एक दशकपछि दशैँमा विदेशबाट घर फर्किएँ। सोचेँ, अब कहिल्यै पनि विदेश जाँदिनँ। दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो, तब मैले लामो श्वास फेरेँ। देशभित्रकै अक्सिजनले होला, फोक्सो ढक्क फुलेर आयो। दिमाग चङ्गा भयो। मन हरहर भयो। शिर सगरमाथा जस्तै उचो भयो।
दुबईको भव्य महलको गेटमा चौकीदारी बनेर सलाम गरेका हातहरू स्वतन्त्र भए। देश, गाउँ अनि परिवारको मायाले छाती तराई जस्तै चौडा भयो। मनमा आनन्द आयो। मस्तिष्कमा शान्ती छायो। विदेशमा सबैभन्दा बढी याद आउने भनेको देशको नै रहेछ। जहाँ गए पनि, जता गए पनि देश जस्तो केही पनि नहुने रहेछ।
मेरो लागि सबैभन्दा प्यारो टाकुरी गाउँ थियो। काठमाडौंको नयाँ बसपार्कबाट म आफ्नै टाकुरी गाउँ तिर हिँडेँ। डाँडाकाँडा, भञ्ज्याङ, चौतारी, देउराली घुम्तीहरू छिचोल्दै म आफ्नै ठाउँ फर्किएँ। गाउँ फर्कने बाटोमा एक दशकमा पनि कुनै सुधार भएनछ। गाउँ जाँदा बाटोको जाम उस्तै थियो, खाल्डाखुल्डी उस्तै थिए, पुरिएका थिएनन्, झन् मोटाएछन्, बिस्तार भएछन्।
म गाउँमा पुगेँ तर गाउँ गाउँ जस्तो थिएन। हरेक दशैँमा हालिने रोटेपिङ थिएनन्। खेतमा धानका बाला झुलेका थिएनन्, कति खेत त बाँझै थिए। मादलको घिन्ताङ हराउन थालेछ। कान्छा बाले बजाउने ट्याम्को सुनिन छोडेछ। धेरै युवा परदेशिएछन्। गीतका भाका गुनगुनाउन छोडिएछन्। कला, संस्कृतिले अभिभावकत्व गुमाएछ।
पहिलो पटक आफ्नै गाउँ आफैलाई विरानो लाग्यो। गाउँमा सँगै खेलेका, हुर्केका साथी, सहेलीहरू थिएनन्। गाउँ त युवायुवती विहीन भएछ। गाउँमा त केवल बालबच्चा र बुढाबुढी मात्र बाँकी थिए। परदेशबाट मजस्तै केही युवाहरू फर्केकाले गाउँमा रमाइलो बढेको बुढा बाआमाले सुनाउनुभयो।
दशैँ, तिहार सकिँदा गाउँ विस्तारै-विस्तारै रित्तिन थाल्यो। मलेसिया र खाडी मुलुकमा जानेहरू दशैँ तिहारको छुट्टी सकिएपछि छुट्टिए। मङ्सिर लाग्दा समेत हिउँदे वर्षा भएन। पानी नहुँदा केही नहुने रहेछ। गहुँ रोप्ने भनि गाउँमा बसेका युवाहरू खेतबारी बाझै छोडी मुग्लान तिर भासिए। गाउँमा कोही दौँतरी बाँकी भएनन्। म एक्लो भएँ।
विदेश नजाने अठोट गरी फर्केको थिएँ। विदेश जान मन लागेन। घर परिवारको खर्च बढ्दै थियो। गोजीको पैसा रित्तिँदै थियो। विदेशबाट ल्याएको पैसाले जिन्दगीभर पुग्ने अवस्था थिएन। केही न केही गर्नै पर्ने बाध्यता थियो।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको थियो। राजतन्त्र हटेको थियो। आम नागरिकमा समृद्धिको सपना थियो। समृद्ध नेपाल सुखी नेपालीको रहर थियो। घर आगँनमै स्थानीय सरकार थियो। सुख दुःखमा साथ दिने सिंहदरबार गाउँमै आएको थियो।
