आफू त महान् समाजसेवी परियो
सुनाइ साध्य छैन हजुर, के-के गरियो गरियो
नाम होस् वा बदनाम होस् तर गुमनाम नहोस्
यही मूलमन्त्र आत्मसाथ गरियो
आखिर उत्कृष्ट सनाजसेवी न परियो
आसन, भाषण, माला र खादा आफ्नै पहिचान परे-
सारा प्राप्त नहुदाँ कैँयन पटक ठाउँको ठाउँ झगडा समेत गरियो
खादा र माइक सहितको फोटो पटक-पटक अपलोड गरियो
फोन गरीगरी लाइक, कमेन्ट र शेयर गर्न अनुरोध समेत गरियो
आखिर महान् समाजसेवी न परियो
आफ्ना अगाडि अर्काको प्रगति हेर्न सकिने कुरै भएन
धेरै पटक ईर्ष्या र डाहको दलदलमा गडियो
अर्कैको कामलाई पनि आफ्नै भनी लड्नसम्म लडियो
बखेडा सृजना गर्न धेरैका कानमा हावा समेत भरियो
आखिर उत्कृष्ट समाजसेवी न परियो
सबैका नजरमा मेरो क्षमता अद्भूतको छ रे
त्यसैले त अरु कहाँ छन कहाँ आफू त अग्लो सिढी चढियो
उल्लेख्य योगदान हुँदा जतासुकै चर्चामा परियो
उठ्नेदेखि चुठ्नेसम्म, हिँड्नेदेखि भिड्नेसम्म
पोलेका खुट्टा टोक्नेदेखि बोटल ठोक्नेसम्म
छ्यापछ्याप्ती पद बाँड्नेदेखि समाज भाड्नेसम्म
सबैलाई फेसबुक अनि पत्रिकाको पेजमा भरियो
के गर्ने हजुर, आफू त महान् समाजसेवी न परियो
यदाकदा सुन्ने गर्छु दुरुपयोग भयो अरे
सामाजिक सम्पत्तिले बियर सियर खायो अरे
हिँडेँ, गुडेँ कति-कति भोग्नुपर्ने सबै भोगियो
अनुरोध, घुर्की, धम्की पर्दाखेरी खुट्टासम्म ढोगियो
आफ्नै मेहनतको कमाइ हजुर अलिअलि खर्च गरियो
हजुरहरूकै सेवा गर्न असाधारण त्याग गरियो-
इष्टमित्र साथीभाइ सबैलाई सेवा चाहिने
खुसी राजी बनाएमा जे गरे नि साथ पाइने
दाताबाट पाको रकम साथीभाइमा खर्च गरियो
आखिर उही महान् समाजसेवी न परियो
आज्ञाकारी बानी आफ्नो अग्रजको सिको गरियो
परम्परा कायम गरी सबको शिर ठाडो पारियो
दुरुपयोग कहाँ हुनु उपयोगकै खातामा हस्ताक्षर गरियो
आखिर स्वघोषित महान् समाजसेवी न परियो!