जिन्दगीका अनेक मोडहरू पार गर्दै आएको यो शरीर बबुरा आफैँभित्र कहिले खुसीले रमाएको हुन्थ्यो। कहिले दु:खले आत्तिएको हुन्थ्यो। प्रकृतिको अनुपम उपहार यो जिन्दगी। घाम छायाको दोहोरो आगमन होस् वा दिन र रातको चक्र होस्, म स्थिर नै रहेको हुन्छु सधैँ। खुसीका क्षणमा म जन्मने परिस्थिति बनाइदिएकोमा बाबुआमालाई धन्यवाद दिइरहेकी हुन्छु।
दु:खको अवस्थामा 'मलाई जन्म दिएर किन यो झन्झट बोकायौ नि आमा' भन्दै धिक्कार पनि भनिदिएकी हुन्छु अहिले पनि। उतिबेला बिहान उठेदेखि घरको सररफाइ र लिपपोत गर्दा मात्र पनि जीउ फतक्क गलिसकेको हुन्थ्यो। काम रोकौँ भने सबै अस्तव्यस्त हुने, नरोकौँ भने शरीर अघि बढ्न नै नचाहने। यसरी नै धेरै दिनहरू बिते। दिनहरू बिते पनि के भनौँ र, समय अघि बढिरह्यो अनि म चाहिँ आफ्नै चालमा चलिरहेँ।
गाउँघरमा सहरी जीवन सुखी हुने र सधैँ रमझम हुने गुलियो कुराकानी चल्ने गर्दथ्यो। आहा! कस्तो होला सहरी जीवन भनेर म मुख मिठ्याउथेँ। आज त्यो परिवेशमा नै म आफैँले जीवन बिताइरहेछु। जीवनको रङ हरियो हुन्छ र सिद्धान्तको रङ खैरो हुन्छ भन्छन्। मेरो जीवन खैरो कि हरियो हो दोधारमा पर्छु, कहिलेकाहीँ।
टाउको दुखेको हुनाले त्यस दिन म आफ्नै घरको छतमा बसिरहकी थिएँ। उनी अर्थात् मेरा श्रीमान् आफैँले धोएको जुत्ता सुकाउन छतमा आए। मलाई देखेर केही झस्किए जस्तो लाग्यो।
'किन बुढा? झस्किन्छौ त मलाई देखेर,' मैले जिस्कने भावमा अनुहार उनीतिर नै फर्काएँ।
'हैट, के भन्या हो यस्तो? मैले त तिमी यहाँ नभएर अन्तै कतै छौ होला भन्ने सोचेको थिएँ। एक्कासी यहाँ देखेर नि,' उनले सायद जे हो त्यही भनेथे।
उनले घाम लाग्ने ठाउँ खोजेर जुत्ता सुकाए। त्यसपछि 'लौ! मैले त सर्ट पनि भिजाएको थिएँ, धुनै बिर्सिएँछु' भन्दै भर्याङको डिलमा मोबाइल राखेर ओर्लिन खोजे।
मैले एकछिन घाममा सँगै बसौँ न भनेर कर गर्न खोजेँ। 'भोलि अफिस जान लुगा सुक्दैन, चाँडै पखाल्छु र लिएर आउँछु है' भन्दै उनी बाथरूमतिर जान ओर्लिए। मलाई त्यति सन्चो नभएकाले आज केही सघाउन सकेकी थिइनँ।
मलाई उनी त्यसै मन परेको होइन, आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने उनको बानी पनि त गज्जबको छ नि। उनले मेरो कति राम्रोसँग ख्याल राख्छन्। म यस्तै के-के सोच्दै घाम तापिरहेकी थिएँ। उनको मोबाइलमा घण्टी बज्यो। म नजिकै गएँर हेरेँ। कुनै नारी जातिको नाम थियो। अफिसको कोही सहकर्मीको होला। अति आवश्यक भए तत्कालै खबर गरिदिन्छु भन्ने सोचेर फोन उठाउन समाएँ।
'हेलो, को बोल्नु भएको हो? म उहाँकी श्रीमती हुँ। उहाँ फोन छाडेर अहिले बाहिर जानु भएछ। केही जरूरी भए म उहाँलाई भन्दिन्छु नि' भनेँ।
उताबाट 'हजुर, तपाईं उहाँको श्रीमती रे?' भन्ने प्रश्न आयो। मैले सहज रूपमा 'हो त। हाम्रो बिहे भएको एघार वर्ष भयो' भन्दै सकारेँ।