एकाबिहानै म वडा कार्यालय पुगेँ, छोराको नागरिकताको सिफारिस लिन। नागरिकता लिन कुनै शुल्क लाग्दैनथ्यो तर सिफारिस शुल्क दुई सय पुगेछ। आमाको नाम राख्नलाई नाता प्रमाणित सिफारिस चाहिँदो रहेछ, त्यसको लागि थप दुई सय लाग्दो रहेछ। संघीयताले जीवनलाई महङ्गो बनाएछ। न्यूनतम शुल्कमा पाइने सेवा सुविधा महङ्गिएछ। महङ्गो पनि किन नहोस्? सात सय ६१ सरकार चलाउनु थियो।
म आफ्नै गाउँमा केही गर्न चाहन्थेँ। गाउँमा के गर्न सकिन्छ भन्दै विकल्पहरू खोज्न थालेँ। सोचेँ, बेमौसमी तरकारीको खेती गर्छु तर पिउने पानीको समेत समस्या भएको गाउँमा बेमौसमी तरकारीको कसरी खेती गर्नु? मेरो पहिलो विकल्प सकियो।
बाख्रा पालन गर्छु, सम्भावना राम्रो छ तर बाख्रालाई के खुवाउने? माघ सकिन लाग्दा समेत हिउँदे वर्षा भएको छैन। पाखापखेरा सबै मरुभूमितुल्य उजाड भएका छन्, फुङ्ग उडेको रातो माटो बाहेक केही देखिँदैन। डाले घााँसको कुनै सम्भावना छैन। मकै मात्र खुवाएर कसरी नाफा उठाउनु? कसरी जिन्दगी चलाउनु? मेरो दोस्रो विकल्प पनि सकियो।
गाउँमा पालिका छ, विकास निमार्णका कामहरू पलिकाबाटै हुन्छन्। म वडा कार्यालय पुगेँ, कामको खोजिमा। वडा अध्यक्ष वडा कार्यालयमा थिएनन्, वडा सचिव पनि थिएनन्। कार्यालय सहयोगी घाम तापेर बसेका थिए।
'वडा अध्यक्षज्यू कता हुनुहुन्छ?' मैले कार्यालय सहयोगीलाई सोधेँ।
'डोजर किन्न जानु भएको छ,' कार्यालय सहयोगीले जवाफ दिए।
'डोजर? केको?' मैले फेरि सोधेँ।
'केको लागि हुनु नि? वडाको विकास गर्न, जनताको सेवा गर्न होला नि,' ओठ लेप्याउँदै उनले जवाफ दिए।
'कहिले आउनुहुन्छ?'
'काठमाडौं तिर जानु भएको छ, लाग्ला नि अझै एक हप्ता।'
'वडा तिर केही काम पाइँदैन?' कार्यालय सहयोगीको मन चोर्नलाई सोधेँ।
उनी फिस्स हाँसे।
'वडा कार्यालयमा काम? कस्तो काम? वडा अध्यक्षको आसेपासेलाई त काम पुगेको छैन। तपाईंलाई के काम!'
उनी खित्का छोडी हाँसे, म मुस्कुराएँ।
एक हप्तापछि वडा कार्यालय पुग्दा कार्यालयको नजिकै डोजर ठडिएको थियो। वडा अध्यक्षले डोजर किनेर ल्याएछन्। उनी वडा कार्यालयमा नै थिए। म सकेसम्म गाउँमा नै केही गर्ने प्रयास गरिरहेको थिएँ। स्थानीय सरकारको सहयोगको अपेक्षा गरेको थिएँ।
वडा कार्यालयमा वडाध्यक्ष गमक्क परेर फुलेर बसेका थिए। उनले मलाई देखे। मैले नमस्कार गरेँ तर त्यसको प्रत्युत्तर आएन। मैले कुनै पनि भूमिका नबाँधी आफू गाउँमा नै बस्न चाहेको, कुनै कामको आवश्यकता परेको बारेमा स्पष्ट रुपमा भनेँ।
केहीबेर गम खाँदै उनले सोधे- 'दश लाखको एउटा योजना छ, मेरो डोजर प्रयोग गर्नुपर्छ। गर्छस्?' उनको सोधाइमा राजाको छनक देखिन्थ्यो।
'गर्छु,' मैले विस्तारै भनेँ।
'दश प्रतिशत दिनुपर्छ। दिन्छस्?' वडा अध्यक्षले सिधै सोधे।
