एकाएक छोरीको विवाह प्रस्ताव आएपछि सुनैनाका पिता कोइरालाजी आश्चर्यचकित भए। पहिले त उनलाई ठट्टा लाग्यो किनकि छोरीको व्यवस्थापनमा स्नातक पढाइ एक वर्ष बाँकी नै थियो। उसै पनि आजकल स्नातक नसकी कसैले पनि छोरी दिँदैनन्। तर प्रस्ताव रेग्मीहरूबाट नै आएपछि उनलाई लाग्यो कुरो हावादारी होइन।
रेग्मीजीसँग उनको चिनजान नभए पनि उनको व्यवाहारिकताको किस्साहरू वस्तीमा प्रख्यात थिए। उनी सितिमिति वचन दिँदैनन् र दिएपछि पूरा गर्न कुनै कसर बाँकी राख्दैनन् भन्ने सुनिन्थ्यो। त्यसैले सुझबुझबिना उनले पक्कै पनि छोरी माग्ने निर्णय गरेका होइनन् भन्ने प्रष्ट थियो।
एक मनले त कोइरालाजी हर्षित पनि भए। ठूली छोरीको समयमै बिहे गर्न पाए ठूलो जिम्मेवारीबाट हलुका हुन पाइन्थ्यो भन्ने उनलाइ लागेको थियो। कान्छी छोरी अहिले सानै थिई, उसको लागि समय बाँकी नै थियो। छोरीको लागि डाक्टर केटोको प्रस्ताव आएको कुरा पत्नीलाई सुनाए। उनको प्रतिक्रिया पनि पतिको जस्तै विस्मयकारी नै थियो। तर राम्रो घरबाट छोरी माग्न आएको हुनाले उनले पनि छोरीसँग सल्लाह गरौँ न त भनिन्। आमाबुबापछि चकित हुने पालो छोरीको थियो।
सुनैना पुराणका अप्सराहरूजस्ती थिई भन्नु अतिशयोक्ति हुन्थो तर उसको साधारण मुहारमा सदैव कान्ति रहन्थ्यो। मोनालिसाको रहस्यमयी मुस्कान जस्तै उसको हाँसो पनि मनमोहक हुन्थ्यो। पढाइमा मेधावी थिई अनि अंग्रेजी फिल्म भनेपछि हुरुक्कै हन्थी। मेरिल स्ट्रिपको 'साइलेन्स अफ द ल्याम्ब' कति चोटि दोहोराएर हेरी भन्ने हिसाब थिएन। घरव्यवहारका कुरा धेरै थाहा नभएको भन्दै फुपूहरूले हाम्री सुनैना त सुधी छे कसरी घर गरेर खाली भनी जिस्काउँथे पनि।
रविनले आफ्नो बुबामार्फत बिहेको लागि प्रस्ताव गरेको हुनुपर्छ भन्ने ठम्याउन सुनैनालाई धेरै सोच्न परेन। पहिले ऊ र रविन एकअर्कालाई असाध्यै मन पराउँथे। एउटै बाटो र गाडी चढ्ने हुँदा दुवैको आँखा देखादेख हुन्थ्यो र क्रमशः त्यो प्रेममा परिणत भएको थियो। ती उल्लासमय दिनहरू थिए। उनीहरू कहिले सिद्धपोखरी पुग्थे त कहिले गोदावरीको उद्यान। कहिले वसन्तपुरमा हात समाउँदै डुल्थे त कहिले नगरकोटको सिर्सिरे हावामा रमाउँथे। यस्तो लाग्थ्यो कि ती पलहरूको कहिल्यै अवशान हुनेछैन। सुनैना रविनसँगको प्रेममा आशक्त भएकी थिई।
तर एक वर्षपछि रविनको व्यवहारमा परिवर्तन देखिन थाल्यो। सुनैनाले महसुस गर्न थाली कि रविनले उसलाई पहिलेझैँ प्राथमिकतामा राख्न छाड्यो। रविन डाक्टरी पढाइमा भर्ना भएपछि दुवै जना चढ्ने गाडीको रुट पनि बदलियो। दूरीले प्रेम होइन, बरु असमझदारी र अविश्वास बढायो। सुनैनाले पटकपटक रविनसँग खुलेर कुरा गर्दै सुलह गर्न खोजी तर परिणाम केही निस्केन। रविन आफ्नै साथीभाइको दुनियाँमा मस्त थियो। त्यसपश्चात बिछोड अवश्यम्भावी भयो। प्रेमले अपरिमित खुसी दिएझैँ बिछोडले सुनैनाको आँखामा बलिन्धारा आँसु दिएर गयो। त्यसबाट बाहिर निस्कन उसलाई निकै सकस भयो।
करिब दुई वर्षपछि अचानक मेसेन्जरमा रविनको मेसेज आयो।
'के छ खबर? क्यान वि टक प्लिज?'