'ए ठिकै छ, म पछि कुरा गर्छु नि उहाँसँग,' भन्दै उताबाट तत्कालै सम्पर्कविच्छेद गरियो। मलाई उनको प्रतिक्रिया आश्चर्य मिश्रित र केही अनौठो पनि लाग्यो।
उनी महिला, अझ कार्यालयमा नै काम गर्ने व्यक्ति भए त कुरा गर्न म महिला नै भएको हुनाले अझ सजिलो हुनुपर्ने हो। तर एक्कासी सम्पर्क नै टुटाइयो। यस्तो किन होला भन्ने खुल्दुली लाग्न थाल्यो। अहिलेसम्म मोबाइल मेरो हातमा नै थियो। एक मनले हातमा भएको मोबाइल फोन खोलेर सम्पर्कहरू हेर्न मन लाग्यो। फेरि अर्को मनले आफ्ना पतिप्रति यसरी कन्सुत्ली लागे जस्तो गर्नु त हुन्न भनेर त्यसो गरिहाल्न चाहि उचित लागेन। तर तत्क्षण नै खोलेर हेर्ने निश्चय गरेर आफूलाई त्यतै लगाएँ।
पहिले उनको सम्पर्क भएका पटकहरू हेरेँ। केही पटक वार्ता भएको देखियो। वार्तामा समय खर्चिएको देखेर मेरो मनमा चिसो पस्यो। हामी दुई जनाकै घरतिरका वा माइती, ससुरालीतिरका आफन्तको लामो सूचीसँग त्यो नाम तुलना गर्न मन लाग्यो। पहिले घरतिरका नातेदार आफन्तको सूची दाँज्न थालेँ। कतै मिले जस्तो लागेन। बल्ल एउटा, दुइटा नामहरू मिलेको देखियो। ती मध्ये केहीको फेसबुक प्रोफाइल समेत खोलेर हेरेँ। अरू नामहरू पनि खोज्न थालेँ। यस्ता अरु केही नामहरू पनि थिए। मेरो मन अत्तलिएको जस्तो हुन थाल्यो।
यत्तिकैमा धोएको सर्ट लिएर सुकाउन उनी छतमा उक्लिए। यसपछि भने मेरो मान्छे खोज्ने कर्मले विश्राम पायो। तर त्यो विश्राम मेरा लागि सहज थिएन। विश्राम लिँदा त्यसले मसँग निरन्तर चलिरहने एककिसिमको आशंका र बेचैनीको बलियो जालो बुनेर छाडेको जस्तो लाग्छ। उनी आफ्नै धुनमा लुगा सुकाउँदै मसँग पनि बोल्दै थिए।
'कल्पना, मैले मोबाइल यहीँ छाडेर गएँछु। झण्डै आधा घण्टा हुन थालिसक्यो। कसैको फोन आयो कि?' उनले सोधे।
म झस्किएँ। के भनौँ के भनौँ भयो मलाई। विस्तारै 'छैन' भनिदिएँ। अनि फेरि पछि थाहा भइहाल्छ नि भन्ने लाग्यो। अनि भनेँ, 'अँ, एकपटक घण्टी बजेको थियो। उठाइदिनु पर्यो भनेर समाउँदै थिएँ काटिने तिर उठाएँ कि के हो कुन्नि, काटियो। फेरि पछि चाहिँ आएन र त्यत्तिकै राखिदिएँ,' मैले पूरक जवाफ दिएँ।
'ए अनि किन नभनेकी त? कतै जरूरी थियो कि?' उनले थपे।
'जरूरी भए फेरि गर्नु गर्ने हो नि त तर आएन नि।'
उनले फोन हातमा लिए अनि खोलेर हेर्न थाले। त्यतिबेला अनुहारमा उनको भाव कस्तो हुन्छ भनेर नियाल्न मन लाग्यो नभन्दै उनको अनुहारको भावमा केही परिवर्तन आएको जस्तो लाग्यो। उनी मतिर आउन लागेका थिए। तर पाइला भर्याङतिर फर्काउँछन्। मोबाइल चलाउँदै झटपट भर्याङबाट तल झर्न खोज्छन्।
'अघिनै एकछिन सँगै घाम तापौँ भनेको थिएँ त मैले। किन हिँडिहाल्नु भएको नि?' मैले सोधेँ।
