भौगोलिक रुपमा विकट र आर्थिक-सामाजिक रुपले समेत पछि परेको लुम्बिनी प्रदेशको एक जिल्लामा अवस्थित सानो गाउँमा आमाले भकारो सोहोर्दै गर्दा जन्म लिएको मान्छे रे म। घासदाउरा गर्दै, ढुंगामाटोसँगै लड्दै हुर्केको मान्छे म। काठको कालोपाटीमा कमेरो माटोले कपुरी क, खरायो ख ,गाईगोडे ग, घर जस्तो घ लेख्दै मेट्दै पुन: त्यसैमा लेख्दै अ, आ, इ, ई र क, का, कि, की सँगै जोडेर शब्द बनाउन सिकेको मान्छे म।
टुकी बालेर पढ्दै गर्दा कैयौँ पटक टुकीको लप्काले कपाल जलाउँदै, दिमाग खियाउँदै अक्षर चिनेको मान्छे म। छोरा पढाउनु पर्छ, उसको आखा खोलिदिनु पर्छ भन्ने सोच भएका बाआमाको काखमा हुर्केर आधा दिन स्कुल त आधा दिन गोठालो भएर गाउँकै स्कुलबाट एस एल थर्ड डिभिजनमा पास गरेको मान्छे म। भारत गएर मजदुरी गरी आफ्नो गाँस काटेर भए पनि छोरो सहरमा पढाउँछु, ठूलो मान्छे बनाउँछु भन्ने सपना बोकी राजधानी पढ्न पठाउने महान् बाउको भाग्यमानी छोरा मध्येको एक म।
बाको सपना पूरा गर्न सहर छिरी आफ्नो लक्ष्य तय गर्दै कडा मेहनतका साथ आफ्नो अध्ययन पूरा गर्न सफल मान्छे म। बीच-बीचमा ठेस लागेर लड्दै गर्दा बाआमाले गरेका दुःख र बोकेका सपनाहरू सम्झँदै आफूलाई सम्हाल्दै अघि बढेर सहरमा आफ्नो पहिचान स्थापित गर्न सफल, आफूलाई एक प्रतिष्ठित व्यक्ति ठान्ने म। सहरमै आफ्नो प्रतिष्ठाको लडाइँ लड्दै गर्दा, आफ्नो प्रगतिलाई एकोहोरो पछ्याइरहँदा, आफ्ना छोराछोरीको भविष्य सहरमै खोज्दै गर्दा, सन्तानको मायामा डुब्दै गर्दा गाउँमा रहेका बुढा बाआमा र उनका दुखलाई बिर्सन पुगी परिस्थितिले स्वार्थी बनाएको मान्छे पनि म।
सहर पसेका तिन दशकमै घर, गाडी, पैसा सम्पूर्ण कमाएता पनि आफ्नै सन्तानले नेपालमा भविष्य नदेखी कुकुरले हड्डी छोडेजस्तै गरी चटक्क छोडी विदेशिएपश्चात सहरमा एक्लो महसुस गरिरहेको मान्छे म, एकलपनले मानसिकरुपमा विक्षिप्त हुँदै अनेकन सोचहरूले थिचिएर मन भारी बनाउँदै दिन काट्दै गरेको मान्छे पनि म।
बाल्यकालका स्मृतिहरूले सताउँदै गर्दा मलाई झट्ट सम्झना आयो पल्लो गाउँका जिम्माल बाको। घाँसदाउरा गर्दै गर्दा बाटोमा उहाँसँगको भलाकुसारीमा मैले उहाँलाई गरेको प्रश्न र सोको जवाफ अहिलेसम्म पनि मेरो मानसपटलमा ताजा नै छ।
'बा, के छ खबर? के गर्दै हुनुहुन्छ? के छ छोराछोरीहरूको खबर?' भन्ने मेरो प्रश्नमा उहाँको जवाफ थियो, 'के हुनु र हेर केटा, सबै बेसै छ। छोराछोरीको पनि ठिकै छ। तँलाई थाहा छँदै छ मेरा पाँच भाइ छोरा र तीन छोरी मध्ये छोरीहरू बिहे गरेर आफ्नो घर गइसके। दुइटीको राम्रो छ, अन्नपात टन्न उब्जनी हुने खेतबारी छन्, आफूलाई बढी भएको अन्न बेचेरै वर्षभरिको गुजारा चल्छ। दुइटा ज्वाइँसापहरू साह्रै मेहनती र असल हुनुहुन्छ तर कान्छो ज्वाइँ चाहिँ अलि लफंगा परेछन् क्यार, त्यसैले कान्छीले अलि दुःख पाएकी छ।'
