उहिले-उहिलेका कुरा हो
शेषनागहरूले
काँध फेर्दा
डगमगाउँथ्यो रे धर्ती
उथलपुथल ल्याउँथ्यो
भूतलमा
पूर्वकम्पन र पराकम्पन
अनि हुन्थ्यो रे भूकम्पन।
तर आजभोलि
शेषनागले काँध फेर्दैनन्
शेषनागको काँधमा बसेकाको
इच्छाअनुसार
शेषनागहरू नै फेरिन्छन्
अब शेषनागले काँध फेर्दा
उथलपुथल आउँदैन
उथलपुथल त
काँधमाथि बसेकाले
खुट्टा हल्लाउँदा आउँछ
किनकि
शेषनागहरूको
तँछाडमछाड हुन्छ
भिडभाड हुन्छ
घम्साघम्सी हुन्छ
हल्लाखल्ला हुन्छ
काँध थाप्नैको लागि
मात्र काँध थाप्नको लागि।