मेरो मुटुको ढुकुढुकी तिमीलाई
आँखामा सजाएर राखेको छु
गमलामा फूलहरू सजाएर राखे जस्तै
सुन्तलाको पाना जस्तै तिम्रा ओठ
स्याउको दाना जस्तै राता-राता गाला
सूर्यको प्रकाश जस्तै तेज नयन
अन्धकार रातमा आकाशमा लागेका
लाखौँ ताराको र जूनको दिप्ती टलकभन्दा
तिम्रो अनुहारको चमक बिर्सेको छैन!
तिमी अमेरिका गएको पनि वर्षौं भयो
खै माया पो मार्यौ कि केही
बुझ्न सकेको छैन
मेसेज र फोन नआएको पनि छ महिना भयो
मेरो एकतर्फी मेसेज तिम्रो मेसेन्जरमा
एक हजार वटा पुगिसके
खै एउटाको पनि रिप्लाई पाएको छैन
मन आत्तिएर भताभुङ्ग भएको छ
मनमा सजाएका सपनाहरू पनि
उड्न लागेका छन्
चराहरू जस्तै
निकै डराएको छ यो मन
तिमीलाई देख्न, भेट्न नपाएर
आफैलाई चिन्न छोडिसकेँ
मन बहकिएर
कतिखेर केही समस्यामा पो
छौ कि सम्झ्निन्छु
कतिखेर आफ्नै काममा व्यस्त
भएर हो कि सम्झिन्छु
व्यस्त भन्न त फौन मेसेज नै गर्न
नपाउने त्यस्तो के होला र?
झसङ्ग झस्केर आफैलाई भनिहाल्छु
मभन्दा कोही राम्रो मान्छे भेटेर
उसैसँग रमाउन थालेकी पो हो कि ऊ!
अझैं पनि तिमी फर्केर आउछौ
मलाई बोलाउछौ भन्ने आश छ मनमा
म तिम्रै बाटो पर्खेर बसेको छु
तिमी र म घुम्न जाँदाको एउटा
सेल्फी फोटो फ्रेममा राखेर
भित्तामा सजाएको छु
बिहान बिउझिने बित्तिकै
झट्ट त्यही फोटोमा आँखा जुधाएर
केही सेकेन्ड हेरिरहन्छु
आँखाबाट आँसु खसाल्दै
फोटोलाई सोध्छु
मेरो मन कि मान्छे
अमेरिकाबाट तिमी
कहिले हो फर्केर आउने?