कविता
कति स्वतन्त्र छन्
ती हिमालहरू
हिउँले छाडी गए पनि
कहिले शिर झुकाएका छन् र?
मलाई पनि
त्यो परको हिमाल झैं
अनवरत ठडिन मन छ
काला पत्थर नै सह
अविच्छिन्न अग्लिरहन मन छ
तर तिनै मान्छे
मेरो शिरमा टेकेर
एडमन्ड हिलारी भै दिन्छन्
जुन्को तावेईभै दिन्छन्
मलाई खोपेर
म भन्दा
एक मान्छे अग्लो भै दिन्छन् ...!!
मलाई तिमी जस्तै
एक छिनको
अग्लो मान्छे हुनु छैन
अरूलाई टेकेर अग्लो भएकोमा
उत्सव मनाउनु पनि छैन
काला पत्थर नै सही
अनवरत
अबिच्छिन्न
अविचलित
हिमाल झैं ठडिरहन मन छ
मलाई टेक
म भन्दा एक मान्छे अग्लो हौ
र
मलाई जितेकोमा उत्सव मनाऊ
लेखाऊ तिम्रो नाम
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा
तर तिमी म भन्दा
यथार्थमा
अझ होचो होचो हुँदै गएका छौ
र मेरो मन
हिमाल सँगै पग्लिरहेको छ
र पग्लिँदै अग्लिरहेको छ.....!