छवि सोल्टीलाई बिहानीको झिसमिसेमै निद्रा रानीले छोडिदिइन्। उनलाई कहाँ जानु थियो गइन्। ऊ आँखा खुलेपछि थोत्रो म्याट्रेसबाट उठ्यो र लामो सास फेर्यो। चार्जमा राखेको मोबाइलमा घडी हेर्यो। घडी हेर्दाहेर्दै उसलाई अपर्झट अघिल्लो राति दबाएको साग र भातले पेल्यो। ऊ हतार-हतार पाइखाना तिर लम्कियो।
जोडले पाइखानाको ढोका ठेल्यो, ढोका खुलेन। भित्र कोही विराजमान थियो। जो थियो उसले ख्यांङ्ग ख्यांङ्ग गरेर खोक्यो। खोकी कलाले थाहा भयो भित्र पल्ला कोठे पिलन्धरे दाजु थिए। सोल्टीले सकेको बल लगाएर पचेको साग भातलाई उँभो तिरै ठेल्यो। प्यासेजको अलिक वर आएर कम्मरभन्दा तलको शरीरलाई यसो टेढो परेर कुर्यो।
आज छिटै छोडेकोमा सोल्टीलाई निद्रा रानीसँग बेस्मारी रिस उठ्यो। ऊ खडाखडा उभिएर कडाभन्दा कडा परिश्रम गरिरहेको थियो। जगतकै सबैभन्दा कडा मेहनत गर्नुपर्ने वाला काम गरिरहेको उसको केही बेरमै निधारमा पसिनाका दाना उम्रन थालिसकेका थिए। पाइखानामा विराजमान पिलन्धरे दाजु गीत गुनगुनाउँदै पानीको आवाज लुकाउने प्रयास गर्दै थिए।
पानीको आवाज सुनेपछि झन् छवि सोल्टीलाई खपी नसक्नु भयो। सोल्टीले फेरि पाइखानाको ढोकासम्म खुट्टा घिसार्दै जाने जोखिम उठायो र दाहिने हातले ढोकामा टकटक हान्यो। बोले खुस्केला भन्ने डरले ऊ बोल्न सकिरहेको थिएन। पिलन्धरे दाजुले बल्ल ढोका खोले र गुट्खाले चपक्कै च्यापेको मुखबाट दुई वटा राता दाँत देखाउँदै 'भाइलाई निकै च्याप्यो कि क्या हो?' भनेर सोधे तर सोल्टी उनलाई कुइँनोले धकेल्दै भित्र पस्यो। दाजुको मुखबाट केही मात्रामा गुट्खा भुइँमा खस्यो।
अचाक्ली कष्टबाट उम्किएर उत्पात मस्तीमा पुगेको उसलाई आज अघिल्लो महिना मरेर नयाँ महिना जन्मिएको पहिलो बिहान हो भन्ने पत्तो त्यतिखेर लाग्यो जतिखेर घरबेटी बुढाले 'भाइसाप, ओ भाइसाप' भन्दै उसको कोठाको ढोका हान्न थाले। ऊ पाइखानामै चुपचाप विराजमान भइरह्यो। पिलन्धरे दाजुसँग केहीबेर गुनासो गरेर बुढा मास्तिर उक्लिए। बुढा उक्लिएको थाहा पाउनासाथ सोल्टी बाहिर निस्कियो र बिरालोको चालमा कोठाभित्र पस्यो।
ढोकामा चुकुल घुसारेपछि बल्ल लामो सास फेर्यो। घरबेटीको अगाडि ‘आजै त पैसा छैन नि हजुर’ भनेर कन्सिरी कन्याउने झ्याउलोबाट ऊ बच्यो तर बुढोले त हरेक बिहान झर्को लगाउने वाला छन्। ‘धारामा पानी सकियो नि बा’ भन्दा जसरी बुढाले कान नसुन्ने जस्तो नाटक गर्छन्, ऊ जस्तो जवानलाई ‘भाडा खै?’ भन्दा उसैगरी नसुनेको जस्तो अभिनय गर्न छुट थिएन। त्यही सोचेर सिरानी मुनिबाट जताततै फाटिसकेर पनि कसो कसो गरी अडिएको पर्स हेर्यो। नोट राख्ने तखतामा रु सयको हरियो एक बेजोडी पत्तो छ। त्योभन्दा मरिजाऊँ अरू कुनै रङको नोट छैन।
