तिमी इश्वरसित रिसाएको बेला, म इश्वरको भर गर्छु
तिमी साँच्चिकै रोएको बेला, म आँसु निकाल्न बल गर्छु
किनकि तिमी वेदना हौ
म संवेदना हुँ
तिमी आज साँच्चिकै दुखी छौ साथी
म पनि रुँदै छु पिटी-पिटी छाती
तिम्रो दुःखको यहाँ कुनै मल्हम छैन
मेरो छातीको आवाजमा क्रन्दन छैन
तिम्रो वेदना मुटुको धारमा
मेरो संवेदना अखबारमा
तिम्रो आँसु, मेरो अक्षर
तिमीलाई छातीमा, मलाई ओठमा असर
किनकि तिमी वेदना हौ
म संवेदना हुँ
तिम्रो पिता जानुभयो, नश्वर बनी
मलामी गयौँ तिमी र म पनि
तिम्रो यो यात्रामा जिन्दगी नै अलमल भो
मेरो लागि आधा घण्टाको सफर भो
म रोएझैँ गर्छु
तर भित्रैदेखि रोएको हुँदिनँ
म छोएझैँ गर्छु
भित्रदेखि छोएको हुँदिनँ
किनकि
तिमी वेदना हौ
म संवेदना हुँ
कहिले होला तिम्रो वेदना
र मेरो संवेदनाको गहिराइ एउटै?
डाँडै डाँडाले चुच्चिएको पहाड
र मैदानै मैदानको तराई एउटै?
कसैको पनि शोकमा, लोकमा
आफन्त र पराई एउटै
तर पनि
हार्दिक संवेदना
साथी निकेशले पिता गुमाउँदा!