'कता हो दाइ आज मेलो?'
'ठूलाघरे साइलीकाँ हो कान्छा। तेरो कता हो?'
'बाटामुनि ठुलेकाँ हो।' 'अँ साँच्चै पर्सि २१ गते शन्सिरबार बाटाघरे माइलाकाँ दुइहल गोरु लेर आइजा भनेका छन्। तिम्रा एकहल गोरु र तिमीलाई नि बोलाका छन्। अन्त भर नदे है त।' 'हुन्छ हो ल।'
'पक्का है त? '
'ल हो ल ।'
फुलाराम दर्जी र हरेराम हरेराम वि.क.। हाम्रो गाउँका प्रख्यात हली। उमेरमा फुलाराम हरेरामभन्दा २ वर्ष जेठा छन्। तर उनीहरू सहकर्मी हुन्, सहपाठी हुन्। गाउँ गएको बेला मेरा समय बिताउने दाइहरू।
'हेर ठूला यो गाउँमा हामी दुईले नजोतेको कुनै ठाउँ छैन होला।' मसँगको भेटमा सुनाउँथे। म पनि सानोमा उनीहरूकै हलो समाएर जोत्न सिकेको हुँ। हाम्रो घरमा जोत्न बोलाएको बेला स्कुल सकिनेबित्तिकै उनीहरूले जोतेको ठाउँमा पुग्थेँ। अनौमा मेरो हात राखिदिएर आफ्नो हातले समाएर मलाई जोत्न सिकाएका थिए।
'तैंले यस्तो जोतेर खान हुन्न है जेठा। पढेर ठूलो मान्छे बन्नुपर्छ।' सानैदेखि मलाई सम्झाउथे।
जोत्ने बेला सधैं सँगै हुन्थे फुलाराम र हरेराम। बोलाउनेले पनि दुवैलाई प्राय: सँगै नै बोलाउँथे।
'यो हरेको जोताइ जाद्रै राम्रो छ। गोरुलाई पनि नपिटी कस्तो आनन्दले जोत्छ, मेलो पनि सार्छ। जोत्न त फुलेले पनि राम्रै जोत्छ तर तेल्ले अल्लि गोरु पिट्छ। नत्र जोत्न त तो पनि कम्तीको त छैन।' हाम्रो ८० वर्षको हजुरबुबा बयान गर्नुहुन्थ्यो।
सानैदेखि गरिबी र अशिक्षाको चपेटामा परेका फुलाराम र हरेरामले जीवनको ६ दशक काटिसक्दा पनि सुखको स्वास कस्तो हुन्छ अनुभूत गर्न पाएका छैनन्। उनीहरूको दैनिकी भनेकै जोत्ने समयमा जोत्ने, हिँउदमा दाउरा काटने, ढुङ्गा निकाल्ने/बोक्ने, काठ बोक्ने यस्तै यस्तै हुन्।
परार सालको खडेरीमा जोत्दा जोत्दै हरेराम गर्मीले बेहोस भए। धन्नसँगै फुलाराम थिए र पानी दिएपछि होस खुल्यो।
हुन त दुवैले दुवैलाई जीवनमा धेरै गुन लगाएका छन्।
फुलारामलाई दाउरा काट्दा बन्चरोले आफ्नै खुट्टामा लाग्दा बोकेर अस्पताल लैजाने हरेराम हुन्। हरेरामलाई गोरुले ठहरै पारेर हान्दा अस्पताल लैजाने फुलराम हुन्। अरिङ्गालले टोक्दा होस् वा रूखबाट ढाल्दा रूखको फेद उछिट्टिएर लाग्दा होस् या त भीरबाट लडेर घाइते हुँदा होस् दुवै एक अर्काको सारथि हुन्छन्।
जीवनको उम्रँदो उर्वर र ओइलाउँदो उमेरसँगै बाँचेका फुलाराम र हरेराम दु:खदेखि कहिल्यै हारेनन्।
फुलारामको जेठो छोरो साउदीमा बित्दा होस् वा हरेरामको साइली छोरी भिरबाट लडेर बित्दा। दुवैले एकअर्कालाई बहुत सम्झाएका हुन्। पीडा मनमा बोकेर भए पनि पौरख गरिरहे। अरूका अगाडि कहिल्यै दु:ख पोखेन। परिवारको जिम्मेवारी र हलो जुवा कोदालो बञ्चरो काँधमा बोकेर हिँड्दा पनि अहँ कहिल्यै काँध फेरेनन् न त काँध बिसाए।
'अब त बुढो भैयो हो जेठा। पैले जस्तो काम गर्न पनि सकिन्न। फेरि नगरौं भने पनि तिमीहरू जस्ता केटाहरू कोही छैनौ। हाम्ले पैले जोतेका आदि खेतबारी त बाँझै भैसके। यी गोरुले जोत्नि त हामी जिउँदो हुन्जेल मात्रै त होला केरे।' मसँगको भेटमा सुनाउथे।
