आमा संसारका सारा सुख भोग बेकार
भैदिन्छन् तिम्रो आँचल अगाडि
किनकि तिम्रो निःस्वार्थ आँचलभित्र लुट्पुटिन
नपाई संसार छिचोल्न हिँडेका मेरा
पाइलाको प्रत्येक ठेसमा तिम्रो नाम
अंकित भैरह्यो।
प्रकृतिले निशर्त दिएको तिम्रो ममता
तोते बोल्ने बेलादेखि नै भागबण्डामा पर्यो
कत्रो रुवाबासी मेरो तिमी एकैछिन नहुँदा
कहाली लाग्थ्यो तिमी बिरामी हुँदा
आज छोरी भएकै कारण म तिम्रो
मुहार मात्र पनि अघाउदी हेर्न पाउदिनँ
सबै तिरबाट जिन्दगीले बाँधेको यो शरीर
केबल सामीप्यताकै पर्खाइमा छन्।
कति छिटो बितेछ बालापन आमा
निसन्देह तिम्रो काखमा लडिबुडी खेल्ने म
आज चारै तिरबाट ठक्कर लाग्दा तिम्रो याद धेरै आउँछ
कहिलेकाहीँ भेट्नु पाइन्छ पाहुना बनेर
तिमी के छ भन्छ्यौ र हाँस्छ्यौ
बस् तिम्रो त्यति मुस्कान देख्न म सबै ठिक भएको
नाटक गर्न प्रयत्न गरिरहनेछु।
सानोमा तिमीबाट माया पाउन म थोरै दुख्दा नि
धेरै रोएको झैँ गर्थेँ
आज तिम्रो ओठमा मुस्कान देख्न एक्लै धेरै रुन्छु
र बाहिर हाँसेको नाटक गरिदिन्छु।
म पनि नाटकी भएँ नि आमा अब
सानोमा तिमी हामीलाई खुवाएर नपुगे पनि
अघाए झैँ गर्थ्यौ
आज म पराई मनमा तिमीलाई सम्झिँदै आफू
कम खाएर पनि अनगिन्ती चोटहरूसँग समेत
दिन कटाउन सक्ने भएको छु।
म अलि बिरामी हुँदा कति आत्तिन्थ्यौ है तिमी
आज समयले मलाई कठिन बनाउँदा म दिनकै
मनभरि अपमान र संघर्षले रुँदा पनि आफ्नै
मन उधिनेर सिउन जान्ने भएको छु।