म उत्तर विहीन बन्न पुगेँ। म विदेश थिएँ, मैले उनलाई भोट हाल्न सकिनँ तर उनी मजस्तै जनताका प्रतिनिधि थिए, उनले मजस्ता नागरिकको प्रतिनिधित्व गर्नुपर्ने थियो। देशमै केही गर्छु भन्ने सोचसहित विदेशबाट फर्केका मजस्ता नागरिकको पीर, मर्का, समस्या बुझ्नु पर्ने थियो। अप्ठ्यारो परेको समयमा आफै अग्रसर भएर जनतामाझ पुग्नु पर्ने थियो। तर व्यवहारमा तीन सय साठी डिग्रीको भिन्नता थियो। नागरिकले सहज तरिकाले कुनै सुविधा पाएका थिएनन्।
मेरै प्रतिनिधिले कुनै योजना निर्माण गर्दा मैसँग दश प्रतिशत माग्दा मेरो मुटु टुक्रियो। सुन्थेँ, सिंहदरबारमा बस्नेले देश बिगारे, देशको विकास गरेनन्। देश बिगार्ने त गाउँ, वस्ती, टोलटोलमै फैलिसकेछन्। सबथोक हाकाहाकी हुन थालेछ। म किंकर्तव्यविमूढ भएँ, मेरो मन भाँचियो। गाउँमा बस्ने रहर मरेर गयो। सन्तानको भविष्य सम्झिएँ, डर लाग्न थाल्यो।
मैले गाउँ छोडेँ। विकल्प खोज्दै तुलसिपुर झरेँ। लुम्बिनीको राजधानी दाङमा केही अवसर पाइन्छ कि भनेर तर त्यहाँ पनि केही विकल्प पाइएन। विकल्प पनि कसरी पाउनु, न पर्याप्त उद्योग थिए न त कुनै कलकारखाना। किराना पसलमा मानिसहरू झिँगा धपाएर बसेका थिए। ग्राहकहरू मुस्किलले दुई/तीन जना आउथे। जीवन धान्नको लागि कुनै विकल्प भेटिएनन्। गोजी आजभन्दा भोलि झन्झन् रित्तिँदै गयो।
एकाबिहानै घोराही चोकमा टहलिँदै गर्दा हिरालालसँग भेट भयो। उनी विदेशमा मान्छे पठाउने काम गर्थे। उनले भने 'रुसबाट राम्रो रोजगारीको अवसर आएको छ। रुसी सेनामा भर्ना खुलेको छ। रुसी सेनाको सेफ जोनमा बस्ने हो। लडाइँ लड्नु पर्दैन। एक वर्षपछि रुसकै नागरिकता पाइन्छ, सबै परिवारलाई उतै लान पाइन्छ। यो देशमा बसेर के गर्छौ? नेताको चाकरी नगरी केही हुँदैन। महिनाको ढाई लाख कमाइ हुन्छ, जाने हो?'
देशमा जीवन जिउने विकल्पहरू सकिँदै गर्दा विदेशले तान्दो रहेछ। राज्यले आफ्नै नागरिलाई पराई ठान्दा राज्यप्रति वितृष्णा जाग्दो रहेछ। देशमा सन्तानको भविष्य नदेखेपछि मैले ठूलो जोखिम लिएँ, रुसी सेनामा भर्ना हुन जान्छु भनेँ। नेपाली सेनामा भर्ना भएर देशको लागि रगत, पसिना बगाउने मन थियो तर सोचे जस्तै हुँदै भएन।
रुस जान पनि सजिलो थिएन। पैसाको जोहो गर्नुपर्ने थियो। भोलिको सुनौलो भविष्यको कल्पना गर्दै मैले सात लाख ऋण लिएँ। दुबईमा दुःख गरी किनेको डेढ तोलाको औठी थियो, त्यो पनि बेचेँ। आफूसँग भएको पैसा पनि थपेँ।
'अध्यागमनबाट छिर्न गाह्रो छ। अध्यागमनले रुस जान दिँदैन। रुसी सेनामा नेपाली भर्ना हुन पाउँदैन। अध्यागमनमा सेटिङ मिलाउनुपर्छ। पैसा खुवाउनुपर्छ। म सबै कुरा मिलाउँछु। दुई लाख चाहिन्छ। रुस जाने भन्नु हुँदैन। दुबई घुम्न जाने भन्नुपर्छ। म सबथोक मिलाउँछु। कुनै चिन्ता लिनु पर्दैन। अध्यागमन क्रस भएपछि जिन्दगी बन्छ,' रुस उड्नु एक हप्ताअघि हिरालालले डर देखाए।
