शालिन्दा एसइई परीक्षाको आगमनसँगै
चर्को बहस गरिन्छ गुणस्तरीय शिक्षा र नतिजा सुधारको सवालमा
मर्यादित र भयरहित परीक्षा वातावरण बनाउने सन्दर्भमा
बनाइन्छ विभिन्न तहका अनुगमन संयन्त्र
केन्द्रका अनुगमन टोली
प्रदेशको अनुगमन टोली
स्थानीय सरकारको अनुगमन टोली
पत्रकार अनि शिक्षक संघ/संगठनको अनुगमन टोली
ह्वारह्वार्ती लर्क लाग्छ परीक्षा केन्द्रमा
खटाइन्छ सुरक्षा फौज र खानतालासी गरिन्छ विद्यार्थीलाई
कुनै अपराधीलाई केरकार गरे झैँ
भयभित बनाइन्छ विद्यार्थीहरू
'नियम विपरीत काम गरे सोझै 'रेष्टिकेट' को धमास दिएर।
हो, अहिले हामी एसइई परीक्षाका संघारमा छौं
मर्यादित र शान्तिपूर्वक परीक्षा सञ्चालनका खातिर
निरन्तर बहस पैरवी गरिरहेका छौँ
परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने काइदा सिकाइरहेका छौँ
परीक्षामा सफल हुने र जिन्दगी सफल बनाउने 'क्याप्सुल' बाँढिरहेका छौँ
परीक्षार्थीले परीक्षा दिँदा ध्यानदिनु पर्ने 'टिप्स' बताइरहेका छौँ
हामी भनिरहेका छौँ विद्यार्थीको समग्र पक्षको मूल्यांकन
केवल ३ घण्टे परीक्षाबाट सम्भव हुँदैन
पेपर पेन्सिल टेस्टबाट अहिलेको पाठ्यक्रमले अपेक्षा गरेको
सिकाइ उपलब्धि यकिन गर्न सकिँदैन
अहिलेका विद्यार्थीका कौशल मापनमा
'परम्परागत परीक्षा प्रणाली' पर्याप्त छैन
प्रश्नको जवाफ खोज्ने तर प्रश्न सोध्न बन्देज गर्ने
अहिलेको परीक्षा प्रणाली ठिक छैन पनि भनिरहको छौँ
र, लिइरहेका छौँ ३ घण्टे परीक्षा
यही विरोधाभाषभित्र उत्तीर्ण र अनुत्तीर्णको कित्ताकाटमा
विद्यार्थीहरूलाई तौलिरहेका छौँ, जोखिरहेका छौँ
अक्षारंकन प्रणालीको आयातीत तराजुमा
गुणस्तर मापनको गज्जवको अभ्यास गरिरहेका छौँ।
एसएलसी हुँदै एसइईसम्म आइपुग्दा
मूल्याकंनको अंकन प्रणाली हुँदै अक्षारंकन प्रणालीसम्म आइपुग्दा
विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ को भइसक्दा
हामी केवल कक्षा १० को परीक्षालाई नै
विद्यार्थी मूल्यांकन अकाट्य मानक ठानिरहेका छौँ
चाहिँदो नचाहिँदो बहस गरेर एसइईलाई
विद्यालय शिक्षाका 'महापर्व' मानिरहेका छौँ
चाहिनेभन्दा बढी महत्त्व दिएर एसइईको हाउगुजीमा
अबोध बालबालिकाहरूलाई तसाईरहेका छौँ
गुणस्तरीय विद्यार्थीको लब्धांक पत्रमा मात्र खोज्ने
हाम्रो परम्परागत शैली नबदलेसम्म
न हामीले सिकइमा सुधार गर्न सक्छौँ न त परीक्षा प्रणालीमा नै
त्यसैले, एसइई परीक्षाको अनावश्यक बोझबाट मुक्त बनौँ
जीवन आफैमा परीक्षा हो र यसको सामना नियमित कार्य हो भनेर
आफू बुझौँ र विद्यार्थीलाई बुझाऔँ
हाम्रा शैक्षिक अभ्यास र परम्परा समसामयिक बनाउन
परीक्षालाई आउटबक्समा बुझ्ने प्रयास गरौँ
बहस केवल एसइई परीक्षाको मर्यादा र गुणस्तरीयतामा होइन
शिक्षण सिकाइको सुधार र विद्यार्थीको सिर्जनशीलता अभिवृद्धिमा केन्द्रित गरौँ
एसइईअघि र नतिजा प्रकाशन भएपछि गरिने मौसमी बहसले
समग्र शिक्षा प्रणालीमा बद्लाव ल्याउन सक्दैन
त्यसैले, नियन्त्रित परीक्षा कर्मकाण्डीबाट बाहिर निस्कौँ
र, समय सन्दर्भअनुसारको शैक्षिक सुधारको मार्गचित्र पहिल्याऔँ।