'अफिसको कामले रहेछ। कोठामा भएको डकुमेन्ट हेरेर केही बताइदिनु पर्ने भयो अहिले नै। काम सकेर आइहाल्छु है' भन्दै उनी तल झरे। मलाई झन् खुल्दुली लाग्यो। अघि नै कन्सुत्ली नलाग्ने मेरो सोचमा त परिवर्तन भैसकेकै थियो। म पनि विस्तारै पछि लागेर ओर्लिन थालेँ। फोनमा 'म केही क्षण मेरो अर्को काममा लागेको थिएँ' भन्दै उनी उनी कोठाभित्र पसे। कोठाको ढोका सधैँभन्दा अलिक ढ्याम्म लगाए। उनको बोली अलिक मलिन र हैन हैन भन्ने भावमा सम्झाउने गरी संवाद भैरहेको जस्तो लाग्छ मलाई। म फेरि छतमा नै फर्किएँ।
कुनै बेला आज सम्पर्क गर्ने मान्छेसँग भएका वार्ताको पुरै श्रृङ्खला हेरेर जाँच गर्न मन लाग्यो। तैपनि हतार गरेर शंकाको डढेलो चाँडै सल्काउनु पनि त थिएन।
पराले गुन्द्रीमाथि सानो राडी विछ्याएको विस्तरामा यस्तै के-के सोच्दै पल्टिरहेकी थिएँ। केही समयपछि उनी आए। मलाई सुमसुम्याए। अनि 'ज्वरो त बढेको रहेनछ है' भन्दै ढाडस दिए। म उनीतिर फर्किँदै अलिक बिसेक भएजस्तो लागेको बताएँ।
आज मलाई उनको अनुहार नियालेर हर्न मन लाग्यो। चट्ट परेको निधार, गोरो र रातो वर्णका पुटुक्क गाला। आर्यन मुद्राको लामो नाक, केही दवेका र काला चन्चल आँखा। बोल्दा चल्ने ओठको फरफराहट र थोरै हाँस्दा मात्र पनि सहजै देखिने टम्म परेका दन्तपंक्ति। मेरो नजरमा उनी असाध्यै सुन्दर देखिए। भर्खरै मेरो निधार छाम्न आइ पुगेका स्नेहिल हात हेरेँ। त्यहाँ पनि उसै गरी आत्मीयता र जादु गरी बगिरहेको जस्तो लाग्यो।
आँखा त करिब चिम्म पारेर हेरिरहेकी थिएँ। यसरी लुकीलुकी हेरेको त्यो रूपले मनमनै अझ आनन्द अनुभूति भयो। 'मेरा पति साँच्चै सुन्दर छन्। म पनि त छि भन्ने कहाँ छु र?' भन्ने लाग्यो आफैँलाई।
'हैट, आज किन मनले यसरी सुन्दरताको खोजी गरिरहेछ?' भन्ने लाग्न थाल्यो।
त्यति नै बेला हाम्रो बिहे ताकाका दिनहरूको याद आयो। हामी दुईजना बाटोमा हिँड्दा वरपरका मान्छेहरू हामीलाई हेर्थे। चलिरहेका हाम्रा पाइलाहरू एकटकले हेरिरहे जस्तो लाग्थ्यो। पुरूषहरुले मलाई हेरिरहे जस्तो लाग्ने। महिलाहरूले उहाँको शीरदेखि पाउसम्म हेरिरहे जस्तो लाग्ने।
यात्रामा चिया खान हामी बस्दा हाम्रो नजिकै वरपरका मान्छेहरू आउँथे। अनि 'यहाँहरूको कहाँसम्मको यात्रा होला कुन्नि?' भन्दै सोध्ने गर्थे। सायद दौत्यार मिलेको हाम्रो जोडिको नजिक भएर मनमा आनन्द थप्ने चाहना बढेर होला। हामी केही क्षण कुराकानी गरिदिन्थ्यौँ। त्यो ठाउँ र परिवेशबारे केही सोधिखोजी गरि दिन्थ्यौँ।उनीहरू तँछाड र मछाड गर्दै उत्तर दिन हतारिन्थे। हामी त्यो परिवेशले आपसमा नजर चार गर्दै आनन्द मानिरहन्थ्यौँ। चिया पिइसकेपछि पैसा तिर्न उनी जान्थे। म झोला बोकेर अघि बढ्न खोज्थेँ। पुरानो चिनजानका आफन्त छुट्टिए जस्तो हुन्थ्यो त्यो परिवेश।
अहिले पनि ती रमाइला दिनहरूको सम्झनाले मात्र पनि आनन्द तुल्याउँछ।