हुन त अहिले फुलराम र हरेराम दुवैका छोरा विदेश गएका छन्। पुरानो खरको छानामा टिन हालेर चिटिक्क परेको घर बनाएका छन्।
'हाम्ले जीवनभर जोतेर खर फेर्न सकेनम तर रामे (फुलरामको माइलो छोरो) र भक्ते (हरेरामको कान्छो छोरो) विदेश गएसी त घरमा टिनसम्म हाल्न सके। देशाँ बसेर केही हुन्न क्याओ जेठा?' फुलारामले सोध्छन्। म निशब्द हुन्छु।
छोराहरू विदेशिए। बुहारीहरू नातिनातिना पढाउन बजार झरे तर पनि उनीहरू अझै आफ्नो कर्म गर्न छोडेका छैनन। हलो, जुवा, कोदालो, बञ्चरो उनीहरूका सारथि हुन्। उनीहरूले नत कहिल्यै ठूला सपना देखे न त ठूलाठूला चाहना नै।
'म त हेर टाढा गाको भन्नि त्यै बुटोल हो। यो हरे भनि चितोनसम्म पुग्यो छ क्याओ। तो पनि म छोरी बिरामी हुँदा गएको हुम। यो फेरि स्वास्नी बिरामी हुँदा गएको हो। तो घरैघर जाद्रै रमाइलो हुन्छ होला है सहरमा त जेठा।'
'हो दाइ साँच्चै रमाइलो हुन्छ। जति घरैघर भए पनि हामीजस्तो गाउँमा जन्मिएको हुर्किएको सबैसँग रमाएर बास्ने आफ्नोपन साट्ने घुलमिल हुने मिठो मसिनो साटेर बाँडेर खाने। हर आपतविपतमा सहयोग गर्नेलाई सहरले सिकाएको बिरानो स्वार्थी व्यवहार सम्झिँदा साँच्चै नै रमाइलो हुन्छ दाइ। भन्न त यस्तो मन थियो तर भनिनँ केवल हो दाइ भनेर टाउको हल्लाएँ।'
हामीले भोगेका दु:ख र दाइहरूले भोगेका दु:ख फरक छन्। उहाँहरूलाई जति दु:ख लागे पनि आफू बाँचेको भूमि प्यारो लाग्छ। हामीलाई सानै दु:खमा पनि देश छोडौं लाग्छ।
'त्यो पोओरको चुनावमा हाम्रो घरका सप्पैको भोट माग्न दानेले बिबिस हजार दिन्छु यो पालि हाम्रो पार्टीलाई भोट देऊ है दाइ भन्दै आओ। जिन्दगीभरि भोट हालेको आफ्नो पार्टीलाई छोडेर त्यो जाबोको पार्टीलाई केन भोट दिम हेर जेठा। खुब पैसामा फकाउन खोजेको।'
हरेरामले यसो भन्दै गर्दा फुलाराम मुस्कुराउँदै थिए हो भन्ने भावमा।
यी र यस्तै सोझा जनताको भोट पाएर देश चलाउने नेताले यिनीहरूमाथि गरेको राजनीति विचराहरूले के बुझ्थे। बेरोजगारको पीडाले विदेशिएको छोरो उतै बित्यो। भिरबाट लडेकी छोरी समयमै उपचार नपाउँदा अकालमै मरी। बिचराहरूलाई अझै पनि मेरो र तेरो पार्टी भन्नेछ।
केहीदिनको गाउँघरको बसाइमा धेरै समय उनीहरूसँगै बिताएँ। उनीहरूका सुखदु:ख सुन्ने बुझ्ने मौका पाएँ।
'अब त जागिरे भैचस्। अर्कोचोटि आउँदा हाम्लाई एकएक वटा माथि लाउनी कोट ल्याइदिएस् है जेठा। कतै ब्या स्यामा जाँदा लाउन राम्रो हुनि रैच।' फुलारामले म सहर जाने थाहा पाएपछि भनेका।
'हस हुन्छ दाइ' भन्दै म भेटेर निस्किएँ।
बजार फर्किएर म आफ्नै काममा व्यस्त भएँ। केही नगरी बजारमा बाँच्नै गाह्रो। केही दिन अगाडि थाहा पाएँ फुलाराम दाइले संसार छोडेछन् एक्कासि। निकै नरमाइलो लाग्यो। गरिबी दु:ख र अभावमा बाँचेका फुलारामले संसार छोडे। बिचरा हरेराम पो कसरी बाँच्लान् फुलारामबिना।