'अनि छोराहरू?,' मेरो पुन: प्रश्न थियो।
'दुई भाइले राम्रो पढे, गाउँकै स्कुलमा मास्टरी पेसा गरेर बसेका छन्, राम्रो प्रगति गरेका छन् तर अरु तीन भाइले खासै धेरै पढ्न पनि सकेनन्, उल्लेख्य केही गरेनन् बाबु। यसै हल्लिएर हिँडेका थिए। केही उपाय नलागेर एक भाइ राजनीति गर्छु भन्दै जिन्दावाद मुर्दावाद गर्दै गाउँमै हल्लेको छ, एउटाले व्यापार गर्छु भन्दै सहरतिर पस्यो र अर्को भिसा लगाएर विदेशियो नि बाबु,' बाको उत्तर थियो।
बाआमाको चाहना र मेरो रहरमा सहर पसेर संघर्ष गर्न लागेको पनि धेरै वर्ष पुगिसकेछ। सहरमा संघर्षशील जीवन बिताउँदै गर्दा यतिका धेरै वर्षपछि आज अचानक तिनै जिम्माल बासँग भेट भयो, निकै खुसी लाग्यो। लामै भलाकुसारी भयो, बालापनका स्मृतिहरूलाई ताजा बनाइदियो, मन हलुङ्गो हुँदै गए जस्तो भयो। यो मनले उही बाल्यकालमा गरेको प्रश्न पुन: गर्न प्रेरित गर्यो र प्रश्न गरेँ, 'बा पनि सहर तिर आउनुभएको रहेछ, के छ बा हजुरको खबर? अनि छोराछोरीहरूको खबर के छ, के-के गर्दै हुनुहुन्छ आजकल?'
बाको जवाफ थियो, 'ठिकै छ त भन्नु पर्ला बाबु! दुई भाइले केही गर्न सकेनन् मास्टरी गरेर गाउँमै छन्, चक डस्टरमै २०-२५ वर्ष बित्यो तिनीहरूको, बल्लतल्ल आफ्नो ज्यान र बालबच्चासम्म पालेका छन्। अरु तीन भाइको राम्रो छ। एउटा मन्त्री भाको छ, झण्डावाला गाडीमा हिँड्छ, अर्को छोराको यही सहरमा व्यापार चम्केको छ, करोडौंको मालिक छ। घर गाडी सबै राम्रो छ। विदेश जाने कान्छोले नि राम्रो गर्यो बाबु। पिआर पाएको नि दश वर्ष जति भो, एकपटक त हामी बुढाबुढीलाई पनि विदेश घुमायो। कोही नेता, कोही विदेश, कोही व्यापारी! राम्रो प्रगति छ नि बाबु।'
मैले पुन: प्रश्न गरे, 'अनि छोरीहरूको?'
'दुई बहिनीले खासै केही गर्न सकेनन् बाबु। उही घरधन्दा, खेती किसानी गर्ने बस्ने। उबेला टन्न खेतबारी भएका गरी खान सक्ने ज्यान भएकालाई रोजेर हेरेर छोरी दिइयो। ज्वाइँहरू सबै खेती किसानीमै जीवन बिताए। कान्छीको चाहिँ ठिकै छ बाबु। ज्वाइँसापले कतारबाट रेमिटेन्स पठाइसिन्छ। राम्रो कमाइ छ, सहरमा घर पनि जोडेकी छे, छोराछोरी पढाउनको लागि सहरमा बसेर सुख काटेकी छे उसले।'
बासँग कुरा हुँदै गर्दा मनमनै सोचेँ, आफ्नै बाबुले समेत छोराछोरीको प्रगति मापनका मापदण्डहरू समयअनुसार फेर्ने रहेछन् भने अरूको के कुरा! हिजो मास्टरी पेसामा लागेका दुई भाइको प्रगति देखेका बाले आज देखेनन्।
पुन: केही प्रश्न गर्न मन लाग्यो अनि प्रतिप्रश्न गरेँ, 'सहरको बसाइँ कोसँग छ नि बा?'