हिजोसम्म जोडी हरिया नोट थिए भन्ने लागेको उसलाई एउटा पत्तो बजार जाँदा सकिएको अत्तोपत्तो छैन। पर्सको पारा हेर्दा जताततै मिहीन रूपमा खोतली हाल्न पनि जोखिम थियो। उसले त्यो जोखिम मोलेन। उसले भएभरका तीन जोडी जिन्सको पाइन्ट र दुई कट्टुका प्रत्येक खल्तीको खानतलासी गर्दा पनि एक दुमो फेला परेन। उल्टै भएका तिनी जोडी पाइन्टमा सिर्फ एउटाको मात्र अगाडिको खल्तीसँग पैसा थेग्न सक्ने क्षमता रहेको तथ्य थाहा पायो।
त्यस्तो तथ्य फेला पारेर निराश भएको उसले गोडा जोर एक वर्ष अगाडि खनखनी गनेर दश वटा टकटकाउँदो हात्ती वाला नोट लगेर फिर्ता नगर्ने एक भित्ते कविजीलाई सम्झियो। ‘अरूका पैसा खानु भनेको मर्नु अगाडि नै नर्कको टिकट काट्नु हो’ जस्ता स्ट्याटसहरुले सोसल मिडियाको भित्ता भरेर वाहवाही बटुल्न खपिस कविजीलाई उसले टुकटुके मोबाइलमा टुकटुकाउँदै फोन लगायो। सधैँ झैँ कविजीले फोन उठाएनन्। फेरि किट पिटाउँदै ‘ए दाइ मेरो पैसा खै?’ भन्दै सन्देश ठेल्यो तर त्यसको पनि जवाफ आएन।
ऊ उसै रन्थन्नियो, आफैसँग मनमन्नियो। एकैछिन त्यही अवस्थामा रहेपछि उसले बेलुकाको सागको तिहुन भएको सिलाबरको तर कालो कराइमा, सिलाबरको तर अन्धकार कुकरबाट भात घोप्टायो र सपासप खायो। साग भात निखारेर बडेमानको ढ्याउ गर्यो। ढ्याउको प्रकृति हेर्दा लाग्थ्यो कि मस्त मिष्ठान्न खाएर टन्न भएको ऊ कुनै महाजन हो। भाडा माझ्न उसलाई अल्छी लाग्यो। उठेर एक जोर खल्तीमा भ्वाङ नपरेको सग्लो निलो जिन्सको पाइन्ट लगायो र पहेलो रङको टिसर्ट भिरेर ऊ उस्तै बिरालो चालमा घरबाट बाहिर निस्कियो।
पुरानो जागिरले अत्त्याएर नयाँ जागिर नपाएर पेन्डुलम जस्तो भएको ऊसँग दिनभर कहिले यता कहिले उता हल्लनुको विकल्प अर्को थिएन। कहाँ खोज्ने पैसा? ऊ भित्र गम्भीर प्रश्न थियो। जता पुगिन्छ त्यतै पुगिन्छ भनेर गन्तव्यहीन यात्रामा निस्किएको उसले हिँड्दै जाँदा आफूले दुई हजार मागेर फिर्ता नगरेको साथीलाई केही पर देख्यो र हत्त न पत्त खल्तीबाट मास्क झिकेर मुख ढाक्यो। साथी घुम्ती घुमेर ओझेल पर्यो। सोल्टीले छाती समातेर खुइय गर्यो।
मनभरि कुरा खेलाउँदै सहरभरि आँखा डुलाउँदै ऊ सडक वारि-वारि लम्कँदै थियो। सडक पारि-पारि उसले झैँ मास्क पहिरिएर कविजी लम्कँदै गरेको देख्यो। उसले हतारहतार बाटो काट्यो र कविजीको अगाडि उपस्थित भयो। तर विडम्बना, कविले उसलाई ठम्याउन असमर्थ भएको भान दिए। सोल्टीले कालो मास्क फुकालेर उज्यालो चेहरा देखाएपछि भने कविजीले उसलाई नचिनी सुखै भएन।
