एकदिन छिमेकी आमाले हातको इसाराले बोलाएर भन्नुभयो, 'ए बाबु, यो औषधी हेरिदेऊ न। अहिले कुन चाहिँ खानुपर्ने हो, आँखाले राम्रो ठम्याउन सकिनँ।'
पल्लो घरकी आमा एक्लै बस्नुहुन्थो। उहाँ उमेरमा ८० को छेउछाउ हुनुहुन्थ्यो तर घरमा कोही नभएकाले आफैँ काम गर्नुहुन्थ्यो। लामो शिक्षण सेवापछि निवृत्त आमामा आफ्ना काम सकेसम्म आफैँ गर्नुपर्छ भन्ने भावना प्रबल थियो। धेरै जसो काम उहाँ आफैँ गर्नुहुन्थ्यो। हरेक बिहान खातमा केही खानेकुरा बोकेर कुकुर, बिराला, चरालाई दिन निस्क्नुहुन्थ्यो। प्रायःजसो सामाजिक काममा सकिनसकी पुग्नुहुन्थ्यो।
आँखा कमजोर भएकाले कहिलेकाहीँ पसल जाँदा बाटामा पनि लड्नुहुन्थ्यो र देख्ने मानिसले उठाइदिन्थे। सबैको जय होस् भन्ने थेगो प्रयोग गर्ने भएकाले कसै-कसैले उहाँलाई जय आमा भन्ने गर्थे। छोरो डाक्टर भएकाले धेरैले उहाँलाई डाक्टरकी आमा भन्थे। टोल छिमेकमा आमा नदेखिँदा दिन नै खल्लो भएझैँ लाग्थ्यो।
'पख्नु पख्नु आमा, म आइहालेँ। लड्नुहोला,' म हतारहतार पल्लो घरतिर लागेँ। आमा ढोकाको छेउकै बार्दलीमा हात अड्याएर उभिनुभयो।।
आमाको हातमा धेरै औषधी भएको झोला थियो। मैले हेरे एउटा औषधीको खोलमा बिहान आठ बजे खाने भनेर लेखिएको थियो। अर्को त्यस्तै खोल भएको औषधीमा बेलुका आठ बजे खाने भनेर लेखिएको रहेछ। पढालेखा भए पनि आँखाको दृष्टिका कारण कुन औषधी बिहान खाने हो भनेर उहाँ झुक्किनुभएको रहेछ। उहाँको स्वाँ-स्वाँ बढिरहेको थियो।
मैले आमालाई हातमा समाएर साथ दिँदै भित्र लगेँ र सजिलोसँग बसाएँ। बेलुका केही खान त खानुभएछ जस्तो देखिन्थ्यो तर खाएका भाँडाकुँडा यत्रतत्र थिए। लुगा कपडा पनि असरल्ल थिए। भान्छा र शौचालय सधैँ सफा राख्नुपर्छ भन्ने आमाको सिद्धान्त नै थियो तर आज भान्सामा पनि फोहोर देखिन्थ्यो। आमाको भान्छा आज विरक्त लाग्दो थियो।
'आमा, यो औषधी त खाली पेटमा खाने जस्तो छैन। केसँग खानुपर्ने हो? सधैँ के खाएर खाने गर्नुहुन्थ्यो?' मैले सोधेँ।
आमा भन्न थाल्नुभयो, 'खान त केही ठोस खानेकुरा खाएर खानुपर्ने हो। तीन दिनदेखि अलिक सन्चो छैन। कहिलेकाहीँ त्यो विमला आएर काम सघाइदिन्थी। खोइ कता गई आजकल आउनै छाडी। त्यहाँ दिउरेमा दूध त छ। तताउन पनि सकिनँ आज। खै के पो हुँदैछ मलाई। के गर्ने बाबु, काल पनि आउँदैन। दुःख भो मलाई। त्यसले पनि फोनसम्म गर्न छाड्यो।'
आमाले हातले कोस पुछ्नुभयो।
मैले दूध तताएँ। प्लास्टिकको बट्टामा अलिकति चिउरा रहेछ। आमालाई दूध र चिउरा दिएँ। उहाँले खानुभयो। अलिकति मनतातो पानी पनि खानुभयो। मैले औषधी खोलेर दिएँ, त्यो पनि खानुभयो। उहाँ बेलुका केही नखाई सत्नुभएछ। जुठा भाँडा त हिजो बिहानका रहेछन्। म केही सहयोग गरिदिन्थेँ, मलाई पनि बिरामी भएको थाहा थिएन। यस उमेरमा पनि आमा भोकै सुत्नुभएछ।
मैले सम्झेँ म सानो हुँदा एकदिन आफूलाई भनेर राखेको ढकने उहाँले मलाई दिनुभएको थियो। उहाँलाई थाहा थियो हाम्रो घरमा ढकने बिरलै पाक्थ्यो। सायद त्यस दिन पनि आमा केही नखाई सुत्नुभयो। आज त्यो र यो दिन सम्झेर मेरो मन पनि त्यसै त्यसै भरिएर आयो।