'अहिले दुई महिना जति भो बाबु बुढाबुढी नै यही सहरमै छौँ। एक महिना जति माइलो छोराको घरमा बसियो,अर्को एक महिना जति भो काइलोकोमा बस्दै छौँ, अब २-४ दिनमा गाउँ फर्कने सोच छ बाबु। हामी बुढाबुढी मान्छेलाई त गाह्रो रहेछ यो सहरमा बस्न,' बाको उत्तरमा केही निराशता समेत झल्केको अनुमान लगाउन कुनै मुस्किल परेन मलाई। अनि बाको पूरा उत्तर आउँदा नआउँदै मैले पुन: प्रश्न राखिहालेँ, 'किन नि बा, सहर राम्रो लागेन र?'
'सहर त राम्रै छ नि बाबु तर सहर मात्र राम्रो भएर के गर्नु, हामी बुढाबुढीलाई? सहरभरि मन्दिरै मन्दिर छन्, दिनभरि डुल्ने, भुल्ने, घुम्ने ठाउँ पनि छन् भन्छन् तर दुई महिना बितिसक्दासम्म पनि एकदिन घुम्न पाएको होइन, कुनै ठाउँ देख्न पाएको होइन। घरबाट एक दिन निस्कन पाएको होइन, कुनै दिन कतै जाउँ न भन्दा घुमाउन लगिदिने मान्छे छैन। छोराबुहारी सबै आफ्नै काममा व्यस्त भन्छन्। नातिनातिनाहरू स्कुले जाने आउने। फुर्सद भयो कि मोबाइलमा इयरफोन लगाएर ट्याप-ट्याप गर्ने र टिभीको च्यानल बदल्ने बाहेक अरू केही कुरा छैन। घरमा बोल्नेसम्म कोही हुँदैन, छोरा बुहारीको मुख देख्नै गाह्रो। घरमा काम गर्ने मान्छे राखेका छन्। कस्तो चलन हो यो सहरमा, खानासम्म अर्काको छोराछोरीले पकाएर दिएको खानु पर्ने! आफ्नो खाना आफैले पकाउनेसम्म फुर्सद नहुने रे। छोराबुहारी कुनै दिन घरमा भैहाले भने पनि सबैजना मोबाइलमा व्यस्त, कुरा सबै उही व्यापार बिजनेस, राजनीति, कसलाई उछाल्ने, कसलाई पछार्ने, त्यो बाहेक केही सुनिदैन। हामीलाई कस्तो छ भनि सन्चो बिसन्चो सोध्ने सम्म फुर्सद छैन उनीहरूलाई। खोइ फुर्सद छैन भनौँ कि वास्ता गर्दैनन् भनौँ कुरै नबुझिने बाबु।
कति ओकल्नु र आफ्नै छोराबुहारीका नकारात्मक कुरा। आफूलाई भने नातिनातिना र छोराबुहारीको मायाले तानेर यो गाउँदेखि यो सहरसम्म ल्यायो तर उनीहरू भने वास्तै छैन? तल्लो गराको पानि उपल्लोमा जाँदैन भनेको सायद यही होला! अझ भनौँ मायाममता तल तल मात्र बग्छ भन्ने जस्तो भएको छ बाबु अहिले। हामीलाई पुग्यो बाबु यो सहरको बसाइँ। यसरी घरभित्र कुँजिएर कति दिन बस्नु।
आफ्ना हात खुट्टा चलुन्जेलसम्म त आफ्नै गाउँघर नै ठिक रहेछ। गाउँका घर साना होलान्, धन थोरै-थोरै कमाएका होलान तर मन ठूलो-ठूलो भएका छरछिमेक, आफन्त र इस्टमित्र छन् बाबु। यो सहर त अचम्मको हुने रहेछ। घर टपक्कै जोडिएका तर मन पूरै फाटेका। छिमेकमा मर्दोजिउँदोसम्म पत्ता नहुने, एकअर्कासँग बोल्न समेत पैसा लाग्ला जस्तो गर्ने।
