समय र संयोगले कुममा कुम जोडेर त्यो दिन घरबाट मसँगै निस्किएका थिए। जिन्दगीको अनवरत यात्राका कुनै पल चार खुट्टाले बामे सरेको बच्चा जस्तै आफ्नो गतिलाई मन्द अगाडि बढाइरहेकै थियो।
समय पनि यस्तो देखिन्थ्यो कि सर्वसाधारण चढ्ने पाको बस कुर्दै असारे रोपाइमा थाकेर आएका बुढा बा जस्तो। तैपनि भरिभराउ प्यासेन्जरलाई आफ्नो काखमा राखेर गन्तव्यमा पुर्याउने जमर्को गरिरहेको एक बीस आसपासको उमेरसँगै गुडिरहेको त्यो बस।
एउटा थोत्रो झुपडीको ढोकाबाट ठट्यौली पारामा जिस्किरहेको बालकले झैं गाडीको ढोकानेरै बसेर खलासी भाइ चिच्याउँदै थिए। निकै ठट्यौली पारामा प्यासेन्जर बटुलिरहेको थियो उसले। उसको आनिबानी एक छत्यौरी केटाकेटीको जस्तै थियो। म भने ढोकैनेरको झ्यालमा बसेर घरी पारि उडिरहेको चराहरूलाई हेर्थें त घरी ठूला-ठूला खोंचहरूबाट निस्किएका वर्षे झरना हेर्थें।
यत्तिकैमा मेरो आडमा मेरै उमेरकी एक महिला आइन्। उनले लगाएका कपडा र श्रृङ्गार हेर्दा लाग्थ्यो मभन्दा उनी निकै कम उमेरकी छिन्। घुँडामाथिबाट तल झर्न नमानेको उनको स्कर्ट, कपालको अप्राकृतिक रङ्गले खेलेको बेमौमसी होलीले उनको सादगीपनलाई फिका बनाइदिएको थियो। उनीतिर मेरो आँखा गयो। तर नजर टिक्न मानेन। म देखेको नदेखे झैं गरी बाहिर झ्यालबाट हेरिरहेँ।
गाडी विस्तारै गुडिरहेको थियो।
'भाइ, हामी पोखरा कति बजे पुग्छौं?'
नोटको बीचको करङ भाँचेर औँलाको कापमा खात पारेर पैसा राख्दै खलासी भाइले भन्यो, 'दुई बजेसम्म त पुगिहालिन्छ, किन आत्तिनुभएको?'
मलाई सकेसम्म छिटो घर पुग्नु थियो। गाडी नारायणगढबाट छुटेको केही मिनेटमै सुस्केरा काढ्दै थाकेको बुढा बा चौतारीमा अडिए जसरी लामो श्वास फाल्दै रोकिन्छ। लौ आज पनि गाडी जाममा पर्यो। मलाई उकुसमुकुस हुन थाल्यो। त्यहिँबाट फर्केर घर जाउँ जस्तो लाग्यो।
मेरो सिट पछाडि अन्दाजी चालिस वर्षकी एक दिदी थिइन्। सारीको सप्को निकालेर मुख छोपी डाँको छोडेर रुन थालिन्। फोनमा कोही बोलिरहेको थियो। उनी उताको कुरा नैं नसुनीकन एकोहोरो बोलिरहिन्- 'म नआउँदासम्म बुवाको लास नउठाउनू, बुवाको मुख हेर्न मन छ।'
उनको त्यो अश्रुमिश्रित बोली, भावविह्वल स्थिति र प्रतिकूल परिस्थितिलाई महसुस गर्ने जो कोहीले पनि मन थाम्न सक्ने अवस्था थिएन। गाडीमा सवार सबै यात्रीका आँखा रसाएका थिए। सायद सबैले गुमाएका आफ्ना पिता र घरमा प्रेममय आँखाले कुरिरहेका ती वृद्ध बुढा बालाई त्यतिबेला गहिरिएर सम्झे अनि आफ्नै आँसुको तलाउँमा डुबुल्की मारे।
आफूलाई माया गर्ने, महत्व दिनेले हरेक व्यक्तिको सम्झना मनमुटुमा रहिरहन्छ। उसले संसार छोड्यो अरे भन्ने सुनेपछि दरिलो काँटी बनेर मुटुको कुनाकुनामा घोचिरहन्छ। ती दिदी आफूले आफैलाई सम्हाल्न सकेकै थिइनन्। म निकै स्वार्थी बनेर मन र आँखालाई फेरि झ्यालबाट बाहिर फालिदिएँ।