उनको कुरामा सत्यता थियो वा थिएन, थाहा छैन मलाई। रुस जान नपाउने भए हिरालालले मलाई किन रुस पठाउँदै थियो? रुस पठाउनु गैरकानुनी कार्य भए राज्यले हिरालाल जस्ता व्यक्तिलाई कारवाही किन गर्दैन? नागरिकलाई सेवा दिने कर्मचारीले नागरिकलाई नै अप्ठ्यारोमा पार्ने काम किन गर्छन्? मैले केही सोच्नै सकिनँ।
एयरपोर्टमा देश छोड्नेको लर्को थियो। लाग्थ्यो, देश रित्तिँदै छ, देश युवा विहीन बन्दैछ। मलेसिया, कतार, युएई, साउदी अरब, कुवेत लगायतका खाडी मुलुकमा डर्टी, डेन्जर, डिफिकल्ट काम गर्न जानेको लाइन एयर ट्राफिक कन्ट्रोलको टावरसम्म पुगेको थियो। अमेरिका, अष्ट्रेलिया, युरोप जानेको लाइन पनि लामो थियो।
एयरपोर्टमा मैले सबै नियालेँ। हातमा स–साना दूधे बच्चा बोकेर आएका आमाहरूले आफ्ना श्रीमानलाई खाडीको तातो भूमरीमा पठाउँदै थिए। अमेरिका, अष्ट्रेलिया छोराछोरी पठाउन आएका बाआमाका उदास अनुहारमा खुसीका कुनै रेखाहरू भेटिँदैन थिए। आफ्ना सन्तानलाई विदेशी भूमिमा पठाउने रहर कसको हुन्छ होला?
डिपार्चरबाट भित्र छिर्दै गर्दा श्रीमतीले अङ्कमाल गरी। म फेरि परदेशी हुँदा ऊ दुःखी थिई। भर्खर नेपाली नागरिकता पाएको छोरोले युरोपियन बन्ने सपना सजाउँदै थियो। आँखामा आएका टिलपिल आँसुलाई लुकाउँदै 'आफ्नो ख्याल गर्नू है' भन्दै श्रीमतीले बिदाइका हात हल्लाई। मन अमिलो पार्दै छोरोले हेरिरह्यो। मन भारी बनाउँदै एयरपोर्टबाट भित्र छिरेँ।
एयरपोर्टको तल्लो तलाबाट कतार एयरवेजको बोडिङ पास लिएँ। लिफ्ट चढेर अध्यागमन सेक्सनमा पुगेँ। भिजिट भिसाको लाइनमा उभिएँ। एजेन्टले सिकाए जस्तै गरेँ। अध्यागमन अधिकृतले 'कहाँ जाने?' भनी सोधे।
'दुबई घुम्न जान लागेको पन्ध्र दिनको लागि' मैले भनेँ। दुबईको होटेल बुकिङ र रिर्टन टिकेट पनि देखाएँ। दुबईमा एक दशक बिताएकोले होला, अध्यागमनमा मलाई कुनै रोकतोक भएन। अध्यागनमनको डर देखाएर मेरो दुई लाख एजेन्टले नै खाइदियो कि जस्तो लाग्यो। देशले नै आफ्नो नठानेपछि, हात मुख जोड्ने नसकेपछि मैले देश छोड्ने भएँ। म फेरि विदेशिएँ, बाध्यताले विदेशिएँ।
रुसको मस्को एयरपोर्टमा पुगेँ। त्यहाँको अध्यागमनले कुनै रोकतोक लगाएन। एयरपोर्ट बाहिर ट्याक्सी ड्राइभरले कुरिरहेको थियो। उसले मलाई सिधैँ क्याम्पमा पुर्यायो। क्याम्पमा मजस्तै एक दर्जनभन्दा बढी नेपालीलाई भेटेँ। जो भए पनि नेपालको भनेपछि त्यो विदेशी भूमिमा आफ्नो लाग्ने रहेछ।
सशस्त्र द्वन्दमा लडेका, भिडेका नेपाली पनि त्यहाँ पुगेका रहेछन्। नेपालका सुरक्षा निकायमा काम गरिसकेका नेपाली पनि त्यही थिए। रुसमा पढ्न भनी आएका केही लक्का जवानहरूलाई पनि मैले त्यही क्याम्पमा भेटेँ। देशको लागि लडेका, रगत पसिना बगाएका नेपाली पनि रुस पुगेछन्, भाडाको सैनिक बन्न। मन असाध्यै दुखेर आयो, देशमा प्रशस्त मात्रामा उद्योग, कलकारखाना भइदिएको भए, को आउथ्यो होला भाडाको सैनीक बन्न?