उसले मेसेजको प्रतिक्रिया जनाइन। तर रविनबाट तारान्तर मेसेज आउन थाल्यो।
बिछोडले सुनैनामा परिपक्वताको द्वार उघारिदिएको थियो। सानातिना भावनाको कुरामा अल्झिने भन्दा पढाइ सक्ने र आफ्नै व्यवसाय खोल्ने महत्वकांक्षा पालेर बसेकी थिई। उसको मनमा रविनप्रति सद्भाव निश्चय पनि थियो तर प्रेम बाँकी थिएन। उता रविन भने बिछोडपछि झन् प्रेमको अग्निमा दनदनी जलिरहेको थियो। उसले माफी, घुर्की, धम्की सबैथोक एकपछि अर्को गरेर प्रयोग गर्दै सुनैनासँग प्रेमको भिक्षा माग्दै झोली तेर्सायो। एकदिन फोन गरेर रुँदै पहिलेको झैँ प्रेमको लागि अनुनयविनय गर्यो। उसको रोदनमा प्रेमिल क्रन्दन थियो। तर सुनैनाको मन किञ्चित पनि डगमग भएन। रविनले कसैगरी पनि परिणाम आफ्नो पक्षमा आउने देखेन।
घरमा छोरो टोलाउने र निराश भएको देखेर रेग्मी दम्पति दुःखी त थिए तर कुरा के हो भन्ने उनीहरूलाई थाहा थिएन। आमाले धेरैचोटि सोधपुछ गरेपछि उसले अलिक अप्ठ्यारो मानेर सुनैनासँग आफ्नो बिहेको कुरा गर्न भन्यो। आफ्ना बाबुसँग अलिक दूरीमा नै रहनेहुँदा उसलाई भन्ने आँट आएको थिएन। छोरोको कारुणिक अवस्था देखेर हुनुपर्छ, आमाले अरू सोधपुछ गरिनन्। अरूका छोराहरू बिहे गर्न भनेसी अक्मकाउँछन्, आफ्नो छोरो बिहे गर्न तयार मात्र थिएन बरु उसले केटी पनि मन पराइसकेछ भन्ने सोची गद्गद् भइन्। उनले पतिसँग छोरोको बिहेको कुरा राखिन्।
रेग्मीजी सुरुमा त अवाक भए। तर कुरा बुझ्दै जाँदा छोरो बिहेप्रति गम्भीर भएर नै लागेको उनलाई पर्यो। फेरि ढिलोचाँडो बिहे त गरिहाल्नु पर्थ्यो। त्यसमाथि पत्नीले पनि एक्लो सन्तानको दारुण अवस्था देखाउँदै बारम्बर करकर गरेपछि उनले केटीको घरपरिवार बारेमा बुझ्ने निधो गरे। उनको कोइरालाहरूसँग परिचय थिएन। त्यसैले उनीहरूसँग चिनजान भएको आफ्नो एक मित्रसँग सोधपुछ गरे। केटी सुशील र अध्ययनशील छे र परिवार पनि इज्जतदार छन् भन्ने उनलाई जवाफ आयो। त्यसपछि बिहेको कुरा कोइरालाहरूसमक्ष पुग्यो।
'बिहेको कुरो आएको छ। कुरा अगाडि बढाउने कि के गर्ने? के छ तेरो विचार?' आमाको प्रश्न सुनेर सुनैनाले पन्छिने आशयले भनी- 'मलाई मन छैन।'
छोरीको बिहेप्रति अरुचि देखेपछि कोइराला दम्पतिले धेरै करबल गरेनन्। तर ठाडै छोरीले नाइ भनी भनेर रेग्मीहरूलाई भन्न पनि अप्ठ्यारो भयो। केही समय कुरौँ अनि सुनैनाको मन फिर्ला भन्ने सोचे। तर उसको निर्णय बदलिएन।
उता कोइरालाहरूको जवाफ नआएर रेग्मी परिवार हतास भयो। रविनका बाबुलाई हतारो थिएन तर आमा छटपटीमा थिइन्। समय बितेसँगै उनको छटपटी कोइरालाहरूप्रति क्रोधमा बदलिन थाल्यो।
'संसारमा अरु केटी नै छैनन् जस्तो नख्रा पारिरहेका छन्। मेरो छोरोले सजिलै एक से एक राम्री केटी पाउँछ। तिनीहरूलाई हामीले दिएको सम्मान बढी भाको हो। अरु केही होइन।'