उतै ठिक बाबु, दिनभरि मास्टरी गरेर पनि बिहान बेलुका सन्चो बिसन्चो सोध्ने, खाए नखाएको मतलब त गर्छन्, त्यो ठूले र साइलोले। कमाइ थोरै भए पनि चित्त ठूलो छ बाबु उनीहरूको। खोइ के रहेछ यो सहर धन धेरै हुने, घर ठूलो हुने तर चित्त सानो हुने,' बाले ठूलै गुनासो गर्नुभयो।
'आफ्नै सन्तान भनेर नहुने बाबु, सहरमा बस्ने छोराबुहारीमा ठूलै घमण्ड पसे जस्तो पनि लाग्यो, ठूलो पद, ठूलो घरसँगै घमण्ड पनि ठूलै बनाएछन् कि क्या हो। बाआमाले गरेको दुःख चटक्कै बिर्सेछन्। आफैले जन्माएका छोराले त बिर्से अब अर्काकी छोरी र नातिनातिनाको के कुरा गर्नु। आफूलाई भने साउँको भन्दा ब्याजको माया लाग्ने, नजिक आएर बसिदिए हुन्थ्यो जस्तो लाग्ने तर उनीहरू नजिक हुनै नखोज्ने, हामीलाई त पराई जस्तो व्यवहार गर्ने। केही सोध्नै नहुने झर्किहाल्ने। के हुने रहेछन् हो यो सहरका केटाकेटीहरू! हुन त बाआमानै त्यसै गर्छन् अब केटाकेटीले त्यही सिक्ने त हुन्,' बाले थप्दै जानुभयो। मैले मुन्टो हल्लाएरै होमा हो मिलाएँ।
बाले थप्दै जानु भयो, 'हेर बाबु, जीवनमा धन सम्पत्ति, पद र पावर छ भनेर घमण्ड गर्नु बेकार छ किनकि हिजो चप्पलको फिता चुँडिदा नयाँ चप्पल किन्ने हैसियत नभएर पूरानो कपडा काटी डोरीले बाँधेर चप्पल पड्काउँदै हिँड्नेहरू आज करोडौंको गाडीबाट झरेर एकपाइला पनि जमिनमा नटेकेरै पुग्ने गरी आलिसान बंगलामा बस्ने भएका छन्। उनीहरू नै आज चप्पल कारखानाको मालिक भएका छन्। हिजो करोडौँको सम्पत्ति छ भनेर फूर्ति लगाउनेहरू आज रोडमा भौंतारिँदै हिँडेको पनि हामीले देखेकै छौँ।
हिजो पैसा र पावरको आडमा लाखौंको घुम्ने कुर्सीमा बसेर राज गर्ने, दुनियाँलाई थर्काउँदै हिँड्नेहरू आज जेलको चिसो भुइँमा पुर्पूरोमा हात राख्दै सुई-सुई सुस्केरा हाल्दै दिन गन्दै बसेको पनि हामीले देखेकै छौं। हिजो पद र पावरमा हुँदा अरुलाई मान्छे नगन्नेहरू आज लौन हजुर मलाई बचाइदिनु पर्यो भनि सोही मान्छेको शरणमा पर्न गएको पनि हामीले नै देखेका छौँ।
हिजो रातदिन जसको हातको सलाम खाँदै सुरक्षा घेरामा बसे आज आज सोही हातले लगाएको हतकडीमा फसेको पनि हामीले देखेकै हो। हिजो उच्च पदमा पुगेर हैकम चलाएकाहरू आज देश छोडेर भागेर ज्यान जोगाएकाहरूलाई पनि हामीले देखेकै हो।
