मनभरि धुम्म लागेको तुवाँलो
हातैले पुछेर
प्रभातको दैलो उघार्दै
हरेक दिन पूर्वी क्षितिजको
आँगनमा ऊ रोप्छे
स्वर्णिम घामहरू
परेवालाई दाना छरेझैं
आकाशको करेशाभरि
बादलको ब्याडमाथि छरिदिन्छे
स्वप्निल आशा अङ्कुराइरहेका
सुनौला दिनहरू
मनको सन्दुसभित्र थुनेर
बाँसका मुनाजस्ता
आफ्ना कलिला रहरहरू
उमारिदिन्छे घरभरि
पखेँटाको जलप लगाएका सपनाहरू
आफ्नो आँखाको बलेसीबाट
झरेका पानी पिउँदै आफैंले
गाली, अपमान र अपजसका
कंकडहरूलाई मनको दुवालीमा छेकेर
चुपचाप पस्किरहन्छे थालभरि
एक कचौरा रुन्चे मुस्कान
मुटुभरिको स्नेह
एक पन्यु आफ्नोपन
र चटनी एक पित्को निरीहपन
असमानताको ब्ल्याक होलमा
गुम्स्याएर आफ्नो अस्तित्व
व्यस्तताको निस्तो चिउरा चपाउँदै
निस्सीम समयझैँ घुमिरहन्छे
टिकटिक टिकटिक
आदिम घरको चार पर्खालभित्र
परिचय नै परिचियले पुरिएकी
एक अपरिचिता
ऊ अर्थात् गृहणी।