सुन्दैछु तिमी
आफ्नो मझेरी फर्कन पाएका थिएनौ रे त्यतिखेर
तर म त आएको छु मेरै आगनीमा यतिखेर
र खोज्दैछु पहाडमाथि इन्द्रेणीका घेराहरूमा तिम्रो उजेलो मुस्कान
प्रिय अरनिको
सजीव मूर्तिहरू कुद्दै
अजीव चित्रहरू बनाउँदै
र उभ्याउँदै सगर छुने वास्तुहरू
फैलियौ तिमी तिब्बत-चीन-एसिया
र मिसायौ नेपाली गौरवको इतिहास
तिम्रोजस्तो अग्लो विश्वासको रहरमा
तिम्रै अनुयायी हुने लहडमा
म पनि मेरो कटेरीभन्दा पर अमेरिका पुगेर
मातृ अक्षरहरू गन्दैछु निबका टुप्पाले
र तिम्रो साहस लेख्दैछु आस्थाका रङहरूले
तिमी हिमालपारि उदायौ
म हिमालहरू बगेर मिसिएका
सात समुद्रहरू छिचोल्दै पुगेँ
बाक्लै नदीहरू बग्ने देश अमेरिका
म त्यहाँ हुनुको अर्थ यहाँ नहुनु कहाँ हो र
तिमीलाई पक्का हेक्का छ
म त्यहाँका नदीका पानीमा सुमसुम्याउँछु
सगरमाथाको पाउ
म त्यहाँका हरिया जङ्गलहरूमा
उभिएको देख्छु यहीँका मेरा सल्लेरीहरू
भूगोल त हाम्रै हो नि प्रिय अरनिको
तर बास्ना सबै माटोमा नपाइँदो रहेछ
भावना सबै हावामा बहँदो रहेनछ
त्यसैले च्यातेर पैसाका पन्जाहरू
आइपुग्छु समयसमय तिम्रोहाम्रो साल गाडेको माटो छुने रहरमा
हाम्रो धड्कन सारेको बाटो कुद्ने लहडमा
प्रिय अरनिको
जब
भावनाको कुरा चल्छ
म तिम्रा चित्रकला सम्झिन्छु
जब उचाइको कुरा उठ्छ
म तिम्रा वास्तुकलाको चुचुरा सम्झिन्छु
त्यतिखेर तिमी यात्रामा हुँदा बिझाए होलान् तिम्रा पाउमा
बालुवाका दानाहरू
तर यतिखेर मेरो यात्रामा फगत बल्झिरहन्छन्
सिमानाका तिखा गानाहरू
के गर्नु
म यात्रामा निस्किनँ भने
समयले भोकै राख्नसक्छ
मेरा सपनाका ओठहरूलाई
र सिमानाले नबाँध्न सक्छ
मेरा विवशताका झोक्काहरूलाई
त्यसैले भाग्य सम्झेर
देश-परदेश घुम्नुलाई
खुसी सम्झेर समुद्र तर्नुलाई
म हाम्रै हिमालले बनाएका समुद्रहरूका
किनारकिनार पछ्याउँदै
हाम्रै सगरमाथाले पठाएका बादलहरूका भुवाहरू मुसार्दै
पुगेको हुँ
पाताल बलीराजाको नगर
संसारको सपनाको सहर
त्यता पुगे पनि म सम्झिरहन्छु आँखामा
त्यहाँका भव्य बिजनेस टावरहरूभन्दा अग्ला
तिमीले उठाएका गौरवका
टावरहरू
सम्झिन्छु सपना किन्ने आशामा
सिमाना छोड्न
लस्करमा बसेका भाइका अनुहारहरू
तर यतिखेर
मैले अनि तिमीले पहिलो पटक छोएको माटोमा उभिइरहँदा
लागिरहेछ
सूर्यचन्द्रको हजारौं लुकामारीपछि
तिम्रो ढुकढुकीमा
मेरो मन मिसाउन पाएँ
कोइलीका करोडौं कुहुकुहुपछि
तिम्रो स्मृतिको चौतारीमा
मेरा याद बिसाउन पाएँ।