हिजो नाङ्लोमा चुरोट सुर्ती, गुट्खा सलाई बेचेर आफ्नो गुजारा चलाई फाटेको तन्ना मात्र बिछ्याएर त्यसैमा आनन्दले निदाउनेहरू आज सयौँ डिपार्टमेन्ट स्टोर र कम्पनीका मालिक भइ लाखौं पर्ने बेड विस्तारमा सुतेका तर चयनको निद निदाउन नसकेकाहरूलाई पनि आँखै आगाडि देखेकै हो।
हिजो हामी सबैले भगवान मानेकाहरूलाई आज राक्षस जस्तो बनाइएको हामीले देखेकै हो। हिजो सुपरहिट भइ सधैं चर्चाको शिखरमा रहनेहरू आज कसैले नखोज्ने-नगन्ने अवस्थामा पुगेको पनि हामीले देखेकै छौँ। त्यसैगरी हिजो चारैतिरबाट तिरस्कृत गरिएकाहरू आज हरेक पल चर्चा कमाइरहेको पनि हामीले देखेकै हो। तर के गर्नु यो सहरमा पैसा र पावरको मातले आफन्त र पराई छुट्टाउन बिर्सिसकेछन्।'
'त्यही त बा के भन्नु खोइ जमाना नै के आए आए,' मैले बाको कुरामा सहमति जनाउँदै गएँ।
'एकछिन बाहिरको हावा खानको लागि एक्लै भए नि मन्दिर तिर उक्लेको बाबु आज त। मेरा त अहिलेसम्म हातखुट्टा बलिया छन् त्यसैले यहाँसम्म आउन सकेँ तर बुढी रोगी छ। यहाँसम्म हिँडेर आउन समेत सकिन। मन्दिरै मन्दिरको सहरमा बसेर पनि धर्मकर्म गर्ने उमेरमा घरभित्रै कुँजिएर बस्नु परेको छ विचरीलाई। के गर्नु बाबु, साधन हुनेहरूले वास्तै गर्दैनन्, आफै हिँड्नै सक्दिनन्,' यसो भन्दै गर्दा बा निकै भावुक हुनुभयो।
बसेको ठाउँबाट खुट्टा कमाउँदै लौरोको सहाराले उठ्न खोज्दाखोज्दै अइया, अइया छाती दुख्यो भन्दै कराउँदै भुइमा लड्नुभो। बल्लतल्ल भुइँबाट उठाएर नजिकैको बेन्चमा राख्दै गर्दा भन्दै हुनुहुन्थ्यो, 'बाबु आज मेरो अन्तिम दिन हुन पनि सक्ला, मेरी बुढीलाई यो सन्देश पुर्याइदिनू है- यो व्यस्त र स्वार्थी सहरमा बसेर दुःख पाउछेस् बुढी। त्यसैले औषधी उपचार सकेर छिट्टै आफ्नै गाउँ फर्किनू, अब जति जीवन जिउछेस् आफ्नै गाउँबेसीमा रमाउनू।' यति भन्दै गर्दा बा बेहोस हुनुभयो।
हत्तपत्त ट्याक्सी खोजेर नजिकैको हस्पिटलमा लगेर आकस्मिक कक्षमा भर्ना गरेँ।
बाको काइलो छोरा (व्यापारी) लाई कल गरेर जानकारी दिएँ, 'दाइ, हजुरका बा एक्कासी ढल्नुभयो। त्यसैले हस्पिटलमा भर्ना गरेरे राखेको छु छिट्टै आउनू।'
'ए हो र! के भो बालाई?,' दाइ हतपत्त गर्दै बोल्नुभयो।