'यस्तो पर्दा त बोलाउनुपर्थ्यो नि आमा। हेर बिरामी पर्नुभएछ। यस्तैमा त छिमेकी चाहिन्छ। म पनि तपाईंको छोराजस्तै त हो। आइहाल्थेँ नि। हुन त म आफैँ आएर आमालाई हेरेको भए पनि हुन्थ्यो। म पनि व्यस्त भएँ। ल यता खाटमा बसेर एकछिन आराम गर्नु, म यी भाँडा माझिहाल्छु।'
'हैन हैन बाबु, भाँडा माझ्नुपर्दैन। तिमीलाई गाह्रो हुन्छ। कति काम होला घरमा।' आमा अझै के-के भन्दै हुनुहुनथ्यो, मैले ध्यान दिइनँ। म भाँडाकुँडा र भान्छा सफा गर्न थालेँ। लुगाकपडा पनि मिलाइदिएँ। आमा बिहान सधैँ तामाको दियोमा बर्तन राखेर बत्ती बाल्नुहुन्थ्यो। आज सक्नुभएनछ। मैले दियो बादिदिएँ। आमा हेरिरहनुभयो। उहाँले बलेको दियोतिर फर्केर हात जोडेर शिर निहुराउनुभयो। अनुहार पनि हँसिलो देखियो।
आमाको सुत्ने खाट र भात खाना बनाउने ठाउँ सँगै थियो। भान्सामा ग्यास चुलो जोडिएको थियो। शौचालय घरबाहिर थियो। चामल, दाल भुइँमै राखिएको थियो। एक मुठो रायाको साग, एउटा सानो काउली र अलिकति सिमी पनि भुइँमै थियो।
मलाई सम्झना आयो, आमाको छोरो विजय र मसँगै पढ्थ्यौँ। ऊ परिवारमा एउटा छोरो भएकाले बाआमाले राम्ररी पढाउन सक्नुभयो। मेरो घरको अवस्था राम्रो थिएन। फेरि हामी त तीन जना थियौँ पढ्ने। विजय र म एउटै कक्षामा पढ्थ्यौँ र खुब मिल्थ्यौँ। कहिलेकाहीँ म विजयको घरमा जान्थेँ। आमाले मलाई पनि आफ्नै छोरो जस्तो गरेर खानेकुरा दिनुहुन्थ्यो। हामी सँगै बसेर गृहकार्य गर्थ्यौं। ऊ पढ्नमा मभन्दा तिक्खर थियो। ऊ सधैँ प्रथम हुन्थ्यो, म त पाँच कक्षामा मात्र तृतीय भएको हुँ, त्योभन्दा माथि जान कहिल्यै सकिनँ।
सात कक्षा सकेपछि ऊ सहरको स्कुलतिर गयो। उसका बा सहरमै काम गर्न थाल्नुभयो। आमा चाहिँ यतै गाउँको स्कुलमा पढाउन थाल्नुभयो। मेरो र विजयको पनि भेटघाट हुन छाड्यो। दसैँमा घर आउँदा भने उसको र मेरो भेट हुन्थ्यो। हामी गफ गर्दै उन्मादी खोलाको किनारै किनार बगरेसम्म जान्थ्यौँ। ऊ माछा मारौँ भन्थ्यो। माछा मार्न त के सकिन्थ्यो, कहिलेकाहीँ भुरासम्म पक्रन्थ्यौँ।
आमा औषधी खाएर सुत्नुभयो। म पनि आमाले खाएका भाँडा माझेर घरतिर लागेँ। आमालाई जाउलो पकाएर ल्याइदिन मन लाग्यो। एक्लो बस्दा आमालाई नैराश्य भएझैँ पनि लाग्यो। आज कुनै बेला समय मिलाएर आमासँग एक डेढ घण्टा गफ गरौँ कि भन्ने सोच पनि आयो।
विजयले विज्ञान पढेर डाक्टर बन्ने विचार गर्यो र प्रवेश परीक्षा पनि पास गर्यो। ऊ डाक्टर बन्न काठमाडौँमा कम्मर कस्न थाल्यो, म गाउँमै शिक्षक बन्न शिक्षा विषय पढ्न थालेँ। विजयको गाउँ आउने क्रम विस्तारै घट्यो। फोनमा पनि हाम्रो त्यति कुरा भएन। एकपल्ट म त बाहिर जाने भन्थ्यो, त्यसपछि त्यतिकै टाढियो। नजिकका मित्र हामी पनि टाढाका साथी बन्यौँ। छिमेकी भए पनि मेरो र उसको परिवेश फरक थियो। हाम्रो बाटो अलग थियो। हामी यात्रामा केही समय सँगै हिँड्न सक्थ्यौँ तर गन्तव्यमा एक्लाएक्लै पुग्नु थियो। सायद जीवनको वास्तविकता नै यही हो।
एकदिन विजयका बा दुर्घटनामा परेर अस्पतालमा हुनुहुन्छ भन्ने खबर आयो। यो सुन्नासाथ आमाको होसहवास उड्यो। उहाँ आफूसँग भएको केही पैसा लिएर सहरतिर लाग्नुभयो। हामी पनि के भयो होला भन्ने हुटहुटीमा डुब्यौँ। खबरको सजिलो माध्यम थिएन। पछि मात्र थाहा भयो, आमा नपुग्दै विजयका बाले सबैलाई छोडिसक्नुभएछ। आमा र विजय दाहसंस्कार गरेर फर्किनुभयो, काजक्रिया यतै भयो। पढाइ सकिएको थिएन, विजय सहरतिर लाग्यो।