मेरा पति साँच्चै सुन्दर छन् भन्ने लाग्दा लाग्दै मलाई अघिको फोनको विषयले झस्कायो। यति सुन्दर छन्। अनुहारको सुन्दरता झन् फुलेको गुलाफ जस्तै लाग्छ। म सधैँ साथमा रहँदा त यस्तो लाग्छ, झट्ट देख्नेलाई झन् कस्तो लाग्दो होला! हामीजस्तै महिलाले हेर्दा उनको रूप र बोलीमा पनि लठ्ठ हुँदा हुन्। मान्छेको मन न हो।
मसँग सधैँको सानिध्यमा पनि त कहिलेकाहीँ वचनको तलमाथि हुनेगर्छ। हुन त लोग्ने स्वास्नीको बीचमा कुनै न कुनै समयमा अलिअलि खस्रो मसिनो भैजान्छ नि भन्छन् साथीहरू पनि। परालको आगो जस्तै भन्छन् झगडा पनि। हुन पनि हाम्रो त्यस्तै नै छ। म केही भएर अर्कोतिर फर्किएँ भने उनले नै मलाई हँसाउने गर्छन्। काउकुती वा हाँसोठट्टाले नहाँसी धरै पाउन्न। कसले पहिले भन्ने सोच्न नै पाउदिनँ मैले। त्यसरी हसाउँदा अलिकति रिस र वैमनस्य देखाउँदै उनको नजिक परेर जवर्जस्ती हाँस्दाको मजा नै बेग्लै। त्यसपछि हाम्रो सम्बन्धमा झन् हार्दिकता बढेको जस्तो लाग्छ।
सोच्छु, यो कहिलेकाहीँको वैमनस्थ त आकाश गडगडाए जस्तै हुने रहेछ। पानी परेपछि स्वच्छ हुन्छ नि जीवन र जगतको सम्बन्ध पनि।
मलाई लाग्छ, उनको यति सुन्दर व्यक्तित्वले जसरी मलाई प्रभावित पारेको छ, त्यसरी नै अरूलाई पनि त पार्न सक्छ नि।
'हैन म कता हराएँ, आज? दिमागमा कस्तो नकारात्मक कुरा आएको होला?' आफैँलाई प्रश्न गरेँ।
म अझै सोच्न थाल्छु, जीवनमा विभिन्न अवस्था भोगिरहेको दुनियाँ छ। चाहेर वा नचाहेर पनि मान्छेको मन लहसिन सक्छ। कतै तानिन वा धकेलिन सक्छ। कुनै सामान्य क्रियाले नै गम्भीर प्रतिक्रिया पैदा गर्न सक्छ। यसो गर्दै एकदिन त्यो भयङ्कर पनि त हुनसक्छ। मप्रतिको आकर्षण पनि कम हुँदै जानसक्छ। अर्को व्यवहार गर्न लोभिने र अन्तत कुनै दिन अन्यथा हुन सक्छ। हे भगवान् मलाई यो अनिष्टबाट जोगाइदेऊ।
मलाई त्यस दिन फोनमा भएको छोटो वार्ताले झस्काइसकेको थियो। त्यसपछि उनको व्यवहारमा केही परिवर्तन आएको जस्तो लाग्न थालेकै थियो। मसँग झर्किएर बोल्ने, कुरै कुरामा अनर्थ लगाउने गरेझैँ लाग्न थाल्छ। मप्रतिको आकर्षण पनि पहिलेभन्दा कम देखाउने गरेको जस्तो लाग्छ। यसले म मन भित्रभित्रै निचोरिन थालेकी हुन्छु। सायद यसपछि मेरो व्यवहारमा पनि कुनै बदलाब आउन थालेको हुनसक्छ। मेरो बोली र व्यवहारमा चिडचिडाहट बढेको हुन्छ क्यारे। दुवैको व्यवहार आपसमा झर्कने खालको भएपछि नतिजा राम्रो हुने अवस्था कम हुन्छ नै।
फेरि एकदिन सानो विषयमा हामीबीच खटपटी पर्यो।
मैले 'आज घरै बसौँ, दुवै मिलेर यो घर सफा गरौँ न' भनेँ।
'आज जरूरी काम छ, म बाहिर जानै पर्नेछ' भनेर उनले बाध्यता भएको कुरा बताए।
'त्यसो भए म पनि सँगै जान्छु न त। बरू भोलि घर बसौँला नि,' मैले भनेँ।
