्ने मलाई घामसँगै उठ्ने बनाइन्। दिनभरि गरेको काम भेटेका मान्छेहरू ती मान्छेहरूसँग गरिएका सामान्य कुराकानीमा समेत चासो राख्न थालिन्।
दिउँसो काममा हुने भएकोले रातको समयमा धेरै कुराकानीहरू हुन थाल्यो।
एकरात उनले सोधिन्- 'हजुर आजसम्म कसैको प्रेममा पर्नुभएको छ?'
'प्रेम भनेको के हो सानी?' मैले जवाफको सट्टा प्रतिप्रश्न गरेँ।
उनले सिरक भित्रबाट हाँसो मिसिएको जवाफ फर्काइन्- 'त्यो त मलाई पनि थाहा छैन।'
'मैले हजुरलाई आजसम्म नभनेको र पछि कुनै दिन भन्छु भनेको कुरा आज भन्न चाहन्छु। यो कुरा भनेपछि सायद हजुर मसँग बोल्नुहुन्न होला।'
उनले आफ्नो कुरा राख्नुभन्दा पहिला मसँग बिदा माग्दै भनिन्- 'यतिका समय बोलचाल भयो खुसी लाग्यो। हजुरसँग बोलेर मेरो बिहानीको सुरुआत हुन्थ्यो र आजको जसैगरी रातको अन्त्य हुन थालेको थियो। हजुर असल मान्छे हुनुहुँदो रहेछ। मैले हजुरलाई एक नम्बरको साथीमा राखेको छु।'
मैले हाँस्दै भनेँ- 'उसोभए प्रमोसन भएको दिनमा नै जागिर गएजस्तो हुने भयो।'
मेरो हाँसो नरोकिँदै उनले सोधिन्- 'दोस्रो र तेस्रो नम्बरको साथीको बारेमा जान्न चाहनुहुन्न?'
मैले भनेँ- 'प्रथम भएको मान्छेलाई दोस्रो र तेस्रोको साथीको बारेमा किन चासो राख्नुपर्यो र?'
गफाडी भन्दै हाँसिन्।
'तर आज म हजुरलाई भन्छु।'
'मलाई सुन्नु छैन!'
'मलाई भन्नु छ। दोस्रो साथी मेरो पूर्वप्रेमी हो। जोसँग म करिब छ महिना सम्बन्धमा रहेर छुटेको थिएँ। अझ भनौँ छुटाइएको थियो। केटाको घर हाम्रो घर नजिकै थियो। दादालाई हाम्रो सम्बन्धको बारेमा जानकारी गराएपछि उहाँले केटालाई मन पराउनु भएन र हामीले सहमतीमा नै छुट्टिने निर्णय गरियो।'
मैले उनको कुरा ध्यानपुर्वक सुन्दै गएँ।
उनले सन्तोष नाम गरेको पूर्वप्रेमी सँगको सम्बन्धको बारेमा भन्दै गइन्। करिब एक घण्टा बोलेपछि उनले सन्तोषसँगको प्रसंगलाई टुङ्ग्याउँदै भनिन्- 'अहिले पनि कुरा हुन्छ कहिलेकाहीँ तर औपचारिकताको लागि मात्र बोलिन्छ। पहिले जस्तो घण्टौँ कुराकानी हुँदैन। अब त्यसरी गफिने विषय पनि रहेनन्। ऊ अष्ट्रेलियामा थियो र अहिले पनि उतै छ। तेस्रो साथी चाहिँ मेरो बेस्टफ्रेण्ड सुनिता हो। हजुरसँग यति कुरा शेयर गर्न पाउँदा निकै गह्रौं भारी बिसाएको महसुस भएको छ। यति सुनिसकेपछि त आजबाट हजुर पनि मसँग बोल्नुहुन्न होला है?'
'सुनेर दु:ख लाग्यो। तिमीले विगतको आफ्नो सम्बन्धको बारेमा जे-जति कुराहरू भन्यौ यो सामान्य कुरा हो। यसकारण पनि यो सामान्य भयो कि तिमीले एक मिल्ने साथीसँग भनिरहेकी छौ। यसले हाम्रो सम्बन्ध र मलाई केही फरक पर्ने वाला छैन। तिमी ऊसँग कुराकानी गर्न स्वतन्त्र छौ।'
मैले प्रसंग बदलेर भनेँ, 'तिमीलाई जस्तै मलाई पनि बिहान-बेलुका तिमीसँग बोल्ने बानी परेको छ। आजबाट तिमी पनि मेरो एक नम्बरको मिल्ने साथी हवस्?'
उनले सिरक भित्रबाट बच्चा जसरी बोलिन्- 'हजुरले मलाई जिस्काउनु भएको हो?'
उनले बच्चा जसरी बोलेको मलाई खुब मनपर्छ।
'भोलि बिहान चाँडै उठेर कलेज जानुछ अब सुतम् ल!'
