मलाई थाहा थियो तिमीलाई
सुवासिनताले तान्छ
त्यसैले फूलको कविता मन पर्छ
मलाई थाहा थियो
तिमीलाई काँडा मन पर्दैन तर
कोमल फूलको कविता मन पर्छ
तर
तिमीलाई के थाहा
काँडाको तिखाइभित्र पसेर
सुन्दर कविता लेख्छन् कविहरू
रगतको पोखरीमा डुबुल्की मारेर
सुन्दर कविता लेख्छन् कविहरू
मलाई थाहा थियो
तिमीलाई ढुकुरको
मुकुरमुकुर घुराइमा
स्वघुलित प्रेमको
कविता मन पर्छ
तर
तिमीलाई के थाहा
ढुकुरको गुँड भत्किएर
त्यही जोडी रोइरहँदा
पीडाभित्रै डुबेर
सुन्दर कविता लेख्छन् कविहरू
बगैँचा डढेलोले फुलिरहेको बेला
सु-कोमल सुन्दरताको
कविता लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
द्रौपदीको पीडाभित्र पसेर
दुश्सासनको कथा लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
तर
तिमीलाई के थाहा
कागजको
फूल सजाएर पनि
सुन्दर कविता लेख्छन् कविहरू
सकुनिको भेष लिएर पनि
सुन्दर कविता लेख्छन् कविहरू
कर्णालीमा डढेलो लागेको बेला
दमकल कोशी जानु परेको कथा
देश रोहिरहेको बेला दुश्मनहरू
शहर पसेको कथा लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
तर
तिमीलाई के थाहा
त्यही पानी विहीन धारोकै पनि
सुन्दर कविता लेख्छन् कविहरू
गाउँमा घर उजाडिएको देख्दा देख्दै
पनि सुन्दर कविता
लेख्छन् कविहरू
देश देशद्रोहीसँग लड्दै थियो
घुस र घुसियासँग लड्दै थियो
कर्णालीको पीडा राजधानीले नसुन्दा
क्षितिज क्षितिजको फाटोमा
जितको आश गरिएको सँगै
युद्ध हार्दै थियो
साँच्चै
देशले नयाँ पाइलट खोज्दै थियो
जे देखियो सबै लेखियो
तिमीलाई मन परेन
तर
तिमीलाई के थाहा
युद्ध हार्नेहरूकै चित्कारमा
सुन्दर कविता लेख्छन् कविहरू
पीडामा जल्नेहरूकै रागमा
सुन्दर कविता लेख्छन् कविहरू
तिमीलाई मात्र थाहा भयो
सहजताको पुलकित
यात्रा मात्र
कविको कलमको साथी हुन्छ
के बुझ्थ्यौ खै
अक्सर कठिनता भित्र लुकेका
भावले नै मन र मस्तिष्क छुन्छ
र त भन्न मन लाग्छ
तिमीलाई सुवासिनताले तान्छ
त्यसैले फूलको कविता मन पर्छ।