भर्खरै मेरो आडमा बस्न आएकी ती चेली गुनके;री जस्तै फुलेकी अनि पारिजात जस्तै सुगन्ध बनेर अत्तरको बासना फैलाएकी थिइन्। उनको आधुनिक पहिरनले मलाई उति साह्रो मन परेको थिएन। मान्छेको बाहिरी आवरणले मात्र व्यक्तिलाई मूल्यांकन गर्न सकिँदो रहेनछ। अरुको पीडालाई आफ्नै ठानेर सम्हालिन सक्नु, भाव विह्वल भएकी ती दिदीलाई काखमा च्यापेर सान्त्वना दिनसक्नु कमजोर मातृमुटु भएकी महिलाको बसको कुरा पक्कै पनि होइन।
मैले उनको अनुहारमा पुलुक्क हेरेँ। उनका आँखा साँच्चै आँसुको तालभित्रै डुबेको जस्तो देखिन्थ्यो। उनका आँखा माथिका गाजलका डोबहरू पखालिएर थिए। अहँ! गाडीले अझै गुड्ने मेसो ल्याएन। मोबाइल डाटा अन गरेर अपडेट हेरेँ, अब मात्र आधा घण्टामा बाटो खुल्नेछ भन्ने हेडिङ देखेँ। मन केही हलुङ्गो भयो।
गाडीबाट झरेर एउटा टिनको पातोले आकाश छेकिएको सानो चिया पसलमा छिरेँ। ती दिदी र मेरै आडकी साथी पनि मेरो पछि-पछि आए। मलाई यस्तो लाग्यो ती दुवै जनाले मेरो हात र साथ खोजिरहेका थिए। उनीहरूको अनुहारमा हेर्दै भनेँ, 'जाउँ न चिया पिउन।'
नारायणी नदीको माछा पाकिरहेको थियो। अर्कोतर्फ कालो चिया उम्लिरहेको थियो। पुरुषोत्तम महिना भएको कारणले धेरे जनाले कालो चियामै आफ्नो भोकलाई फकाएका थिए। फेरि मुसलधारे पानी वर्षिन थाल्यो। त्यो वर्षे झरीलाई दिदीका दुई आँखाले पनि साथ दिइरहेका थिए। गुनासो गर्दै थिइन् 'आज मलाई यस्तो परेर त होला नि दिन रोइरहेको छ। उडेर जान मिल्ने भए म कति छिटो पुग्ने थिएँ होला। बाले बाराम्बार भन्थे- कान्छी छोरी टाढा छ। उसलाई दुःख पनि छ। संसार छाड्ने बेला बाले मलाई धेरै सम्झेका थिए रे!'
अरुले सुनुन् वा नसुनुन् उनी आफ्ना बेदना एकोहोरो सुनाइरहेकी थिइन्। आफ्नो मान्छे गुमाउनुको पीडा मैले पनि महसुस गरेकी थिएँ। यसरी अरुका अगाडि सुनाएर दिल खोलेर रुँदा अलिकति भए पनि आफ्नै घाउले दिएका डसाइहरूमा केही शीतलता पुग्छ। गह्रौ भारी अलिकति भए पनि केही हलुङ्गो हुन्छ। उनी विस्तारै सम्हालिँदै थिइन्।
गाडीले आफ्नो गन्तव्यलाई निरन्तरता दिन थाल्यो। गाडीमा बसेकी ती चेली मेरै नजिक आएर आफ्नो कुरा सुनाउन थालिन्। भन्दै थिइन्- उनलाई पैसा खासै ठूलो लाग्दैन रे, पैसाले मात्र मान्छे खुसी हुने भए संसारका धनाढ्य मान्छेहरूको खुसीले हामीलाई कुत्कुत्याउथ्यो होला।
मैले कुरा काटेँ, 'पैसा चाहिन्छ म्याडम, पैसालाई सदुपयोग गर्न विवेक पनि चाहिन्छ। जस्तोसुकै परिस्थितिमा पनि सम्हालिएर विवेकलाई सही ठाउँमा प्रयोग गरी सत्मार्गमा हिँड्ने मानिस अवश्य खुसी हुन्छ।'