'मन्दिर जानु भएको रहेछ, त्यही एक्कासी ढल्नुभयो। अरु कुरा आएर गरौँला बरु छिटो आउनू ल,' मैले यति भन्न नपाउँदै उताबाट जवाफ आयो, 'लल हुन्छ उपचार गर्दै गर, म अहिले अर्जेन्ट बिजनेश मिटिङमा छु। मलाई आधा घण्टा जति लाग्ला, त्यतिन्जेलसम्ममा म माइलो दाइलाई (मन्त्री) लाई कल गरेर जान भन्छु, बरु तँ पनि कल गरिहाल् है माइल्दाइलाई।'
माइला दाइ लाई फोन लगाएँ तर कल उठेन। मनमनै सोचेँ, सायद आगामी सरकारको गठनबारेमा छलफल छ क्यार आज। कलब्याकमा जवाफ थियो, 'मलाई थोरै समय लाग्छ होला पख म काइलोलाई खबर गर्छु, ऊ छिट्टै आउँछ होला, त्यतिन्जेल तैँले ख्याल गर्दे गर्।'
बाका छोराबुहारीहरू अस्पताल आइपुग्न केही घण्टा नै लाग्यो। यता बाको सास रोकिए जस्तो लागेर नर्सलाई चेक गर्न लगाएको बाले धड्कन गुमाइसक्नु भएछ। म आत्तिए। के गर्ने भन्ने विषयमा दोधारमा परेँ। आफूलाई सानैदेखि माया गर्ने गाउँका बा आफ्नै आँखा अगाडि ढलेको दृश्यले मन थाम्न सकिनँ, आँखाबाट धरधरी आँसु आए।
अन्तिम संस्कार सहरमा नै गर्ने कुरा भयो। गाउँमा रहेका छोराछोरीहरू सबै जम्मा भए, विदेशमा रहेका कान्छा छोराबुहारी तत्काल आउन नसक्ने कुरा जानकारी आयो। आर्यघाटमा भोलिपल्ट दाह संस्कारको कार्य सकेर खिन्न मन बनाउँदै घर फर्किएँ। फर्कँदै गर्दा घरिघरि जिम्मालबाको याद आइरह्यो, मन भारी भइ नै रह्यो। माइलो छोरा मन्त्री, अर्को छोरा ठूलै व्यापारी भन्दै आफ्ना सन्तानहरूको प्रगतिलाई निकै गर्वका साथ प्रस्तुत गर्ने ती जिम्माल बाले सहरिया छोराबुहारीप्रति गुनासो गर्दै पोखेका अनेकन पीडा, वेदनाहरू सम्झिएँ। आखिर घमण्ड गर्नु, तेरो मेरो भन्नु बेकार रहेछ भन्ने लाग्यो।
अब मैले आफ्नो विगत कोट्याउँदै जान थालेँ। मलाई सहरमा पढ्न पठाउन बाआमाले गरेका ती दु:खहरू सम्झिएँ। सहरिया बन्ने, प्रगति गर्ने र छोराछोरीको भविष्य बनाउने बहानामा ती बुढा बाआमाले गरेको दु:ख र आफ्नो गाउँलाई चटक्कै बिर्सिएकोमा म आफैले आफैलाई आत्मग्लानी गरेँ। एकान्तमा बसेर सोच्न थालेँ, आखिर अब मसँग बाँकी के नै छ र? भएका दुई छोराछोरी पनि तपाईंले कमाएको सम्पत्तिले के नै हुने हो र, यो देशमा के नै भविष्य छ र यहाँ बस्ने भन्दै विदेश पलायन भए। पक्कै पनि फर्कने होइन होला। जसको लागि सम्पत्ति जोडियो उसैले सम्पत्तिको कुनै मूल्य नदेखेपछि के नै गर्न सकियो र? बुढेसकालको सहारा भन्ने अब त्यही बुढीबाहेक को नै छ र मेरो!