मैले सहमति जनाएँ, उताबाट फोन काटियो।
म सुतेँ तर निदाउन सकिनँ। उनी त्यो सन्तोष भन्ने केटासँग बोल्ने कुरा मलाई निको लागेन। उनलाई नबोल्नको निम्ति आग्रह गर्न मसँग कुनै कारण थिएन। मेरो खुसीको लागि उनको खुसीलाई तिलाञ्जली दिनु भनेको स्वार्थी हुनु पनि हो। राति अबेरसम्म निद्रा परेन।
भोलिपल्ट बिहान सधैँझैं मोबाइल फोनको घण्टी बज्यो। मैले उनको कल रिसिभ गरिनँ। विगत तीन महिनामा पहिलो पटक उनको गूड मर्निङको आवाज बिना दिनको सुरुआत गर्न जाँदैछु।
खासमा मैले उनीसँगको सम्बन्धको परिभाषा जान्न खोजिरहेको छु। बिहानको गूड मर्निङबाट सुरुआत भएको दैनिकिमा दिनभर कतै न कतै उनी जोडिएकी हुन्थिन्। खाजा खाए नखाएको बहानामा होस् वा अरु कुनै बहानामा फोनमा कुराकानी हुन्थ्यो। त्यस दिन पनि गरिन् तर मैले फोन उठाइनँ।
म्यासेज गरिन्- 'हजुर आज बिहानदेखि नै बिजी हो र?'
मैले म्यासेजको पनि रिप्लाई गरिनँ।
बेलुका खाना खाएर सुत्ने बेलामा चार्जमा राखेको मोबाइल हेरेँ, एघार मिसकल देखायो। एघार पटक नै उनले फोन गरेकी रहिछन्। मैले कलब्याक गरेर भनेँ- 'सानी, आजबाट हामी रात्रिकालीन कुराकानी बन्द गरौँ।'
उनले कारण जान्न खोजिन्।
'कुनै नजिकको नाता सम्बन्ध नभएको केटा र केटी राति अबेरसम्म बिना कुनै कारण दैनिक कुराकानी गरिरहनु भनेको सामान्य मित्रताले मात्र हाम्रो सम्बन्धलाई न्याय गर्दैन। हाम्रो सम्बन्धको परिभाषा के हो? आज म तिम्रो मुखबाट हाम्रो सम्बन्धको परिभाषा सुन्न चाहन्छु।'
'हजुरलाई अचानक के भयो? हिजोसम्म त ठिकै थियो त!'
'हिजोसम्म यसकारण ठिक थियो कि मैले ठिक मानिरहेको थिएँ। तर आजबाट म हाम्रो कुराकानीको शैली र सम्बन्ध बदल्न चाहन्छु।'
मेरो कुरो नटुंगिँदै उनी बीचमै बोलिन्- 'मलाई बदलिएको सम्बन्ध मन्जुर छैन।'
'मलाई अहिलेको सम्बन्ध मन्जुर छैन। यसले हामीलाई विस्तारै प्रेमको बाटोतिर लैजान्छ। म त्यो असहज र कठिन बाटोमा प्रवेश गर्न चाहन्नँ।'
निकै बेरको मौनतापछि उनी बोलिन्- 'प्रेम जीवनको सबैभन्दा सहज र सरल बाटो हो। मानिसले थाहा नपाई कतिबेला गन्तव्यमा पुग्छ थाहा हुन्न। हजुरले भनेजस्तै दैनिक राति अबेरसम्म कुनै युवायुवती अकारण फोनमा घण्टौँ कुराकानी गर्नु सामान्य मित्रताले मात्र यो सम्बन्धलाई न्याय गर्दैन। सन्तोषसँगको बिछोडले आहत भएको बेलामा हजुरसँग परिचय भयो। हजुरसँगको दैनिक कुराकानीले उसको अभाव कहिल्यै महसुस गरिनँ। ऊसँगको आत्मियता र भावनात्मक सम्बन्धको परिपूर्ति हजुरमार्फत भयो। सायद हजुर नभेटिनु भएको भए म मानसिक तनाव वा डिप्रेशनमा पुग्थेँ होला। हजुरसँगको मित्रता र सामीप्यताले नै हाम्रो सम्बन्ध यहाँसम्म आइपुग्यो। म हजुरलाई प्रेम गर्छु!'
उनी बोलिरहँदा म नि:शब्द भएर आफूले आफैसँग प्रश्न गरिरहेँ।
उनले मप्रति दर्शाएको प्रेम साँच्चिकै प्रेम हो वा क्षणिक आकर्षण मात्र हो?
यदि प्रेम नै हो भने पनि यो कुन तहको प्रेम हो?
प्रेम गर्छु भन्नु र साँच्चिकै प्रेम गर्नुमा के-कति भिन्नता छ?
केलाई प्रेम भन्ने वा केलाई क्षणिक आकर्षण मात्र भन्ने?
मैले छुट्याउन सकिरहेको थिइनँ।
मेरो नि:शब्दताको बीचमा उनी फेरि बोलिन्- 'आजबाट हजुरलाई साथी भनौँ कि प्रेमी?'
फेरि पनि म केही बोलिनँ।
केही बेरपछि उनी निदाएको आभास भयो र फोन राखेँ।