'ल यार भाइ कस्तो साइतमा झुल्कियौ, म पनि मेरो एक लाख कप्लक्कै खाइजाने साहुकोमा उसैलाई भेट्न जाँदै थिएँ। ऊसँग केही पैसा उम्काउन सकियो भने तिम्रो मेरो दुवैको कल्याण भइजाने छ। हिँड सँगै जाऊँ' कविजीले त्यति भनेपछि यसो उसो भनेर उ सँग निहुँ खोज्ने कुरो पनि आएन। सोल्टी कविजीको पछि-पछि लाग्यो।
चट्ट थोत्रो एक पाखे गाँजाको धागोबाट बनेको झोला भिरेका, अगाडिको तालु सफाचट भएता पनि टाउकाको टुप्पीभन्दा पछाडिको भागमा भएको टन्न लामा कपाललाई कपालैले गुजुल्टो पारेका, तलदेखि माथिसम्म पुग्ने कालो रङको लबेदामुनि कालै धोक्रे सुरुवाल पहिरिएका कविलाई पछाडिबाट भुक्क लात्ते भुक्याएर फक्लक्कै भुइँमा पछारी दिऊँ कि भन्ने सोच घरीघरी आउँदा पनि आफूलाई सम्हालेर छवि सोल्टीले उनको होमा हो मिलाउँदै थियो।
करिब आधा घण्टाको लेफ्ट राइटपछि दुई भाइ एक खुद्रा पसलको अगाडि पुगे। पसले साहुले कविलाई देख्दा साथ चुकभन्दा कालो र अमिलो अनुहार लगायो। उसको अनुहारको तिक्तता र पसलका दराजको रिक्तता देख्दा केही पैसा पाइन्छ कि भन्ने छवि सोल्टीको आशको सत्यानाश भइसकेको थियो।
'के आर्नु कविज्यू, सबैले उधारो मत्रै खान्छन्। नदिऊँ भने पनि तेरो मात्रै छ यो सहरमा दोकान भनेर अन्तै छड्की जालान् भन्ने पिर अनि उधारो दिएमै आफैलाई पनि सर्लक्कै खाएर पचाउलान् कि भन्ने पीर।’
कविजी पनि दुमो नझर्ने कुरामा स्पष्ट भए। 'राम-राम कवि ज्यु, अस्तिबाट केटाकेटी र अर्धाङ्गिनीलाई गाउँ धपाएर म आफैँ अर्धाङ्गो भएर बसेको छु। अब त सर्वाङ्ग नाङ्गो हुन मात्र बाँकी छ' भन्दै साहुजी त टिलपिलाउन पो थाले। साहुको उदासीन कुरा सुनेर कविजीले मुन्टो हल्लाउँदै 'यो सहरले बाङ्गो नहुनेलाई नाङ्गो बनाउँछ' भनेर सोल्टी तिर हेरे।
'बरु कवि ज्यु, मेरो पाँच सय वटा हात्ती पचाएर, उल्टै मलाई नै लात्ती हान्ने असत्तीकोमा जान लागेको थिएँ, फुर्सद छ भने साथै जाउँ' भनेर साहुजीले भनेपछि कविजीले पनि नाइँ भन्ने कुरै आएन। कविजीको मौन समर्थनपछि साहुजीले तुन्द्रुङ झुन्डिएर भुँडीभरिका भुत्ला देखाउँदै सरर सटर तल झारे र तिखे ढाड प्रदर्शन गर्दै ताला ठोके।
अब साहुजीको पछाडि कवि, कविको पछाडि छवि। तिनै मनुवा मुखलाई मास्कले ढाकेर घरी यता घरी उता गरी एउटा सानो चौरमा निस्किए। 'मुखमा मास्क लगाउने जति सबै मास्कवादी हुन्थे भने यो देशमा फेरि प्रजातन्त्रवादी भनिने हरूले १० औँ वर्ष शासन गर्न नपाउने रैछन् है साउजी?' कविजीले बडा काइदा व्यङ्ग्यको झटारो हाने। त्यस कुरालाई साहुजी र सोल्टीले मौन समर्थन गरे।