म लगायत झन्डै तीस जना एक महिनासम्म क्याम्पमा बस्यौँ। क्याम्पमा पुगेको दिनदेखिको तलव दिन थाले। कमाइ सोचे जस्तै थियो। एक महिनासम्म हामीलाई सुरक्षा सम्बन्धी तालिम दिए। एक महिनापछि दोस्रो क्याम्पमा पठाए। एक हप्तापछि हामीलाई युक्रेनको तुकमाक भन्ने ठाउँमा पठाइयो, रेड जोनमा। रेड जोनमा फोन लाग्दैनथ्यो। बेलाबेलामा हिउँ पर्थ्यो। युक्रेनी सेनाले ड्रोनबाट आक्रमण गर्थे।
हामी बङ्करमा थियौं। युक्रिनी सेनाले आक्रमण गयो। गोर्खालीको रगत नशा नशामा थियो। म आफ्नो ज्यानको बाजी राखेर लडेँ, लडिरहेँ। सँगैको साथी ढल्यो तर म अहँ, ढलिनँ। मैले लगातार आक्रमण गरिरहेँ। युक्रेनको फौजमाथि। सोचेँ, एक थोपा रगत बाँकी रहँदासम्म पनि लडिरहन्छु।
युक्रेनको फौजबाट पनि गोली प्रहार भइरह्यो। मैले ती सबै प्रहारलाई रोकेँ। विस्तारै-विस्तारै युक्रेनको फौजबाट गोली प्रहार कम हुँदै गयो। लाग्यो अब युक्रेनको फौज सकियो। युक्रेनको क्याम्पबाट म अगाडि बढेँ। अगाडि बढ्दै गर्दा मलाई कसैले प्रहार गर्यो। मैले उसको छातीमा ताकेर गोली हानेँ।
'ऐया आमा' भन्दै ऊ ढल्यो।
युक्रेनी भूमिमा 'ऐया आमा' भन्ने को हुन्थ्यो? युक्रेनको फौजमा म जस्तो गोर्खालीसँग अन्तिमसम्म टिक्न सक्ने बहादुर को थियो? ऊ अरु कोही थिएन, नेपाली थियो। मेरो दाजुभाइ थियो। युक्रेनी भूमिबाट लडेको मजस्तै भाडाको सैनिक थियो।
उसले पटक-पटक 'ऐया आमा' भनिरह्यो। मैले होस गुमाएँ। एउटा नेपाली भएर अर्को नेपालीमाथि गोली बर्साएका हातहरूलाई धिक्कारेँ। मैले बोकेको राइफल भुइँमा खस्यो। मेरा हात गोडाहरू लुगलुग काप्ँन थाले। लाग्यो, मैले टेकेको जमिन भाँसिदै छ, सिंगो आकाश ममाथि खस्दैछ। चारैतिर अन्धकार छाउँदै छ।
म विक्षिप्त बनेँ। आफ्नो बहादुरीप्रति दया लाग्यो। देश सम्झेँ, विरक्त लाग्यो। हातपाउ फतक्क गले। आमालाई सम्झँदै पानी माग्दै गरेको त्यो भाडाको सैनिकलाई अङ्गालो हालेँ, च्याप्प समातेँ, उसको निर्दोष अनुहार हेरिरहेँ। पानी पिलाएँ। उसले विस्तारै पियो, अनि सुस्तसुस्त सास फेरिरह्यो।