अब मलाई आफू जन्मेहुर्केको ठाउँको यादले पलपल सताउन थाल्यो। ती पाखापखेराहरू आँखै आगाडि घुम्न थाले, झरनाहरू छङछङ गरी बग्न थाले, बर्खामास ढुंगामुढा सहित बगरखेतमा कहिले ओल्लो छेउ त कहिले पल्लो छेउ गर्दै उर्लेको भेलसँगै बगेका काठ, मुढा र ढुंगाको त्यो आवाजले मुटु थर्किए जस्तो भान हुन थाल्यो।
सल्लेरीमा भएका सल्लाका रुखका पातहरू हावाको बेगसँगै सुसेल्दा आएको मन्द आवाज, ढुंगाले छाएको घरको दलानमा बसी मुही र भुटेका मकै चपाउँदै गरेको क्षण, स्कुल जाँदै गर्दा बाटोमा गुच्चा खेलेको देखेर बाले लखेटी भाग्दै गर्दा चुडिएको चप्पल हातमा बोकेर दौडेको पल, झाँगमुनि ऐसेलु टिप्दा काँडाले च्यातिदिएको कमिज लिएर रुँदै घरमा जाँदा आमाले दुई थप्पड लगाएको, स्कुलबाट हाफछुट्टीमा भागेर खोलामा पौडी खेल्न गएको, पौडी खेल्दै गर्दा साथीले कपडा लुकाइदिएर लाजले घन्टौँसम्म खोलाबाट बाहिर ननिस्केको, पौडी खेल्न गएको निहुँमा अर्कोदिन स्कुलमा राष्ट्रिय गान गाउने बेला हेडसरले अगाडि लगेर कुखुरा बन्न लगाइदिएको सजाय, मामाघरमा गएर फर्कँदा टीका लगाएर पाएको पैसाले पिपलगेडी किनेर खाएको, मौका मिल्दा भेली र चिउरा मोलेर पूरानो कागजमा गुटुमुटु पारी मिठो गरी निकाल्दै खाँदै गरेको यादहरूले तड्पाउन थाल्यो।
उमेर हुन्जेल गाउँलाई चटक्कै बिर्सेकोमा आफूलाई पश्चाताप लाग्न थाल्यो। मलाई आफ्नै गाउँले बोलाइरहेको थियो, चुम्बकको विपरीत ध्रुवले ताने जस्तै गाउँपाखाले मलाई आफैतिर तान्दै गयो, म झन्-झन् आकर्षित हुँदै गएँ।
सहरको सबै सम्पत्ति कुनै वृद्धाश्रमलाई दान गरी गाउँमै फर्केर आफ्नै घरको बार्दलीमा बसेर वनजंगलको स्वच्छ हावा खाँदै जंगलफेदीको मूलबाट रसाएको पानीलाई तामाको गाग्रीबाट करुवामा खनाई कलकल पिउने रहर जागेर आयो। आफ्नै गाउँको सानो घरमा ठूलो मन बनाउँदै आन्तिम सास सोही घरमा फेर्ने निर्णयमा लिएर, 'हेर बुढी, अब गाउँ फर्कनु पर्छ, गाउँलाई माया गर्नुपर्छ, गाउँलेहरूसँग रमाउनु पर्छ, गाउँमा नै मर्नु पर्छ र त्यहीको माटोमा मिल्नु पर्छ। यो सहरमा म बस्दै बस्दिनँ, यहाँ म टिक्नै सक्दिनँ' भनेर रुन कराउन थालेछु।
'के भयो दाइ? किन रुनुभएको? किन कराउनु भएको?' भनेर कसैले कता-कता कोट्याए जस्तो लागेर झल्यास ब्युँझिँदा घर नजिकैको मन्दिर बाहिर आराम गर्न राखिएको बेन्चमा पो रहेछु। दर्शनको लागि मन्दिरमा गएको थिएँ। त्यहाँ लौरोको सहाराले एक्लै हिँडिरहेका एकजना निकै बृद्धलाई देखेर स्वर्गबास हुनुभएको मेरा बाको यादमा टोलाउँदा टोलाउँदै म त बेन्चमा झपक्क निदाउन पो पुगेको रहेछु।
छिः कस्तो सपना देखेको, ती जिम्मालबाको बारेमा! किन यस्तो सपना देख्नुपरेको, कतै गाउँमा अप्रिय केही त भएन भन्दै मन अमिलो पार्दै खल्तीबाट आइफोन निकालेँ, डाटा प्याक तानेँ अनि गाउँका जिम्माल बालाई भिडिओ कल लगाएँ।
गाउँघरको स्वच्छ हावा र ताजा खानापिनले होला सायद, केही वर्षअघि नै चौरासी गरिसकेका बा अझै पनि हृष्टपुष्ट नै हुनुहुँदो रहेछ। गाउँघरको हाल खबर सोध्दै एकछिन गफ्फिएँ। 'केही दिनपछि गाउँमै भेट्न आउँछु बा' भन्दै कल अन्त्य गरेँ।