गाडीले अचानक ब्रेक लगायो। हामी हुत्तिएर अगाडि पुग्यौँ। उनले मेरो हात समाइरहेकी थिइन्। 'कतै चोट त लागेन?' कति मीठो सोधाइ, कति मीठो हेराइ। मेरो मनको नजिक-नजिक डेरा जमाउन थालेको थियो उनको आनिबानीले।
भन्दै थिइन्, 'आफ्नै गाडी थियो। लामो यात्रामा अलि गाह्रो हुन्छ त्यसैले यही गाडीमा हिँडेकी।'
धेरै पहिला आफूले ड्राइभिङ गर्दा कार दुर्घटना पनि भएको रहेछ। उनी भन्दै थिइन्, 'विदेश जान मलाई खासै रहर छैन। जाउँ जस्तो पनि लाग्दैन। पोखरामा आफ्नै बिजनेस छ। जमिन पनि चाहिने जति छ। केही नगरी भाडाबाट गुजारा चलाउँ भने पनि पुग्छ। तीन वटा त घर नै छ। हजुरलाई देखेपछि धेरै वर्ष पहिला छुटेको अति मिल्ने साथी भेटेको जस्तै भएको छ।'
म सुनिरहेँ। उनका कुरामा कति सरलता, एकै मिनेट पनि नबोली बसेकी थिइनन्। गाडी फेरि जाममा पर्यो। बाटोमा आएर गाडी साट्नुपर्यो। झण्डै पोखरा आउँदा तीन वटा गाडी फेरिनु, लामो जाममा पर्नु अनि गाडीमा फरक विवशता र परिस्थितिका मानिस भेटिनु मेरा लागि निकै रोचक यात्रा थियो।
राती ८:३० मा पोखरा ओर्लिएँ। उनले साथ र हात छोडेकी थिइनन्। उनका कुरा बाँकी नै थिए। मलाई उनकै कुरा सुनिरहने लत बसेछ क्यारे उनकै घरमा बसेँ। मेरो फोनको घण्टी बज्यो। फोन छोराले गरेको रहेछ।
'ममी नमोरिकन घर आउनू है। कहाँ हुनुहुन्छ? मलाई केक ल्याइदिनू है।'
फोन लाउडस्पिकरमा थियो। उसको बोली सुनेपछि मलाई काउकुति लाग्छ। हाँसो उठ्छ। तर उसले यतिबेला बोलेको शब्दले मन भारी बनाइदिन्छ। उनी छेउतिर फर्केर आफूलाई अन्तै भुलाउन चाहन्थिन्। तर सकिनन्, आँखा यति छिटो रसाए कि समुद्रको छालले पत्तो नदिई बगरका यात्रीहरूलाई सर्लक्कै बढारेजस्तो गरी उनी सरसराउन थालिन्।
'मेरो पनि बाबु थियो चार वर्षको, अहिले छैन।'
म स्तब्ध भएँ। उनलाई अरु कुरा कोट्याएर सोध्न पनि सकिनँ। अनि आफूले आफैलाई बलियो बनाएँ। मलाई लाग्यो, ममाथि ठूलो ओजन छ। मैले यसलाई धान्नुपर्छ, थाम्नुपर्छ। भोलिपल्ट उनी मलाई गाडी चढाउन आएकी थिइन्। परै पुग्दासम्म हात हल्लाइरहेकी थिइन्।
मलाई छोटो समयले धेरै कुराको झलक दिएको थियो। उनलाई आज पनि सम्झन्छु। उनको हाल कस्तो छ, चाल कस्तो छ? अञ्जान व्यक्तिले मेरो मन र मस्तिष्कमा जमाएको प्रेम निकै गुनिलो छ अनि प्रेरणादायी पनि। अनि ती संसार छाडिसकेका बाउलाई भेट्न हिँडेकी दिदी बुवाको मुख देखिन् कि देखिनन् होला? सधैँ सम्झिरहन्छु।
संसारमा मानिसलाई खुसी दिने चिज सबैको एउटै हुँदो रहेनछ। कसैलाई मान, कसैलाई शान अनि कसैलाई प्रिय मान्छेको साथ र हातले खुसी दिँदोरहेछ। खुसी खोज्न कहीँ जानुपर्ने रहेनछ। यो त आफैँभित्र रहेछ।