चौरको दाहिनेतिर कुनामा एउटा चटक्क परेको स्टेजको पोडियममा उक्लिएर एक जानेमाने जुँगे नेता कुर्लँदै थिए। 'हाम्रो महामहिम पार्टीले चुनावमा विजयी प्राप्त गरे गरिबलाई ऋणको जालमा पारेर ठग्नेहरू एक-एकलाई ठेगान लगाउने छ।' यसो गर्ने छ उसो गर्ने छ भन्ने बकम्फुसे आश्वासन दिँदै भोट माग्दै थिए। माग्नेहरू माथि चटक्क सोफामा विराजमान भएर अन्नसन्न फलाक्दै भोट माग्ने र भोट दिनेहरू टन्टलापुर घाममा सेकिएर उनीहरूका कुरा सुन्ने अनि अझ बेलाबेला पररर् ताली पनि पिट्ने यो अद्भुत काइदाको दृश्य निहालिरहेका कविजीले झोलाबाट नोट कापी र कलम झिके अनि खुसुखुसु यो रमिताको बखान गर्दै कविता लेखि टोपले।
‘दिने भन्दा, माग्ने गतिला देखिने
माग्ने शीतलमा विराजमान हुने, दिने रापमा सकिने
यो एक उदेकिलो मेलो हो
नहुनेसँग लिएर हुनेलाई दिने चाँजो मिलाउने
यो चुनाव भन्ने पनि काइदाको खेलो हो।’
तीन भाइ त्यहाँ उपस्थित भएको निमेष भरमै कार्यक्रम समापन भइगयो। साहुजीले अघि चर्किरहने नेताजीको सामुन्ने पुगेर दर्शन भेट टक्र्याए। नेताजीले साहुजीलाई देख्दा साथ उनको हात समाएर 'ओहो! साउजी मैले आज बिहानै कुनै सत्कर्म गरेको रैछु र तपाईं जस्तो मान्छेसँग दर्शन भेट भो' भन्दा साथै साहुजी त नतमस्तक भइगए। 'बुझ्नु भयो कवि ज्यु, उहाँ जत्तिको असल मान्छेको पसल हुन्थेन भने म आज यो ठाउँमा उभिएर यत्रा जनमानसको अगाडि यसरी भाषण दिन सक्ने काबिल मान्छे नै हुने थिइनँ, यी साउजी त मेरा दोस्रा बा हुन्' भनेपछि त झन् साहुजी त खुसीले गद्गद् भएर त्यसै त्यसै लल्याकलुलुक भइगए। नेताजीले बाउको खाएको पनि छोराले तिर्छ भन्न खोजेको कुरा कविले बुझे, छविले बुझ्यो तर साहुजीले बुझेनन्।
'ल अब मलाई एक ठाउँमा नगई नहुने छ, लु जाऊँ सँगै' भनेर नेताजी त त्यहाँबाट उठेर हिँड्न थाले। उनले त्यति भनेपछि साहुजी त लुखुरलुखुर कुकुरले मालिक पछ्याएको जस्तो गरी पो नेतालाई पछ्याउन थाले। साहुजी नेताको पछि लागेपछि कविले एक बाजी छविलाई फर्केर हेरे अनि उनी पनि साहुजीको पछि लागे। छवि सोल्टीको पछाडि त को नै थियो र? ऊ पनि कविको पछाडि लाग्यो।
चट्ट एसी वाला गाडीको अगाडिको सिटमा नेताजीले आशन ग्रहण गरे। पछाडिको सिटमा तीन भाइ कोचिए। नेताजीले आफूले खाएको उधारोको एक-एक हिसाब किताब आफूसँग छ भन्ने जानकारी गराए। नेताजीको एकोहोरो प्रवचन सुन्दै र कविजीको ठुसठुसती गन्हाउने वायुकला सुँघ्दै छवि सोल्टीले आफू पनि कुनै दिन यस्तै गाडी हुने गरी धनी हुने कल्पनामा हराउँदै थियो।
