रूसी कवि माल्भिना मात्रासोभाले 'मामा निल्युबित पापु, पापा निल्युबित मामु' शीर्षकको कविता लेखेकी थिइन्।
त्यही रूसी कविताको भावानुवाद यहाँ प्रस्तुत छः
आमाले माया गर्नुहुन्न बाबालाई
बाबाले माया गर्नुहुन्न आमालाई
म पनि ठूलो भएपछि
गर्दिनँ माया कसैलाई
हिजो राति फेरि...
बाझाबाझ भयो
झर्को फर्को हुँदाहुँदै,
पछि स्वर चर्को भयो
बाहिर आँधी चलेको थियो
मुसलधारे झरी परेको थियो
उहाँहरूलाई लाग्यो-
मैले केही पनि सुनिनँ
सुने पनि बुझिनँ
त्यस्तो बेला म आत्तिएर रून्छु
हाम्रो ठूलो घरमा म एक्लै हुन्छु
मेरो सानो कुकुर छ,
लुट्पुटिन आउँछ
उसको निर्दोष मायाले
मलाई झन् रूवाउँछ
भय र पीडामा कुना पसेर
निकै बेर आँसु बगाएँ
न बाबाले खोज्नुभयो,
न आमाले बोलाउनुभयो
म त्यही सानो साथीसँग
सुस्तरी निदाएँ
निद्राले मीठो सपना ल्याउँछ
हाम्रो पुरानो घरमा पुर्याउँछ
त्यो घरमा-
बाबाले मलाई माया गर्नुहुन्छ
आमाले पनि माया गर्नुहुन्छ
मेरो सपनामा-
बाबाले आमालाई माया गर्नुहुन्छ
आमाले बाबालाई माया गर्नुहुन्छ
झरी बन्द हुन्छ
आँधी मन्द हुन्छ
बगैंचामा चराको बथान आउँछ
हाम्रो घरमा फेरि खुसी छाउँछ
हामी घुम्न निस्कन्छौं, पार्कमा रमाउँछौं
हाँस्छौं, खेल्छौं, दिनभरि हराउँछौं
आमाले बाबालाई मायाले हेर्नुहुन्छ
बाबाले आमालाई अँगालोमा बेर्नुहुन्छ
तर...
भान्सामा बजेको भाँडाले
मेरो निद्रा मात्र टुटायो,
सुखको सन्देश ल्याएन
बिहान घर उस्तै उदास थियो
कुनै चमत्कार भएन
तर...
मनमा एउटा आशा
अझै मरेको छैन
के थाहा,
साँझ घर फर्कँदा बाबा
केक बोकेर आउनु हुन्छ
मलाई धेरै मन पर्छ, त्यसैले
आइसक्रिम पनि ल्याउनु हुन्छ
आमालाई गुलाफ मन पर्छ
बाबाले बुके ल्याउनु हुन्छ
आमाले पनि बाबालाई
मनपर्ने लुगा लाउनु हुन्छ
भान्सामा भेला भएर हामी
केक काट्नेछौं
गाउँदै, नाच्दै खुसी साट्नेछौं
मेरो सानो कुकुर,
पुच्छर हल्लाउँदै आउँछ
चकचके छ साह्रै,
सबैलाई हसाउँछ
त्यो घर फेरि
हाम्रो घरजस्तो हुनेछ
न कोही रिसाउँछ त्यहाँ
न कोही रूनेछ...
के तपाईंले बुझ्नुभयो
परिवारमा सबै मिलेर
किन गीत गाउनु पर्छ?
दिल खोलेर घरभित्र
सबैले हाँस्न पाउनु पर्छ
छोराछोरीलाई स्नेहले
सुम्सुम्याउनु पर्छ
तिनको व्यथा के हो
थाहा पाउनुपर्छ
ताकि,
हाम्रा बाबुनानीले कुनै रात
सिरक ओढर रूनु नपरोस्
ती सपनाको दुनियाँमा रमाउन्
तर्सिएर तिनले उठ्न नपरोस् !
हाम्रा छोराछोरीले यो दुनियाँ
सुन्दर देखुन्, कुरूप नठानुन्
तिनले प्रेम गर्न सिकुन्
घृणा गर्न नजानुन्
ताकि,
आफ्नो कलिलो स्वरमा
हाम्रा सन्तानले
कहिल्यै नभनुन् अरूलाई
कि, 'म पनि ठूलो भएपछि
गर्दिनँ माया कसैलाई !!!'