धमिराले खाएको जुरो
धराशायी धर्म देखेर
धीर पुरुष पनि धैर्य गुमाउँछ
परदेश स्वदेश जस्तो छैन
गरेनन् ऋषिहरूले तप यहाँ
भोगियो यो भूमि म्लेच्छहरूद्वारा
अनि गरियो शोषण धर्तीको
धीत मरुन्जेल
असंख्य अतृप्त आशाहरूको
पासो लगाउदै घाँटीमा
निस्सासिएको थाहा पाउने
गुमिसक्यो होस
जोश हुँदा छँदा किन आएँ म विदेश?
अनुत्तरित प्रश्न सोध्छु आफैँलाई, सबैलाई
पाउदिनँ चित्तबुज्दो जवाफ
पैसा र सुविधाको बहानामा
बगाइन्छन् संस्कार यहाँ
सन्ततिको प्रगति भनी
पच्छारिन्छन् पराधीनतामा गृहस्थ जोडी
अनि जोडिँदैन तार मातृभूमिसँग
तारतार हुन्छ देशभक्ति
जब देशको दुर्दशा मात्र सुनिन्छ समाचार
देशको माया भए किन छोडेको?
विदेशमा किन देशको गुनासो?
यही प्रश्नले झुकायो शिर
जुन ठाडो थियो सगरमाथा
फर्किने चाहना सबैको सुनिन्छ
फर्केको कमै देखिन्छ
कमै देख्छु देशलाई निःस्वार्थ माया गर्ने
स्वाभिमानलाई शिखर ठान्ने
त्यही सन्तति हौँ हामी
धनी घर पाएपछि
गरिब आमाबुवा हेला गर्ने!