'कलेज पढ्दाका साथीहरूका बीचमा सानो भेटघाट छ हाम्रो। सबै सिङ्गल जान्छन्। तिमी आज सँगै जान मिल्दैन के,' उनले थपे। यसपछि म नाजवाफ बनेँ। तर बिदाको आफू मात्र बाहिर निस्कने उनको यो बानी पटक्कै मन परेन भन्दै चित्त दुखाएँ।
'कतै अस्ति फोनमा बोल्ने मान्छेसँग उनको नियमित उठबस भैरहेको पो छ कि? त्यही भएर मलाई सँगै लैजान नचाहेर बहाना बनाएको पो हो कि' भन्ने लाग्न थाल्यो। फेरि मनै अमिलो भयो। उनी शौचालयमा छिरेका समयमा हतारहतार मोबाइल खोलेर फोनवालीको फेसबुकको तस्वीर खिचेँ।
उनीसँग बजार जाँदा कुनै एकदिन चिनापर्ची भएकी सहकर्मी महिलाको झट्ट याद आयो। तिनको पनि नाम खोजेर फोन नम्बर पनि टिपेँ। उमेर ढल्किएकी उनी पहिलो भेटमा नै निकै समझदार जस्तो लागेको थियो मलाई।
जब पति बाहिर निस्किए, मैले त्यो तस्वीरलाई हेर्दै उसको फेसबुक आइडी पत्ता लगाउन कोसिस गरेँ। तुरुन्तै भटियो पनि। प्रोफाइल खोलेर हेरेँ। अनुहार निकै सुन्दर रहेछ। अनेक बान्कीका तस्वीरहरू राखेको देखियो।
कतै मभन्दा उ राम्री देखिएकी त छैन? म झसङ्ग भएँ। मैले आफूलाई ऐना अघाडि पुर्याएँ र आफैँलाई नियालेँ। मेरा आँखाका डिल-डिलमा चाउरी पर्न थालेछ। साथीहरूले अलिक राम्रो क्रिमको खोजी गर्न सुझाव दिँदा पनि नमान्ने मलाई आज आफैप्रति रिस उठ्न थाल्छ। मान्छेहरू भन्ने गर्छन् 'सौन्दर्य त प्रकृतिको बरदान हो नि'।
मैले टिपेको नम्बरमा सम्पर्क गरेर केही कुरा गर्न लाग्यो। तर हात पछाडि सर्न थाले। कतै मेरो यो कामले नराम्रो परिणाम त दिँदैन भन्दै डराएँ। तैपनि साहस गरेर सम्पर्क गरेँ।
उनलाई दिदी भनेर सम्बोधन गर्दै आफ्नो परिचय दिएँ। त्यसपछि हाम्रो समय-समयमा सम्पर्क र भेटघाट हुन थाल्यो।
करिब एक महिनापछि कुरैकुरामा दिदीसँग मैले फोनसम्पर्क काट्ने व्यक्तिको नाम लिएर जान्न चाहेको बताएँ। उनले हाँस्दै भनिन्, 'ए ती नानी? ती त हाम्रो अफिसबाट विज्ञापन लिन आइरहने विज्ञापन एजेन्सीको सम्पर्क सहचरी हुन्।'
मैले 'ए' मात्र भनेँ। दिदीले पुनः किन खोजी गरेको भनेर सोधिन्। मैले यसको जवाफ दिन सकिनँ।
सोच्न थालेँ, जसको पेसा नै विज्ञापनका लागि सम्पर्क गरिरहने रहेछ। मैले यति तल गिरेर सोच्नु कति उचित छ भन्ने प्रश्न आफैँतिर सोझ्याएँ। कुरै नबुझी अर्कालाई अविश्वास गरेर आफ्ना प्रियको दोष खोजेर आफैँ जल्नु कदापि ठिक होइन भन्ने लाग्न थाल्यो।
आज बिदाको दिन। आज पनि घर आउन ढिला गरे उनले। तर शंकाको लहरो आज चाहिँ चुँडिसकेको थियो। मेरो मनको हलचल शान्त बनेको थियो। त्यसैले परिवेश अर्कै बनेको थियो। दिल खोलेर उनलाई स्वागत गरेँ। मनभित्रबाटै अङ्कमाल गरेँ। मेरो यस्तो आत्मीय भावले विचरा उनी फुरूक्क परे।
अहिले पनि म सोच्दैछु, कुनै दिन उनीसँग एकान्तमा समय मिलाएर धेरै कुरा गर्नेछु। त्यसपछि यो आत्मानुभूति हुबहु सुनाउँदै मेरो मन अझ चङ्गा बनाउनेछु।