उनीहरू एउटा ठूलो घरको फराकिलो आँगनमा पुगे। गाडीबाट झरेपछि थाहा लाग्यो यो देशकै नामुद उद्योगपतिको महल थियो तर उनी थिएनन्। आज उनी परमधाम भएको आठौँ दिन थियो। उद्योगपतिकी आमाले नेताजीलाई देख्दा साथ आफ्नो भित्र रहेको भक्कानो बाहिर निकालिन्।
कुरा बुझ्दै जाँदा स्वर्गीय उद्योगपतिले तीन वर्षअघि अधिक ऋण गरेर एउटा नयाँ उद्योग खोलेका रहेछन्। त्यही बेला संसार सबै कोरोना कहरमा फसेको थियो। कोरोनापछि बैंकको ब्याज अचाक्ली बढेर ऋण त परको कुरा ब्याज नै तिर्न मुस्किल भैगएछ। ठिक त्यही समयमा नेपाल सरकारले उनको उद्योगलाई चाहिने कच्चापदार्थ आयातमा करको दर कसिलो पार्दा हँसिलो र रसिलो उनी सबै तिरको प्रेसर खप्न नसकेर बितेछन्।
यी सबै कहानी सुनाउँदै गरेकी ती आमाको आँसुको असर नेताजीलाई पर्यो, साहुजीलाई पर्यो, कविजीलाई नपर्ने कुरै भएन, उनी हुक्क हुक्क नै गरे। छवि सोल्टी पनि पिलपिलायो। साह्रै खल्लो मन लगाएर चारै भाइले मिठा-मिठा परिकारले खाली पेटको पूजा गरे। त्यस्ता काइदाका उद्योगपतिको त यो गति हुने रहिछ भन्ने हकिकतले छवि सोल्टीको ‘पैसा नै सुखको साधन हो’ भन्ने भ्रम नराम्रोसँग तोडिदियो। त्यही तोडमा उसले सुइँका सुइँ दुई गिलास कोक पिएर ढ्याउ गर्यो।
त्यहाँबाट निस्कने बेला नेताजीले साहुजी तिर हेर्दै 'हेर्नुस् न साउजी, यी मेरा मित्र थिए। उद्योग खोल्न मैले पनि उनलाई पचास लाख रुपैयाँ सापटी दिएको थिएँ। उनी नै ब्रह्मलिन भइहाले' भनेर नमिठो अनुहार लगाए। नेताजीले नमिठो अनुहार लगाएर मिठो ढाटे। 'नेता भएपछि चुनाव मुखमा छ, हल्काफुल्का तामझाम त गर्ने पर्यो। बरु तपाईंसँग पाँच लाख जति छ भने दिनुस्, चुनावको खर्च जुटाउनै चटारो छ। यसपालि जित्छु पक्का अनि त जताततै पैसै पैसा हुने थियो। बरु एकमुस्ट तपाईंको साउँ ब्याज तिर्ने थिएँ' भनेपछि साहुजी खङ्ग्रङ्ग परे। त्यही खङ्ग्रङ्गता कविजीमा सर्यो।
पाइन्टको दाहिने पट्टिको खल्तीमा हात घुसारेर उभिएको छविको चोर औँलो खल्तीलाई छेडेर पुलुत्त बाहिर निस्कियो। उसलाई बल्ल थाहा भयो कि त्यही एउटा सग्लो पाइन्टको खल्तीमा पनि दुलो परिसकेछ। अब यो दुलो बढ्दै पूरै ठूलो भ्वाङमा परिणत हुने वाला छ। नेताजी र साहुजी अलिक पर पुगेर खासखुस खासखुस गर्ने थाले। कविजीले छवि तिर फर्किएर भने-
‘कसको कसले खाएको छ
कसले कसको पचाएको छ
यो पैसो भन्ने जिनिसले गर्दा
मान्छेले कुकुरले नपाउने दुःख पाएको छ।’