आमाले दुःखसाथ दैनिकी सुरु गर्नुभयो। परिवारको खसी एकाएक हराएझैँ देखियो। धेरै दिनसम्म आमाका अनुहारमा खुसी देखिएन। उहाँ विद्यालयबाट फर्केपछि घरभित्रै बसिरहनु हुन्थ्यो। ठूलै चोट परेर होला उहाँ तनाबमा देखिनु हुन्थ्यो। आमालाई देखेर केही गाउँलेले त डिप्रेसन भएछ सम्म भनेका थिए।
धेरैपछि एकदिन आमाले मेरी आमासँग भन्नुभयो, 'बहिनी, त्यो डोल खेत छ नि हाम्रो, बेच्नुपर्ने भो। विजय विदेश जान्छु भन्छ, पैसा छैन। नगइदिए त हुन्थ्यो। धेरै सम्झाएँ तर सकिनँ। अब म रोक्न नसक्नेमा पुगेँ। खै के-के भन्छ, उतै उसको भविष्य छ रे। रिसाउँछ पनि। उसका बाबु गइहाल्नुभयो। अलिक राम्रो दाम दिने कोही भए खोजिदेऊ न बैनी। सक्छौ भने तिमीहरू नै किन। छिमेकमा दिन पाए झन् राम्रो। लौ छोरा घर सल्लाह गर।'
यसो भन्दा आमाले मलाई राम्ररी हेर्नुभयो।
'किन जानु नि विदेश! यही काम गरे हुन्न? ऊ त डाक्टर बन्दैछ। डाक्टरको कति खाँचो छ हाम्रो देशमा,' मैले झट्ट बोलिहालेँ।
'भनेर के गर्नु बाबु, मेरो के लाग्छ र,' आमाले नैराश्य प्रकट गर्नुभयो।
हामीले घरमा कुरा गर्यौँ। आमाले छिमेकीको जग्गा लिएर उनकै छोरालाई विदेश पठाउनु राम्रो होइन, बरु रोक्नुपर्छ भन्नुभयो। बाले चाहिँ आखिर विदेश नगइनसक्ने हो र जग्गा नै बेच्ने हो भने ऋण खोजेर भए पनि हामीले खेत किनिदिन पाए हुन्थ्यो भन्ने मत राख्नुभयो। मलाई पनि आखिर विजय जान्छ नै भने जग्गा राम्रो छ, हामीले किनेर पैसा दिन पाए हुन्थ्यो जस्तो लाग्यो। हामी बैंकबाट ऋण लिएर जग्गा किन्ने निष्कर्षमा पुग्यौँ। आमाले हामीलाई जग्गा पास गरिदिनुभयो।
विजय विदेश भासियो। आमा दिनदिनै बिरामी पर्न थाल्नुभयो। एउटा सहारा पनि छोडेर उड्यो भनेर गुनासो गरिरहनु हुन्थ्यो। विजयको खबर के छ भनेर सोद्धा आजकल त त्यति फोन पनि गर्दैन भनेर निराश हुनुहुन्थ्यो। घरमा नाताले नातिनी पर्ने विमला आएर कहिलेकाहीँ काम सघाउँथिन्। अस्पतालमा जाँच गराउन कहिले हामीले र कहिले विमलाले लाने गरेका थियौँ। केही दिनदेखि आमामा बिरामी र निराशा दुवै बढेको देखिन्थ्यो। आमा आफ्नो व्यथा अरुलाई सुनाउन चाहनु हुन्नथ्यो। मलाई भने छोराजस्तै ठानेर आमाले सुखदुःखका कुरा सुनाउनुहुन्थ्यो।
मैले आमाका लागि जाउलो बनाएँ। मलाई आज अस्पताल लगिदिन मन लाग्यो। जाउलो र आमाले मन पराउने गुढ लिएर म पल्लाघरमा पुगेँ। आमा सुतिरहनु भएकै थियो।
'आमा, उठ्नु त। मैले खानेकुरा ल्याएँ। आज अस्पताल जाने है जाँच गर्न। आमालाई अलिक गाह्रो भएझैँ लाग्यो।'
मैले आमाको हात समाएर उठाउन खोजेँ। हात गह्रौँ थियो, राम्ररी उठेन। म आत्तिएँ र बाआमालाई बोलाएँ। हामीले ट्याक्सी खोजेर आमालाई अस्पताल पुर्यायौँ। डाक्टरले पनि तुरुन्त हेरे। नाडी, आँखा, मुटु सबै जाँचे र घाँटीबाट स्टेथोस्कोप निकाल्दै भने, ' ढिलो भयो नि। उहाँले हामीलाई छाडिसक्नुभयो।'
मैले केही सोच्न र बोल्न सकिनँ, केवल आवाज निस्कियो आमा...।