हृदयको टुक्रा जत्तिकै प्यारी
आफ्नै छोरीको मूल्य र महत्त्व
पराईको छोरासँग बराबरी पार्नका लागि
मेरा बाबा र उनका बाबाबीच
चलिरहेको छ लामै मोलमोलाइ
तौलिएकी छु म यसरी
केही थान दराज, टेलिभिजन, गाडी र सोफासँग
हुनलाई एउटी योग्य बेहुली!
जोडेर प्रतिष्ठा नयाँ घरसँग
भविष्यको खतरा कम गर्न भन्दै
जनाउँछिन् सहमति मेरै जननीले
बगाउँदै अश्रुधारा
नपरोस् खस्न छोरीले इनारभित्र
नपरोस् मर्न जलेर कतै भान्छामा भन्दै
गर्न चाहन्छिन् आमा बिदाइ मेरो
थपेर भए पनि पहाड जत्रो ऋणको भार
अनि कछिनुपर्छ काँटामा बराबरी हुन
बन्नलाई एउटी योग्य बेहुली म!
कस्तो यो कुप्रथा
उपहार दिने बहाना बनाएर
लेनदेनको यो हाँसो अनि रोदनभित्र
सधैँ बेचिएकोबेचियै छे एउटी छोरी
कहिले हैसियत मिलाउन परायासँग
अनि कहिले शान देखाउन आफ्नासँग
चाहेर पनि नचाहेर पनि
कि त बेरिनुपर्छ सम्बन्धको बन्धनले
या सेरिनुपर्छ यसरी नै
बन्नका लागि एउटी योग्य बेहुली!
कस्तो विडम्बना यो सभ्य समाजको
छुट्टिनु छ रोएर यहाँ
बेचिनु छ तौलिएर वस्तुसरि
कछिनु छ जोखिएर
योग्य छु अब म भन्नकै लागि
केवल धन र प्रतिष्ठाका आँखामा
तैपनि निश्चित छैन भोलिको कुनै
घरबार ठिकठाक चल्छ चल्दैन
परजीवीले पाल्छ वा मारेर फाल्छ
तैपनि सम्पन्न हुन्छ बिहे
भोज भतेरको रौनकभित्र
भिराएर ऋणको भार अनि रूवाएर आफन्तलाई
जानु छ अनिश्चित जिन्दगी जिउन
बनेर एउटी योग्य बेहुली।
सभ्य समाजको असभ्य प्रवृत्ति
लुट्ने एउटा भिन्दै बहाना
मानवसमाजको कालो धब्बा
नारीमाथिको ठाडो अपमान
जोखिने कछिने कस्तो कुप्रथा
नारी जातिकै ठाडो अपमान!