रेग्मीजीले सुनैनाका पितालाई भेटेर कुरा राखे।
'मैले १५ वर्षमा गाउँमा बिहे गरेको। केटी को हो भन्ने पनि थाहा थिएन। तपाईं हामीले कुन दुःखले घरसंसार जोड्यौँ भन्ने हाम्रा बालबच्चाले बुझेका छैनन्। अहिले जुग पनि फेरियो। हाम्रो छोरो र सुनैनाको पहिलेदेखि नै चिनजान रहेछ, उहीसँग बिहे गर्छु भन्छ। जाहान पनि एक्लो छोरोको इच्छा पूरा भइदेओस् भनेर चिन्तित छिन्। एकचोटि भुराभुरी भेटेर कुरा गरून्। मन मिलेछ भने कुरा अगाडि बढाऔँला। मन मिलेन भने कुनै करकाप छैन।'
कोइरालाजीलाई रेग्मीजीको कुरा मनासिब लाग्यो। घरमा आफ्नी पत्नी र छोरीलाई सँगै राखेर उनले रेग्मीजीसँग भएको कुरा बेलिविस्तार लगाए। सुनैनाले एकपटक भेटेर नै कुरा टुंग्याउने सोची।
भोलिपल्ट दुवैजाना कुराकानीको लागि क्याफेमा आए। आकाशमा कालो बादल मडारिएको थियो। बाहिर अलिअलि पानी छिट्याउन थालेको थियो। आकाशे गाढा निलो कुर्ता र हल्का निलै जिन्स प्यान्ट लगाएकी सुनैनाको पूर्णतः गम्भीर भावभंगीमा थियो। रविनले कालो जिन्स प्यान्ट र खरानी रंगको ज्याकेट लगाएको थियो। उसको मुहारमा छटपटी र ग्लानीको मिसावट देखिन्थ्यो। एकछिनको मौनतापछि रविनले कुरा सुरु गर्यो।
'मैले तिमीसँग भेट्ने अरु उपाय ठम्याउन सकिनँ। त्यसैले घरमा बिहेको प्रस्ताव राख्न भनेँ।'
'तिमी ताइँ न तुइँको कुरामा अल्झिराको छौ,' सुनैनाले शान्त भावमा भनी।
'के मानिसबाट भूल हुँदैन र? युवाअवस्थामा अन्जानमा हुने ससाना गल्तीहरूको लागि निर्मम दण्ड दिनु के न्यायोचित हो? के तिमी मलाई प्रेम गर्दिनथ्यौ र?' रविनले अश्रुमिश्रित आवाजमा प्रश्न तेर्सायो।
सुनैनाले जवाफ फर्काइ, 'समय बदलिन्छ। हिजो तिमीलाई प्रेम गर्ने एउटी किशोरी थिई। तर आज ऊ विस्तारै प्रौढ नारी बन्ने प्रक्रियामा छे, उसको संसार र संगती विस्तृत भएको छ। त्यसकारण जसरी तिमी मलाई छान्न स्वतन्त्र छौ, त्यसरी नै मकहाँ आएका तिम्रो या अरूको प्रस्तावलाई हुन्छ वा हुन्न भनेर निर्णय लिन म पनि त्यतिकै स्वायत्त छु।'
माहोल एकछिन शान्त भयो। अनि रविनले सोध्यो, 'तिम्रो निर्णय के हो त?'
'मेरा आफ्ना व्यावसायिक योजनाहरू छन्, सायद तिम्रा पनि केही होलान्। बिहे गर्नु भनेको तिनमाथि तगारो तेर्साउनु हो। हो, हाम्रो एउटा विगत थियो तर त्यतिबेलाको कुराले तिमीप्रति मेरो मनमा अलिकति पनि वैरभाव छैन। तिमी हरेक कोणबाट एउटा योग्य व्यक्ति हौ। उमेरसँगै मेरो विचार र संसार फैलिसकेको छ। विगतको आलोकमा म वर्तमानमा दीर्घकालीन निर्णय लिन सक्दिनँ। मलाई विश्वास छ कि तिमी मेरो निर्णयको सम्मान गर्नेछौ।'
यति भनेर सुनैना बिदा माग्दै आफू बसेको कुर्सीबाट उठी र क्याफेबाट निस्की। रविन एकतमासले ऊ गएको दिशातिर हेरिरह्यो। हेर्दाहेर्दै बाहिर पानी बेस्सरी दर्किन थाल्यो।